गृहपृष्ठ ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता जुलाई २१ बाट सुरु हुने
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता जुलाई २१ बाट सुरु हुने
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको मिति सार्वजनिक भएको छ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मिति अनुसार प्रतियोगिता जुलाई २१ बाट सुरु हुनेछ । पहिलो दिन महिलाको खेल हुनेछ ।
जुलाई २२ बाट भने पुरुषको खेलहरु सुरु हुनेछ । प्रतियोगिताको फाइनल लर्ड्समा अगस्ट २१ मा हुनेछ । पहिलो खेलमा ओभल इन्भेन्सीबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । एक सय बलको हुने प्रतियोगिता २०२० मा हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण प्रतियोगिता एक वर्ष स्थगित भएको थियो । प्रतियोगितामा नेपालका सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् ।
सन्दीपलाई इन्भेन्सीबल्सले ‘रिटेन’ गरेको थियो । सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो । प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।





