गृहपृष्ठ एमाले तिलोत्तमाको सचिवालय बैठक बुटवलमा हुने महाधिवेशनले पार्टी पंक्तिमा उत्साह
एमाले तिलोत्तमाको सचिवालय बैठक बुटवलमा हुने महाधिवेशनले पार्टी पंक्तिमा उत्साह
तिलोत्तमा, १८ असोज । नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएपछि यस क्षेत्रका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रियम महाधिवेशन आयोजना हुनाले यस क्षेत्रको पार्टी पंक्तिलाई उत्साहित बनाएको ठहर गरेको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने निर्णय आइतबार सम्पन्न विधान महाधिवेशनले गरेको थियो । “तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटी लगायत जनवर्गीय संगठनहरु समेत बुटवलमा हुने महाधिवेशनप्रति उत्साहित छन्”–एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले भने ।
बैठकले महाधिवेशन सफल पार्न नगरको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको पनि उनले बताए । महाधिवेशन बुटवलमा आयोजना हुने भएपछि यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र भविष्यमा यस क्षेत्रको ऐतिहासिकता पनि बढ्ने बैठकले ठहर गरेको छ ।









