२०८३ साउन १४ गते बिहीवार | July 30, 2026

गृहपृष्ठ नेपाल सुपर लिग-ललितपुरको पहिलो जित

नेपाल सुपर लिग-ललितपुरको पहिलो जित

काठमाडौं । ललितपुर सिटी एफसीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ ।

बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवलविरुद्ध ललितपुरले सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो । र, सुरुवातमै गोल गर्दै ललितपुरले महत्वपूर्ण जित निकाल्यो ।

खेलको पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाएका थिए । जुन गोल खेलको निर्णायक बन्यो ।

कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए । मैदानको बायाँ भागबाट डिफेन्डर निरज बस्नेतको बाईसाइकल प्रहारमा अन्जनले नुर्लानलाई हेडिङ पास उपलब्ध गराएका थिए ।

खेलको पाँच मिनेटभित्रै गोल गरेको ललितपुरले आक्रामक खेललाई अन्तिम समयसम्म जारी राख्यो ।

खेलको ३० औं मिनेटमा नुर्लानको पासमा अन्जन विष्टको हेडर पोस्टको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ३२ औं मिनेटमा ललितपुरका भिलिम पोसिन्कोभिचले गोलको सुनौलो अवसर खेर फाले । अन्जनको पासमा पेनाल्टी बक्स भित्रबाट भिलिमले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३६ औं मिनेटमा बुटवलका अभिषेक रिजालको लामो क्रसमा लक्ष्मण रुचालको प्रहार बाहिरियो ।

पहिलो हाफको इन्जुरी समयमा बक्स बाहिरबाट बुटवलका सुमन लामाको प्रहार आकाशिएको थियो ।

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइडको इशारा गरेपछि ललितपुर अग्रता दोब्बर बनाउन चुकेको थियो ।

खेलको ५० औं मिनेटमा ललितपुरका विमल रानाको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६४ औं मिनेटमा ललितपुरका डोना थापाको पेनाल्टी बक्सभित्रबाटको प्रहार आकाशिएको थियो ।

खेलको इन्जुरी समयमा समेत डोनाले गोलको अवसर गुमाए । पेनाल्टी बक्सको एजबाट उनको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।त्यसको एक मिनेटपछि बुटवलका विलियम ओपोकोको हेडर आकाशिएको थियो ।

यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा मैदानको दायाँ भागबाट नवीन लामाको लामो क्रसमा डोनाको प्रहार बुटवलका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए ।

खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरका मिक्छेन तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै ललितपुर लिगको चौंथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको छ ।

जितपछि ललितपुरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

बुटवल भने लिगको पाँचौं स्थानमा झरेको छ । बुटवलले ५ खेलमा ५ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार