गृहपृष्ठ सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी तयारी गरिरहेको बताउनुभएको छ ।आज न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत् मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो । यसका लागि अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरुको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उहाँले बताउनु भयो ।
पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको तथा अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न सुरु गरिएको उहाँले बताउनु भयो । अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उहाँले जानकारी दिनुभयो । अनलाइन तारिख प्रणालीको प्रयोगबाट मुद्दाका पक्षहरुले विभिन्न ठाउँमा आफ्नो पायक पर्ने ठाउँको जिल्ला अदालतमा गइ सर्वोच्च अदालत र उच्च अदालतमा रहेका आफ्ना मुद्दाको तारिख लिन पाउने अवसर सिर्जना गरेको उहाँकाे भनाइ छ ।
‘यसले पक्षहरुलाई लाग्ने खर्च र समयको कटौती भएको छ । त्यसैगरी मुद्दाको कारबाही अवस्थाको बारेमा एसएमएस तथा अन्य विद्युतीय प्रणालीबाट मुद्दाको सम्बन्धित पक्षहरुलाई जानकारी दिने पद्धतिबाट अदालतहरुमा पक्षहरुको उपस्थितिलाई न्यून गर्नुका साथै मुद्दाको कारबाहीको बारेमा सहज जानकारी उपलब्ध हुन सकेको अवस्था छ ’उहाँले बताउनु भयाे ।सफ्टवेयरमा कैद, जरिबाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ ।






