२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ आगामी मंसीर ४ गते हुने आम निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

आगामी मंसीर ४ गते हुने आम निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । आउँदो आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् ।

आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्व निर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताए ।

उनले भने, ‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’ विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको बताए ।

उनले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताए । उनले भने–‘उम्मेदवारी दर्ता गर्नका लागि उम्मेदवारको भौतिक उपस्थिति कानुनले आवश्यक ठानेको छैन । वारेस मार्फत पनि गर्न सकिन्छ । उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने दलको आधिकारिक पत्र, निस्सा, वारेसनामा समस्या आएमा आयोगको केन्द्रीय कार्यालयबाट सम्बन्धित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन आयोग सहयोग गर्न तयार छ । यसका लागि आयोगले सचिवालयलाई भनिसकेको हुनाले राजनीतिक दलले आयोगको तर्फबाट पाउनुपर्ने सहयोग पाउनु हुन्छ । उनले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने पनि स्मरण गराएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार