२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ असोज १ गतेदेखि विद्यालय खोल्न पाइने, प्रशासनले दियो अनुमती

असोज १ गतेदेखि विद्यालय खोल्न पाइने, प्रशासनले दियो अनुमती

काठमाडौं । कोभिड-१९ को महामारीका कारण बन्द रहेका काठमाडौंका विद्यालय १ असोजबाट खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले १ असोजबाट विद्यालय खोल्न दिने निर्णय गरेको हो ।

स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्न सक्ने उनले बताए । अब कोभिड-१९ को जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले अभिभावकसँग समन्वय गरेर पठन पाठन सञ्चालन गर्न सक्नेछन् ।

प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको शिक्षा समितिका प्रतिनिधिको बैठकले विद्यालय खोल्नुअघि शिक्षक र अभिभावकसँग छलफल गर्नुपर्ने निर्णय गरेको छ । उनीहरूसँगको छलफलपछि कोभिड-१९ संक्रमणको अवस्था मूल्यांकन गरेर मात्रै विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

कोभिड-१९ को दोस्रो लहर आएपछि १६ वैशाखबाट काठमाडौंमा निषेधाज्ञा जारी गरिएको थियो । त्यससँगै विद्यालय पनि बन्द भएका थिए । १७ भदौमा जारी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा सम्बन्धी आदेशमा विद्यालय खोल्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने उल्लेख थियो ।

केही स्थानीय तहले संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर विद्यालय खोल्न थालेका थिए । आजको बैठकले गरेको निर्णयसँगै १ असोजबाट विद्यालय खोल्न स्थानीय तहलाई सहज भएको छ । विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड भने अनिवार्य रूपमा पालना गर्न गराउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार