गृहपृष्ठ जयनगर-कुर्थासम्म आजबाट रेल बिना यात्रु नै गुड्दै
जयनगर-कुर्थासम्म आजबाट रेल बिना यात्रु नै गुड्दै
६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिंदै
धनुषा । जयनगर-कुर्था रेलमार्गमा आज (आइतबार) देखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो ।
आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।
अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । गेट म्यान कर्मचारी आज बिहानैबाट काममा खटिने झाले बताए । ६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिने छन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।
‘लामो समयदेखि रेल थन्काइएको थियो । एक दिन ट्रायल गरियो । त्यसले मात्रै यसको प्राविधिक स्थिति बुझ्न सकिँदैन’ उनले भने ‘साता-दश दिन चल्यो भने रेल कुन कण्डिसनमा छ बुझ्न सकिन्छ। खराबी छ भने मर्मत गर्ने काम हुन्छ । परीक्षण नसकी यात्रु बोक्दा प्राविधिक समस्या भए बीच बाटोमै रोक्दा सन्देश राम्रो जाँदैन।’
रेल्वे लिकामा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ‘ड्रायरन’ गर्नु आवश्यक रहेको महाप्रवन्धक झाले बताए । नेपाली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने तयारी छ । तर त्यसको लागि हालसम्म तिथि तय भएको छैन। फागुन पहिलो सातामा उदघाटन तिथि तय हुन सक्ने महाप्रवन्धक झाले बताए ।
जयनगर देखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ । ०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।






