गृहपृष्ठ बुटवल उप-महानगरपालिकामा बावुराम भटराईलाई नगरप्रमुखमा उठाउने एमालेको निर्णय
बुटवल उप-महानगरपालिकामा बावुराम भटराईलाई नगरप्रमुखमा उठाउने एमालेको निर्णय
बुटवल । नेकपा एमालेले बुटवल उप-महानगरपालिकाको उप-प्रमुखमा बावुराम भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केहिबेर अघि सम्पन्न पार्टीको केन्द्रिय सचिवालय बैठकले पार्टीको पुर्व केन्द्रिय स्वास्थ्य विभाग सदस्य रहेका भट्टराईलाई नगरप्रमुख र पार्टी केन्द्रिय सदस्य सावित्रा अर्याललाई उपप्रमुखमा उठाउने निर्णय गरेको हो।
स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नं. ४ विर्घामा जन्मिएर बुटवल बसोबास गर्दै आएका भट्टराई भुमिगतकाल २०३२ साल सेरोफेरोबाट राजनितिमा सम्लग्न थिए। औषधी ब्यवसायी समेत रहेका भट्टराई एमालेका पुराना कार्यकर्ता र उद्योगी व्यवसायी, युवा विद्यार्थी सबैका माझमा लोकप्रिय छन्।
उनि भुमिगत कालदेखि नै कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको उपचार गर्दै कम्युनिष्ट पार्टीमा सम्लग्न रहँदै आएका थिए। पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो। सोहि क्रममा २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए।
तत्कालिन लुम्बिनी अञ्चल अस्पतालको अध्यक्ष समेत भईसकेर काम गरेका भट्टराईले अस्पतालको सेवामा सुधारको थालनी गरेका थिए। लामो समय उनले उद्योग व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य छन्। नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२÷६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे।
भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए। पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन्। सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमतापनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन्।
२०५४ सालदेखि निरन्तर नेकपा एमालेले नेतृत्व गरेको बुटवल उपमहानगरपालिकाको अबको नगरप्रमुखको उम्मेदवार को बन्छ भन्ने एमाले कार्यकर्ताहरुको जिज्ञासा अब मेटिएको छ। अब बुटवलको प्रमुख पदका लागि स्याङजाको कालिगण्डकी गाउँपालिकामा जन्मिएर बुटवल आई बसोबास गरिरहेका भट्टराई र नेपाली कांग्रेसका खेलराज पाण्डेको बीचमा प्रतिष्प्रधा हुने छ।
यस अघिको निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए। यसअघि पनि नेपाली कांग्रेसबाट पाण्डे नै उम्मेदवार थिए। सुवेदीले पाण्डेलाई २४ सय मतान्तरले पराजित गरेका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो। गत निर्वाचनमा नेपाली कांग्रेसलाई भने माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको साथ थियोे।
यसपटक नेपाली कांग्रेसको साथमा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी, र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको छ भने एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर निर्वाचनमा जानेगरि सनिवार मात्रै सहमती गरेको छ।
एकहजार ५ सय मत रहेको बताउने जनमुक्ति पार्टीले बुटवलमा आफुलाई तेश्रो शक्तिको रुपमा दावी गर्दै आएको छ। यसले पनि एमालेले यसअघिको निर्वाचनमा भन्दा धेरै मत ल्याउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केशी दावी गर्छन्।
बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजार भन्दा बढी मतदाता थपिएका छन्। ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ। यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता रहेका छन्। स्रोत समयचक्र





