२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ कुशल र रोहित चम्किदा अमेरिकामाथि नेपालको जित

कुशल र रोहित चम्किदा अमेरिकामाथि नेपालको जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । आसिफ २३ रनमा आउट भए ।

यस्तै रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे ।

कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए ।

अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए ।  सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै  निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।

संजय कृष्णमुर्थी  र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए ।

अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार