२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ उज्यालो,उमङ्ग र सद्भावको महान पर्व तिहार

उज्यालो,उमङ्ग र सद्भावको महान पर्व तिहार

नेपालीहरूको एउटा ठूलो पर्व यमपञ्चक हो । पाँच दिनसम्म मनाइने हुनाले यसलाई यमपञ्चक भनिएको हो भन्ने मान्यता पाइन्छ। यसलाई तिहार,दीपावली,दिवाली भन्ने चलन पनि छ।यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्लपक्ष द्वितियासम्म मनाइन्छ । यो पर्व खासगरी प्रकृतिपूजक पर्व हो । यो पर्वप्रेम,सद्भाव र मैत्री,खुशी,र उज्यालोको पर्व पनि हो ।

यो पर्व मान्नुका थुप्रै किंवदन्तीहरू पाइन्छन् । यसका धार्मिक,पौराणिक,ऐतिहासिक मान्यताहरू छन्। वैदिक सनातन र पौराणिक मान्यता अनुसार राजा बलिले अश्वमेध यज्ञ गर्न लाग्दा स्वर्गका राजा इन्द्रले असुरक्षित ठानी बिष्णुलाई गुहारेछन् । इन्द्रको सहयोगको लागि बिष्णुले  वामनको अवतार धारण गरी बलि समक्ष भिक्षा माग्न गएछन् । वामनले बलि समक्ष तीन पाउ बराबरको भूमि दान चाहियो भनेछन् । बलिले स्वीकार गरेछन् त्यहीबेला वामनले आफ्नो विशाल रुप धारण गरेछन् र आफ्ना दुइटा पाइतालाले सम्पूर्ण पृथ्वीको भूभाग ओगटेछन्। वामनलाई अर्को पाउ राख्ने ठाँउ नभएपछि बलिले आफ्नो शीर नै दिएछन् तर वामन(बिष्णु)को भार थाम्न नसकेपछि बलि पाताल पुगेछन् । बलिको यस्तो त्याग देखेर बिष्णुले स्वर्गमा आई पाँचदिन राज गर्न अनुरोध गरे र यही पाँच दिन स्वर्गमा बलिले राज गर्ने र यमराजको काम नभएकोले यमराज आफ्नी बहिनी यमुनाकोमा पाँच दिन बसेर अन्तिम दिन बहिनी यमुनाले सप्तरङ्गी टीका लगाएर मिठामिठा परिकार बनाई खान दिएर दाजुलाई बिदाई गरेकी थिइन् भन्ने पौराणिक कथा रहेको छ।

यसैबाट समाजमा पाँच दिन तिहार मनाउन थालिएको मान्यता छ । यही पाँच दिनमा अन्य थुप्रै विशेष तिथि र सन्दर्भ रहेकाले यो पर्वको झन महत्त्व र गरिमा देखिन्छ । अर्को एक किंवदन्तीमा यही यमपञ्चकमा नै अयोध्याका राजा रामचन्द्रले औंसीका दिन राजाको रुपमा राज्यरोहण गरेका थिए भन्ने प्रचलन पनि छ । त्यसैगरी आयुर्वेदका पिता धन्वतरीको जन्म पनि कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन परेकोले धनतेरस पनि यहीबेला मनाइन्छ । अझ नेपालकै सन्दर्भलाई  जोड्दा शंखधर साख्वाले  कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि नै ईस्वी सम्वत ८८० मा सम्पूर्ण किसानको ऋण तिर्दिई नेपाल संवत् चलाएबाट यो यमपञ्चक पर्वको महिमा बढ्दै गएको देखिन्छ।यो पर्वको सुरुवात हुनुका पछाडि अरु थुप्रै भनाइ र किंवदन्ती पनि छन् ।

हिन्दु वैदिक सनातन धर्म हो । यसका मान्यताहरू वेद,पुराण,महाभारत,रामायण,
गीता आदिमा रहेका दर्शन र कथालाई आधार मानिएको छ। हामीले मान्ने पर्वहरू पनि देवता वा ऋषिमुनिहरूका क्रियाकलापसँग सम्बन्धित भएर आएको पाइन्छ। देवताले यसो गर्थे भन्ने आधारमा हामीहरू पनि तिनै कुराहरूलाई अनुशीलन गरिरहेका छौँ । कतिपय पर्वहरूलाई मानिसको विकासक्रम र प्रकृतिसँग जोडेर  जीवन र जगतका विभिन्न तत्त्वहरूको पूजा र आराधना गरिएको पनि पाइन्छ।

” यस धर्तीमा सम्पूर्ण प्राणीको आआफ्नै अस्तित्व छ । एक अर्को बिना यो जीवन जगत चल्न सक्दैन त्यसकारण सबैको महत्त्व बुझी पूजा गर्नुपर्छ । यसैले तिहारमा पनि गाईदेखि भाइसम्मको पूजा गरिएको हो ।”

यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ। कागलाई खानेकुराहरू दिइन्छ।कागलाई पूजा गर्नु भनेको सम्पूर्ण पंक्षीको प्रतिनिधित्व हुने गरी पूजा गरिएको मानिन्छ । कागलाई पूजा गरिनुबाट धेरै प्रतिकात्मक अर्थ छन्। काग अत्यन्तै चतुर र चलाख पंक्षी हो। काग सूचना संवाहक प्राणी हो र यसलाई यमदूत पनि मानिन्छ। कागको पूजा गरिनु भनेको मानिसहरूको चराचुरुङ्गीहरू प्रतिको प्रेम पनि हो।कागले गर्ने  धेरैले राम्रा र सकारात्मक कार्यहरू छन्।

दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई मनपर्ने मिठामिठा खानेकुरा बनाई खान र माला लगाइ दिएर पूजा गर्ने गरिन्छ।कुकुरलाई आज्ञापालक र रक्षक प्राणीको रुपमा चिनिन्छ।कुकुरले दैवी विपत्ति र प्राकृतिक प्रकोप हुँदा पूर्व सूचना दिने पनि गर्दछ । कुकुरमा घ्राण शक्ति पनि हुन्छ र जसले गर्दा ठूलाठूला आपराधिक घटनाहरू अनुसन्धान गर्न कुकुरले ठूलो भूमिका निर्वाह गरेको हुन्छ।कुकुरलाई यमदूत र भैरवको वाहनको रुपमा पनि चिनिन्छ ।

तेस्रो दिन गाई तिहार मानिन्छ । गाईलाई गौमाता भनिन्छ।गाईको दुध मनुष्यको लागि एक महत्त्वपूर्ण अमृत नै हो । यसको गोबर अन्न, फलफूल र तरकारी खेतीको लागि मलको रुपमा प्रयोग गर्न सकिन्छ। गोबरले लिपपोत गर्दा शुद्ध र सफा हुन्छ भन्ने मान्यता छ । गाईको गोबरलाई एन्टिकसेप्टिकको रुपमा प्रयोग गर्न सकिन्छ भनिएको छ। त्यस्तै धार्मिक मान्यता अनुसार गाईको पिसाब घरमा छर्कदा घर पवित्र हुन्छ भनिन्छ । गाईको गोबरबाट ग्याँसजस्तो एक प्रमुख जैविक इन्धन बनाउन सकिन्छ । गाईको पिसाबका थुप्रै औषधीय गुण हुने कुरा त विज्ञान सम्मत प्रमाणित भइसकेको छ। गाई प्रकृतिको एउटा जीव हो यसबाट मानिसलाई पनि धेरै फाइदा छन्,गाईलाई पनि पूजा गरिनुपर्छ भनेर सायद यमपञ्चकको तेस्रो दिन गाईको पूजा गर्न थालिएको हुनसक्छ। गौपूजा औंसीको साँझमा धनधान्यकी देवी लक्ष्मीको धुमधाम पूजा गरिन्छ। जीवन यापनको एउटा महत्त्वपूर्ण पक्ष घर,धन,सम्पत्ति,पैसा र गरगहनाको पूजा गरिनुबाट के बुझ्न सकिन्छ भने द्र्व्य वा धनका कारण जीवनमा संकट नआओस् भनी लक्ष्मीको पूजा आराधना गरिएको हो ।

यस दिनलाई दीपावली पनि भनिन्छ । यस दिन घर वरिपरि बत्तीहरू बालेर झिलिमिली बनाइएको हुन्छ।जीवनमा यस्तो औंसीको जस्तो कालो रात नआओस् भनेर बत्ति बाली अँध्यारो धपाएर उज्यालो बनाइएको हुन्छ । यसबाट के सन्देश पाउन सकिन्छ भने अँध्यारो जस्तै आउने चुनौतीलाई बत्ति जस्तै बनी उज्यालो ल्याउनु पर्छ भनिएको छ।चौथो दिन शुक्ल प्रतिपदा गोरुको पूजा गरिन्छ।खेतीपाती गर्नको लागि गोरुको पनि ठूलो भूमिका हुन्छ। गोरुले यो भूमिलाई जोतेर अन्न लाउन र उम्रिन लायक बनाउँछन् ।

यमपञ्चकको अन्तिम अथवा पाँचौं दिन भाइ तिहार हो। यस दिन दाजुभाइ र दिदीबहिनीका बिचमा भेटघाट,सुख दुःख र एकापसमा मायाप्रेम र सद्भाव साटासाट गरिन्छ। पारिवारिक पुनर्मिलन हुन्छ।सबै जम्मा भई विभिन्न प्रकारका मिठामिठा खानेकुरा बनाउने र खाने चलन यस पर्वमा हुन्छ।भाइ तिहारको दिन दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका र गलामा सयपत्री,मखमली, गुर्धौली आदि फूलका माला लगाइ दिन्छन् । यसैगरी दिदी बहिनीहरूले आफू सक्दो कोसेली दाजुभाइलाई दिन्छन् र दिदीबहिनीहरूलाई दाजुभाइले पनि टीका र माला लगाई आफूसक्दो कोसेली दिन्छन्। यस पर्वमा एकआपसमा दाजुभाइ र दिदी बहिनीहरूका बिचमा सुस्वास्थ्य,प्रगति र दीर्घायुको कामना गरिन्छ। दाजुभाइलाई मखमलीको माला,तोरीको तेल लगाइदिनु र ओखरलाई दैलोमा एकैपटक फुटाल्नुपर्छ भन्ने चलनले पनि प्रतीकात्मक अर्थ बोकेको देखिन्छ ।

तिहारको अर्को महत्त्वपूर्ण पक्ष भनेको भैलो र देउसिरे खेल्नु हो । टोल टोलका मानिसहरू जम्मा भई विभिन्न किसिममा गीतहरू गाई घरघरमा गई नाचगान गरिन्छ । यो भैलो परम्पराको एउटा आफ्नै इतिहास रहेको छ। भैलीहरूले घर परिवारका सदस्यलाई धेरै आशिर्वाद र शुभकामना दिन्छन् । धरहरा जत्रो घर बनोस्,परिवारका सदस्य काँस झै फुलून्,बाँस झै झुकून् आदि शुभकामनाहरू भैलीले दिन्छन् । घर मालिकले पनि आफूसक्दो दान भैलीलाई दिने चलन छ।
यसरी पाँच दिनसम्म मनाइने यो पर्व खुशी, उमंग र उज्यालोको पर्व हो । मानिसको मात्र पूजा नगरी काग,कुकुर,गाई,गोरुको पनि पूजा गरिनाले यसको विशेष महत्त्व रहेको छ । समाजमा जे जस्ता पर्वहरू प्रचलित छन् तिनीहरूमा महत्त्वपूर्ण दर्शन र सन्देश दिएका हुन्छन् । यस्ता प्रेम र सद्भावका पर्वहरूलाई हामीले मौलिकता नबिगारी मनाउँदै जानुपर्छ । पर्वहरूको आगमनले पारिवारिक पुनर्मिलनबाट मानिसमा खुशी र सद्भाव पैदा हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार