गृहपृष्ठ वैद्यमाथि कारवाही गर्ने विषयमा यसो भन्छन् गृहमन्त्री अधिकारी
वैद्यमाथि कारवाही गर्ने विषयमा यसो भन्छन् गृहमन्त्री अधिकारी
नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।
ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद बैद्यले प्रधानमन्त्रीको ज्यान सुरक्षामाथि धावा बोलेकोले फौजदारी कसुरमा मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए । सांसद बैद्य नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सांसद बैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्री माथि नकारात्मक टिप्पणी गर्दै नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए ।
सांसद बैद्यको टिप्पणीलाई सबैले निन्दा र भत्सर्ना गरेपछि उनले आत्मआलोचना गरिसकेका छन् । त्यस अघि नेपाली कांग्रेसले अभिव्यक्ति फिर्ता लिन सांसद बैद्यलाई निर्देशन नै दिएको थियो ।





