गृहपृष्ठ जिल्लास्तरीय किशोरी अधिकार मञ्च,अध्यक्षमा सुनिता हरिजन
जिल्लास्तरीय किशोरी अधिकार मञ्च,अध्यक्षमा सुनिता हरिजन
भैरहवा,२,असोज । जिल्लास्तरीय किशोरी अधिकार मञ्च, रुपन्देही अध्यक्षमा सुनिता हरिजन चयन भएकी छन् । मञ्चको शनिबार भैरहवामा सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट आगामी दुई वर्षका लागि हरिजन अध्यक्षमा चयन भएकी हुन् । अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
मञ्चको उपाध्याक्षमा रञ्जु पासी, सचिवमा रीता चौधरी, सह–सचिवमा उर्मिला अग्रहरी, कोषाध्यक्षमा शालिनी मिश्रा चयन भएका छन् । यस्तै, सदस्यहरुमा इन्द्रावती यादव, पुजा तेली, कृत्रिमा विक, समीक्षा विक चयन भएका छन् ।
मञ्चमा आबद्ध किशोरीहरुले सामाजिक सुरक्षा, महिला हिंसा, प्रजनन्, महिनावारी, किशोरी अधिकार, लैंगिक समानता, क्षमता विकास लगायतका क्षेत्रमा काम गर्छन् । किशोरीहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्यले २०७५ मा मञ्च गठन गरिएको थियो ।
हाल जिल्लाका १६ वटा स्थानीय तह र वडाहरुमा मञ्चको समिति गठन गरिएको महिला पुनःस्थापना केन्द्र नेपाल (ओरेक नेपाल) की कार्यक्रम अधिकृत धनकुमारी चौधरीले जानकारी दिइन् । मञ्चलाई केयर नेपाल र ओरेक नेपालले समन्वयको भूमिकामा सहयोग गर्दै आएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले किशोरी अधिकार स्थापित गरी हाम्रो समाजमा छोरीलाई अगाडि बढाउन मञ्चले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले धेरैभन्दा धेरै किशोरीहरुलाई गोलबन्ध गरी सामाजिक अधिकार र न्यायको क्षेत्रमा काम गर्न सुझाव दिइन् । मञ्चकै कारण कयौं किशोरी समाजमा स्थापित भएको उनले जनाइन् ।
कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, महिला मानव अधिकार रक्षक रुपन्देही उपाध्यक्ष कल्पना तिवारी, सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष समिता मल्ल, ग्रिन युथ अफ लुम्बिनी अध्यक्ष अर्जुन कुर्मी लगायतले बोल्दै मञ्चले किशोरीहरुको क्षमता विकास र छोरी शिक्षाका लागि खेलेको भूमिका सह्रानीय रहेको बताए । पुष्पा हरिजनको अध्यक्षताका भएको कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमती हरिजन, महिला तथा बाल अधिकार संजालका सुनिल त्रिपाठी लगायतको आतिथ्यता थियो । कार्यक्रम रञ्जु पासी र शालिनी मिश्राले संचालन गरेका थिए ।





