२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाल सुपर लिग – ललितपुर र चितवनको बराबरी

नेपाल सुपर लिग – ललितपुर र चितवनको बराबरी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् ।

सोमबार भएको खेलमा ललितपुर र चितवनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले चितवनसँग बराबरी खेलेको हो ।

ललितपुरका लागि कमल श्रेष्ठले गोल गरे । चितवनका अमित तामाङले बराबरी गोल फर्काए ।

बल पोसेसनमा ललितपुरले एकतर्फी पकड जमाएको थियो ।

खेलको १० औं मिनेटमा ललितपुरले गोलको सुनौलो मौका गुमायो । विमल रानाले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल चितवनका डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।

लगत्तै ११ औं मिनेटमा कर्नरबाट आएको बलमा पाल्सङ लामाको हेडर बलले पोस्टको दिशा लिन सकेन ।

खेलको २१ औं मिनेटमा ललितपुरले पेनाल्टीबाट अग्रता बनाउने मौका पायो । तर,  ललितपुरका कप्तान अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

अन्जनको पेनाल्टी प्रहार चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाऊ गरे । रिबाउन्डमा विमल रानाको प्रहार पनि विशालले उत्कृष्ट बचाऊ गर्दै चितवनको संकट टारेका थिए ।

चितवनका गोरान जेर्कोभिचले कर्नर बलमा निरज बस्नेतलाई लडाएपछि ललितपुरले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ३५ औं मिनेटमा चितवनका भरत खवासको पेनाल्टी क्षेत्र भित्रको प्रहार पोस्टबारको थोरै माथिबाट बाहिरिएको थियो ।

खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मैदानको दायाँ भागको २५ यार्डबाट कमलले टप कर्नरमा गोल गरेका थिए ।

५४ औं मिनेटमा नविन लामाको पासमा ललितपुरका विमल रानाको ६ यार्ड बक्स बाटको प्रहार चितवनका गोलकिपर विशालले बचाए । रिबाउन्डमा विमलकै अर्को प्रहार विशालले सहजै नियन्त्रणमा लिए ।

खेलको ६१ औं मिनेटमा गोरानको पासमा चितवनका पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट गएको थियो ।

खेलको ६५ औं मिनेटमा ललितपुरका नुर्लान जाहिदको पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किएको थियो ।

६८ औं मिनेटमा ललितपुरका कप्तान अन्जनको डिबक्सको ठिक बाहिरबाटको प्रहार चितवनका गोलकिपर विशालले डाइभ हान्दै बचाए ।

खेलको ८८ औं मिनेटमा एरिक विष्टको फ्रिकिक चितवनका गोलकिपर विशालले मुश्किलले बचाएका थिए ।

खेलको इन्जुरी समयमा चितवनले पेनाल्टी प्राप्त गर्यो । जसमा अमित तामाङले सहजै गोल गरे ।

अमितको प्रहार पेनाल्टी क्षेत्रभित्र रहेका ललितपुरका विनोद गुरुङले ह्याण्डबल गरेपछि चितवनले पेनाल्टी पाएको थियो ।

चितवनका गोलकिपर विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

प्रोमोसिङ प्लेयर अफ दि म्याच ललितपुरका विनोद गुरुङ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

यस बराबरीसँगै ललितपुरले २ खेलमा १ अंक जोडेको छ ।

ललितपुरको यो पहिलो अंक हो । उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १-० ले स्तब्ध भएको थियो ।

चितवनले १ खेलमा १ अंक जोडेको छ । चितवनको यो पहिलो खेल हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार