२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आदर्श पर्व विवाह पञ्चमी

आदर्श पर्व विवाह पञ्चमी

प्रत्येक मंसिर शुक्ल पञ्चमीका दिन सीता र भगवान रामचन्द्रको विवाह भएको दिन स्मरण स्वरूप विवाह पन्चमी पर्व मनाइन्छ । पौराणिक काल अर्थात् त्रेता युगमा राजा दशरथका पुत्र मर्यादा पुरूषोत्तम भगवान रामचन्द्र र राजा जनककि पुत्री सीताको यसै दिन विवाह भएको थियो भन्ने पुराणमा उल्लेख छ। यस दिन माता जानकीको जन्मभूमि नेपालीको जनकपुर धाम र भगवान रामचन्द्रको जन्मभूमि भारतको अयोद्यामा विशेष मेला उत्सव लाग्ने गर्छ।

मिथिलावासीले यस दिनलाई अझ विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । महोत्सवका लागि श्रद्धालु भक्तजनको जनकपुरमा ठूलो भिड लाग्ने गर्दछ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजन एवं दर्शनार्थीहरु एकसाता अघिदेखि नै जनकपुर आउने क्रम रहन्छ ।महोत्सवमा देवीदेवताको अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म मिथिलावासी सहभागी हुने गर्दछन् । मैथिली संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ । सो महोत्सवमा भारतको अयोद्याबाट जन्तीका रूपमा साधु सन्त,महन्त , र अन्य राम भक्त हरूको उल्लेख्य रूपमा उपस्थिति रहन्छ ।

यता जनमपुरमा पनि उनिहरूको स्वागतको प्रवन्ध उत्तिकै रूपमा मिलाइएको हुन्छ । महोत्सवमा बिदाइका क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाहझै हुने गर्दछ । पौराणिक कथन अनुसार – कुनै समयमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको विवाह पराक्रमी र बलवान् पुरूषसङ्ग मात्र गरिदिने अठोट गरेका थिए । उनले आफूसँग रहेको शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन जसले सक्छ उसैसङ्ग सीताको विवाह गरिदिने प्रतिज्ञा गरेका थिए । बाल्यकालमा सीताले सो धनुष कुनै परिश्रमविना उठाएको जनक स्वयंले देखेका थिए ।

सीता विवाहा योग्य भइसकेपछि उनलेे स्वयंवर समारोहको आयोजना गरेका थिए । त्यसमा भागलिन राजा जनकले विभिन्न राजा र राजकुमारहरूलाई आमन्त्रण गरेका थिए ।एकसे एक वीर योद्धाहरू उपस्थित भए ।अयोध्याका राजा दशरथका पुत्र श्रीरामचन्द्र पनि मिथिला पुगेका थिए । राजा जनकले ” जसले शिवको धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ उसैसङ्ग आफ्नी पुत्री सीताको विवाह गरिदिने घोषणा गर्दै सुरू गर्न आज्ञा दिए । देवी सीतापनि त्यहाँ उपस्तिथि थिइन् । उनको हातमा वरमाला कैयौं राजा र राजकुमारहरूले प्रयास गरे तर विफल भए । राजालाई सीताको बिवाहा नै हुन नसक्ने हो कि भन्ने चिन्ता पर्‍यो ।

त्येत्तिकैमा महर्षी विश्वामित्रले आफ्ना शिष्य श्रीरामचन्द्रलाई शिव धनुष उठाउने आज्ञा दिए । श्रीरामले आफूले हासिल गरेको बिद्याका प्रभाव सो धनुष उठाई तादो चढाउन लाग्दा धनुष भाचिएर टुक्रा भयो । सीताले रामचन्द्रलाई वरमाला पहिर्‍याईन् सीता- रामको विवाह सम्पन्न भयो । त्यो दिन मंसिर शुक्ल पञ्चमी थियो । सीता र रामचन्द्रको बिवाहा भएको दिनलाई विवाहा पञ्चमी रूपमा मनाइएको हो । वर्षेनि बिवाहा पञ्चमी मनाउदै गर्दा नेपाल र भारतको पारस्परिक धार्मिक ,सास्कृतिक सम्बन्धलाई थप उजागर गर्छ नै तर हामीले आफ्नो ब्यक्तिगत जीवनमा पनि सीतारामचन्दको आदर्शलाई ग्रहण गर्नु छ ।

अहिले केही अल्पज्ञानी मुडहरूले वास्तविकता नबुझी सीतारामको सम्बन्धलाई लिएर नकारात्मक टिप्पणी गरेता पनि उहाँहरूको सम्बन्ध दिगो थियो । हरेक नारीमा हुने गुण सीतामा थियो र हरेक पुरुषम हुन पर्ने गुण राममा थियो । उहाँहरूको सम्बन्ध हाम्रोलागि प्रेरणाको स्रोत बन्न सक्छ । तसर्थ भगवान रामचन्द्र र जननी सीता हाम्रा आदर्श हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार