गृहपृष्ठ सापकोटा परिवार जसले समाजसेवामा मात्रै आधा करोड खर्चिए
सापकोटा परिवार जसले समाजसेवामा मात्रै आधा करोड खर्चिए
गुल्मीको साविक वामी गाविस हाल मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ दानवीरहरुको ठाँउ भनेर चिनिन्छ । हजारौ, लाखौँ देखि करोडौ रकम एकै परिवारले समाजसेवामा खर्च गरेका छन् । यस्तै दानवीरहरुकै कारण वामीमा रुद्रावती बहुमुखी क्याम्पस बनेको छ, कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र बनेको छ ।
त्यसैगरी महेन्द्र आदर्श मावि, शारदा विद्या मन्दिर मावि, अन्य विद्यालयहरु, मठमन्दिर, प्रवेशद्वार, प्रतिक्षालय आदिमा वामीबासीहरुले करोडौ रकम खर्चने गरेका छन्, जसका कारण यी संघसंस्थाहरु जीवन्त बनिरहेका छन् । विशेषगरी वामीमा दानवीरहरु जन्मिनुको मुख्य कारण परिवारका कोही न कोही विदेशका समुन्नत देशमा पुगी राम्रो आर्थिक उपार्जन नै मुख्य हो । त्यसमाथि मुख्य कुरा दान गर्ने मन पनि हुनु हो । सापकोेटा परिवारले लाखौ लगानीमा गेट बनाइदिदै वामीमैदानदेखि ठूलाखर्क र खड्कनिशाना कोट मन्दिर प्रवेश गर्ने चोकमा वामीका एक समाजसेवी परिवारले आफ्नै खर्चमा प्रवेशद्वार बनाइदिने भएको छ । वामी सेवा समिति जापानका अध्यक्ष समेत रहेका कृष्ण सापकोटाको परिवारले आफ्नो बाबुआमाको नाममा गेट बनाइदिनुहुने भएको हो । सापकोटा परिवारले हजुरवावा स्व. गंगाधर सापकोटा, बुवा स्व. हरिलाल सापकोटा र आमा स्व. बोधकला सापकोटाको नाममा छोरा कृष्ण (देवप्रकाश) सापकोटा, बुहारी रीता सापकोटा, सुदिप सापकोटा, विष्णु सापकोटा, छोरी जमुना शर्मा, नातीहरु दिपेश, दिवस, नातीनिहरु सुवी, सुहेसाको परिवारले उक्त गेट निर्माणको लागि साढे १४ लाख रुपैया खर्चिने भएका हुन् ।
“हाम्रा बुवाआमाको नाम सदैव अमर रहोस् भन्ने चाहाना राख्छौँ, त्यसैमाथि उहाँहरुको चाहना पनि थियो मैदानमा गेट बनाउने”, उदयमान अनलाइनसंगको कुराकानीमा कृष्ण घिमिरेले जानकारी दिनुभयो , “त्यसैले उहाँहरुकै नाममा यो गेट बनाउने निर्णय गरेका हौँ, यसमा करिब १५ लाख रुपैया लागत लाग्ने अनुमान गरिएको छ, त्यो सबै हामीहरुले नै खर्च गर्छाैँ ।” उहाँले उक्त गेट भक्तपुरका कारिगढमार्फत बनाउने जानकारी दिनुभयो । यसअघि वामीटक्सार स्थित महेन्द्र आदर्श माबिमा बनेको प्रवेशद्वार पनि उहाँहरुले नै बनाइदिनुभएको हो । ५० लाख बढी समाजसेवामा खर्च यी सापकोटा परिवारले समाजसेवामा मात्र ५० लाख भन्दा धेरै खर्च गरेका छन् । दुई बर्ष अघि वामीस्थित महेन्द्र आदर्श माबिमा प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित भान्याञ्चलमा परिवारले ३ लाख ३३ हजार ३ सय ३३ सहयोग गरेको थियो ।
वामीमैदान स्थित शारदा विद्या मन्दिर माबिको भवन निर्माण गर्न करिब ६ लाख सहयोग गरेका छन् । वामीसेवा समिति मार्फत पनि उनीहरुले थुप्रै सहयोग गरेका छन् । हालसम्म ५० लाख भन्दा बढी समाजसेवामा खर्च गरेको पारिवारीक श्रोेतले जानकारी दिएको छ । वामी सेवा समितिको दोस्रो कार्यकाल समेत सम्हालेका सापकोटा हाल जापानमा कार्यरत हुनुहुन्छ ।





