२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ नेपाल सुपर लिग -बुटवल र विराटनगरको रोमान्चक बराबरी

नेपाल सुपर लिग -बुटवल र विराटनगरको रोमान्चक बराबरी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाडेका छन्  ।

शनिबार भएको खेलमा बुटवल र विराटनगरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो ।

बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक एक गोल फर्काए ।

रोमान्चक बनेको पाँचौ मिनेटमा बुटवलका आमिर श्रेष्ठको फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाऊ गरे ।

खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए । कर्नरबाट आएको बलमा विराटनगरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रमा रहेका करिमले बललाई पोस्टले जाली चुमाए ।

खेलको ३१ औं मिनेटमा बुटवलका विलियम ओपुकुको लामो प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले मुश्किलले बचाए ।

तर, खेलको ४२ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १-१ गोलको बराबरीमा ल्याए । एडिलाजा सोमिडेको पासमा करिब २० यार्ड टाढाबाट पेड्रोले उत्कृष्ट गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेल दोस्रो हाफमा समेत दुबै टिमले आक्रमण खेल पस्कियो ।

खेलको ६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-१ को अग्रता दिलाए । विलियमको क्रसमा अनमार्क रहेका लक्ष्मणले सहज गोल गरेका हुन् ।

तर, खेलको इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बुटवलले ३ खेलमा ५ अंक जोडेको छ । बुटवल लिगको दोस्रो स्थानमा रहेको छ ।

विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।

यो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार