गृहपृष्ठ ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
नेपालका करण केसी र सन्दीप लामिछानेको कसिलो बलिङका कारण अहिलेसम्म ओमानका खेलाडीहरु हावी हुन पाएका छैनन् । ४३ रन बनाउँदा ओमानले ६ विकेट गुमाइसकेको छ ।
शुरुका तीन विकेट लिँदै करण केसीले ओमानविरुद्ध दबदबा कायम गरेका थिए भने पछिल्ला ३ विकेट सन्दीपको नाममा रहेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत टस जितेर पहिला बलिङ रोजेको नेपालको निर्णय अहिलेसम्म सही सावित भएको छ । ओमानले ४३ रन बनाउँदा ६ विकेट गुमाएको छ ।
पहिला ब्याटिङ गरेको ओमानले टिमको स्कोर १८ रन हुँदा जतिन्दर सिंहको पहिलो विकेट गुमाएको थियो । नेपाली खेलाडीमाथि शुरुदेखि नै हावी हुन खोजेको ओमानविरुद्ध करण केसीले विकेट लिएका हुन् । करणले जतिन्दरलाई १३ रन बनाएका बेला आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पमेलियन पठाएका थिए ।
दोस्रो विकेटको रुपमा ओमानले सेफ्यान मोहमद आउट भएका छन् । यससँगै ओमानको दुवै जना ओपनर पभेलियन फर्किएका छन् । सेफ्यान व्यक्तिगत चार रन बनाएका बेला करणले सुशन भारीबाट क्याच आउट गराएका थिए । करणले नेपालको ६.५ ओभरमा विकेट लिएका हुन् ।
तेस्रो विकेट पनि ओमानले सोही स्कोरमा गुमाएको थियो । आठौं ओभरको पाँचौं बलमा करणले ओमानका आयान खानलाई आउट गरेका हुन् । आयान ७ रन बनाएर आउट भए । करणले अहिलेसम्म ५ ओभर बलिङ गर्दा १२ रन खर्चिएर ३ विकेट लिएका छन् । ९ ओभरको समाप्तीमा ओमानले ३० रन बनाउँदा ३ विकेट गुमाएको थियो ।
त्यसपछि पनि नेपाली टिमले ओमानी खेलाडीलाई खुलेर खेल्न दिएका छैनन् । १२ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका लेग स्पिनर सन्दीपले अन्तिम बलमा विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाए । उनले मोहमद नदीमलाई एलबीडव्ल्यू आउट गर्दै पभेलियन पठाएका थिए ।
नदीम व्यक्तिगत ४ रन बनाएर आउट भए । १२ ओभर सकिँदा ओमानले ३७ रन जोडेको छ भने उसका ४ खेलाडी पभेलियन फर्किसकेका थिए । त्यसपछि सन्दीप लामिछानले एकै ओभर २ विकेट लिएपछि ओमान दबाबमा आएको हो । १३ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर ४३ रन बनाएको थियाे । यो स्कोरमा सुरज कुमार र नेस्टोर धाम्बालाई खाता नै खोल्न नदिएर पभेलियन पठाएका थिए । त्यसपछिकाे अन्तिम बलमा उनले कुनै पनि रन दिएनन् । सन्दीपले २ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिएका छन् ।





