गृहपृष्ठ टोटेनहमलाई अतिरिक्त समयमा पराजित गर्दै एभर्टन पुग्यो अन्तिम आठमा
टोटेनहमलाई अतिरिक्त समयमा पराजित गर्दै एभर्टन पुग्यो अन्तिम आठमा
प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा टोटेनहमलाई अतिरिक्त समयमा ५-४ गोल अन्तरले पराजित गर्दै एभर्टन अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लीसनले दुई गोल गरे । यस्तै डोमिनिक काल्भर्ट लेविन, गिल्फी सिगुर्डसन र बर्नाडले एक एक गोल गरे । टोटेनहमका डाभिन्सन साञ्चेजले दुई तथा इरिक लमेला र ह्यारी केनले एक एक गोल गरे । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । तेस्रो मिनेटमै डाभिन्सनको गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।

तर, खेलको ३६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई बराबरीमा फर्काए । खेलको ३८ औं मिनेटमा रिचार्लीसनले गोल गरेपछि एभर्टनले २-१ को अग्रता बनायो । ४३ औं मिनेटमा सिगुर्डसनले पेनाल्टीबाट गोल गर्दा एभर्टनले ३-१ को अग्रता बनायो । खेलको ४५ औं मिनेटमा टोटेनहमका लमेलाले गोल गरेपछि खेल ३-२ को स्थितिमा पुग्यो । खेलको ५७ औं मिनेटमा डाभिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए ।

खेलको ६८ औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गरेपछि एभर्टनले ४-३ को अग्रता बनायो । तर, खेलको ८३ औं मिनेटमा केनले गोल गरेपछि खेलको निर्धारित समय ४–४ गोलको बराबरीमा सकियो । अतिरिक्त समयमा भने एभर्टनका बर्नाड चम्किए । उनले खेलको ९७ औं मिनेटमा गोल गर्दै एभर्टनलाई ५-४ को जित दिलाए । एफए कप अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाईटेडले ब्रिस्टोल सिटीलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।
यो पनि हेरौ :





