गृहपृष्ठ रुपन्देही जिल्ला फुटबल संघ अध्यक्षमा लोक पुन निर्विराेध
रुपन्देही जिल्ला फुटबल संघ अध्यक्षमा लोक पुन निर्विराेध
बुटवल । रुपन्देही जिल्ला फुटबल संघको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। एन्फा टेक्निकल सेन्टर देविनगरमा सम्पन्न अधिवेशनबाट लोक पुनको नेतृत्वमा १५ सदस्यीय नयाँ पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छ ।
संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कुँवर, बुद्घिबहादुर गुरुङ, सदस्यमा दिपेश गुरुङ, संजय कार्की, प्रेम राना, दिपक गुरुङ, सोमबहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल गुभाजु, शंकर मल्लाह, ललित तिरुवा, पदम थापा र महिला सदस्यमा मोतिकला गुरुङ सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताए।
यसैबीच रुपन्देही खेलकुद विकास समितिका पूर्व अध्यक्ष योग गुरुङले कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला सबैखाले खेलमा उवरभूमि भएको दाबी गरे। प्राविधिक समस्याहरुका कारण देखिएको समस्याहरुलाई हटाउँदै रुपन्देही एक ढिक्का भएर लाग्नुपर्ने उनले सुझाव दिए।
संघका अध्यक्ष दीर्घ बहादुर केसीले संस्थामा लामोसमय बस्दा संस्थाभन्दा पनि ब्यक्ति विकासमा बढि जोड दिँदा यसको प्रभाव लामो समयसम्म पर्ने वास्तविकता देखिएको बताए । कमि कमजोरीहरुलाई हटाउँदै जिल्लाका सबै क्लबहरुलाई समेटेर नया नेतृत्व सर्वसम्मत गर्न सफल भएको भन्दै मिलेर अघि बढ्नुपर्ने उनले बताए।
कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले कोभिड १९ को कारण दुई वर्ष बढी समय विश्व प्रभावित भएको दुखेसो गरे । खेल क्षेत्र र खेलाडीको विकासलाई नया आयामका साथ अघि बढ्न सकिने उनले बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य हरि श्रेष्ठले रुपन्देही जिल्ला संरचनात्मक रुपमा सम्पन्नशाली हुँदाहुँदा पनि खेलाडी विकासमा पछि परेको दुखेसो गरे। जिल्लाका सबै क्लबहरु मिलेर खेल विकासमा नमुना काम गर्न जरुरी रहेको उनले बताए। केन्द्रबाट रुपन्देही जिल्लाप्रतिको दृष्टिकोण सकारात्मक रहेकाले पनि यसलाई सदुपयोग गर्दै नयाँ र रचनात्मक कार्यक्रमहरु बनाउन उनले सुझाव दिए।
कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य तथा लिग कमिटि डाईरेक्टर संजीव मिश्रा, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य रंजित शेरचन, लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, उपाध्यक्ष अर्जुन गुरुङ, भुपेन्द्र बहादुर क्षेत्री, संघका उपाध्यक्ष मुकेश कुवर, महासचिव लोक पुनले थप जिम्मेवारीका साथ पदाधिकारीहरु अघि बढ्न सुझाव दिए।






