गृहपृष्ठ झुपडीमा भोको पेटको भेलादेखि चितवनको सेभेन स्टार होटेलसम्म पुगेको एमाले
झुपडीमा भोको पेटको भेलादेखि चितवनको सेभेन स्टार होटेलसम्म पुगेको एमाले
चितवनको सेभेन स्टार होटेलमा बसेर नेकपा एमालेको दशौँ महाधिवेशन भर्खर सम्पन्न भएको छ।यो महाधिवेशनलाई हेर्दा हिजो हाम्रो पार्टी भन्दै खाइनखाई निरंकुश पञ्चायती व्यवस्थामा भूमिगत हुँदा भोगेका जीवन भोगाइहरू यहाँ पोख्न मन लाग्यो । यी मेरा राजनीतिक जीवन भोगाइहरू मेरो व्यक्तिगत जीवनको घटना र स्मरण मात्र नभएर मेरो कुनै बेलाको आस्थावान पार्टीको ऐतिहासिक दस्तावेज पनि हो भन्ने मलाई लाग्छ। महाधिवेशनको तामझाम,सर्वसम्मतको रटान,अध्यक्षको देवत्वकरण आदिजस्ता राजनीतिक स्वेच्छाचारीका क्रियाकलाप देख्दा हामीले बनाउन खोजेको कम्युनिष्ट पार्टी यस्तै हो र भन्ने ठूलो सन्देह मनमा पैदा हुन्छ ।
कुनै बेला यही पार्टीको संगठन विकास र बिस्तारको लागि धेरै दिन र रातहरू भोकै बसेका यादहरू अहिले यो मानस पटलमा झल्झती आउने गर्छन् । हामीलाई सिकाइएको र हामीले सिकाएको कम्युनिष्टको सिद्धान्त, विचार, मार्गदर्शन अहिलेको एमालेमा देखिएको तामझाम, निरंकुश शैली र नेतृत्वको स्वेच्छाचारीको पराकाष्ठा देख्दा सपना वा भ्रमजस्तो लाग्छ। भूमिगत कालमा जसरी राजनीति गरिन्थ्यो आज त्यही तरिका र पध्दति अपनाएर राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता होइन केबल नीतिबाट नेता चल्नुपर्छ र कम्युनिष्टको सिद्धान्त र विचारलाई व्यवहारमा आत्मसात गरिनुपर्छ। बोल्दा र भन्दा कम्युनिष्ट तर व्यवहारमा सामन्ती शैली अपनाए पछि कसरी कम्युनिष्ट भन्न सकिन्छ र ?
विसं २०२५ मा गुल्मीको दुर्गम पश्चिम भन्भनेमा एउटा निम्न वर्गीय परिवारमा जन्मेको म करिब १०/१२ वर्षकै उमेरमा तत्कालीन नेकपा मालेमा आबद्ध भएको थिएँ।मलाई त्यो कलिलो उमेरमा राजनीतिक चेत त पैदा भएको थिएन। म सम्झन्छु त्यसबेलाको मेरो मानस पटलमा गरिबको पार्टी कम्युनिष्ट र धनीको पार्टी काङ्ग्रेस भन्ने थियो।आफू सामान्य निम्न वर्गको किसानको छोरो हुनाले म कम्युनिष्ट हुनुपर्छ भन्ने मलाई लागेर कम्युनिष्टप्रति आबद्ध हुन पुगेको हुँ। मलाई तत्कालीन समयमा राजनीतिप्रति प्रेरित हुन प्रेरणा दिने व्यक्ति दिनेश पन्थी हुनुहुन्छ। २०३७/३८ सालमा पञ्चायती व्यवस्थाको दबदबा रहेको अवस्थामा खुलमखुला राजनीति गर्ने परिस्थिति थिएन।लुकीछिपी, प्रायः रातिराति नै पार्टीका गतिविधि सञ्चालन गर्ने अवस्थामा श्री दीपक निमावि कक्षा सातमा पढ्दा नै गाउँमा संगठन निर्माण गर्न मकै केलाउने, कोदो रोप्ने,धान काट्ने निहुँमा कसैको घरमा,गोठमा झुपडीमा मानिस जम्मा गरी पार्टीका सांगठनिक गतिविधिहरूमा सक्रिय भएको थिएँ।
खासगरी मलाई कम्युनिष्ट के हो भनेर प्रशिक्षित र संगठित गराउने अग्रज व्यक्तिहरूमा चन्द्रकान्त पन्थी,मुरलीधर शर्मा, कुल बहादुर घर्ती, चिन्तामणि पौडेल, भूमिराम पन्थीको ठूलो भूमिका छ।उहाँहरूकै प्रभाव र प्रेरणाबाट बिस्तारै ममा राजनैतिक चेत पैदा भएपछि कम्युनिष्ट भनेको सर्वहारा वर्गको पार्टी हो,यसैमार्फत नेपालको पञ्चायती व्यवस्थालाई अन्त्य गर्नुपर्छ, प्रजातन्त्र ल्याउनु पर्छ र समाजमा रहेको अन्याय,अत्याचार, विभेद, असमानतालाई अन्त्य गर्न सकिन्छ यसैका लागि सबैलाई एकजुट गराई लड्नु पर्छ भन्ने राजनैतिक शिक्षा ग्रहण गरेको थिएँ।मेरो राजनीतिक सहपाठी दिनेश पन्थी, धन बहादुर खत्री,दुर्गा भण्डारी आदि हुनुहुन्थ्यो। त्यसबेला पनि गुल्मीको भन्भनेमा नेकपा मालेको राम्रो संगठन निर्माण गरिएको थियोे।
समयको क्रममा कक्षा आठ पढ्न नजिक विद्यालय नहुँदा करिब दुई घन्टा हिँडेर जानुपर्ने पुर्कोटको श्री पृथ्वी माविमा पढ्न थालियो। अलि परिपक्वता हुँदै जाँदा पढाईको अलवा श्री पृथ्वी माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन गरी दिनेश पन्थीको अध्यक्षतामा सदस्य भई काम गरेको अनुभव छ। घरभन्दा दुई घन्टा टाढाको स्कुलमा पढ्न गएर कसैले थाहा नपाउने तरिकाले दिउँसोको हाफ छुट्टीमा स्कुल नजिकैको गुहारीको जङ्गलमा धेरै पटक संगठनका गतिविधि र प्रशिक्षण हुने गर्थे । मलाई सम्झना आउँछ दिनेश पन्थी,यमलाल भुसाल,डिल्लीराज भुसाल,जीवन भट्टराई, मनिराम भट्टराई आदि साथीहरू अनेरास्ववियु(पाँचौ)मा संगठित भएर काम गरिएको थियोे।पुर्कोट दहको मनिराम थापाको घरमा लुकेर तत्कालीन अनेरास्ववियुका गुल्मी जिल्लाका नेताहरू बोम बहादुर खडका, सोम प्रसाद सापकोटा,जगत पोखरेलबाट राजनैतिक प्रशिक्षण लिएका थियौँ। कार्लमाक्स,माओ,लेनिन र स्टालिनका कम्युनिष्ट सिद्धान्त,विचार र मार्ग निर्देशन लगायत नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको बारेमा थुप्रै जानकारी हासिल गरेको अहिले ताजैजस्तो लाग्छ।
म कक्षा नौ मा पढ्दा नै अनेरास्ववियुको गुल्मी जिल्लाको पश्चिमी भेगको क्षेत्रीय कमिटीको जिम्मेवारी हासिल गरी प्रशिक्षणको लागि गुल्मीको अम्मरपुर, उल्लीखोला,अर्खावाङ्, मर्भुङ् जस्ता गाउँमा शनिबार रातिराति भेला भएर नेकपा माले र अनेरास्ववियुको संगठन निर्माण र विस्तार गर्न सहभागी भई काम गरिएको थियोे। विद्यालयमा पढ्दा पढ्दै राजनीतिक जिम्मेवारीको महशुस हुँदै जाँदा जिल्लामा हुने जिल्ला पञ्चायत वा राष्ट्रिय पन्चायतको चुनावमा जनपक्षीय उम्मेदवारहरू दान बहादुर केसी,परमानन्द भण्डारी र कमल श्रेष्ठलाई जिताउन गाउँ गाउँमा भोट माग्दै पनि हिडिएको थियोे।यस निर्वाचनमा बाहिर भोट माग्दै हिड्ने भनिए तापनि कम्युनिष्टको जग बलियो बनाउन भित्रभित्रै संगठन बिस्तार गरिएको थियोे।
पार्टीको कामको सिलसिलामा केपी ओली,जीवराज आश्रित, बिष्णु पौडेल,मोदनाथ प्रश्रितसँग आदि केन्द्रीय तहका नेताबाट पनि लुकेर प्रशिक्षित हुने अवसर मिलेको थियोे। यस्तो कार्यक्रममा विश्व कम्युनिष्टको इतिहास, नेपाली कम्युनिष्टको बर्तमान अवस्था र हाम्रो भूमिका विषयमा गहन विश्लेषण हुन्थ्यो। हामीलाई पार्टी कसरी गठन गर्ने र बिस्तार गर्ने विषयमा सिकाइन्थ्यो।मलाई अझै जागरुक र अग्रपङ्ति लाग्न स्व. ध्रुव पन्थीको विशेष योगदान रहेको छ।
२०४१/२०४२ मा विद्यालयमा अनेरास्ववियुको राजनीति गरेको गाउँ पञ्चायत, विद्यालय संचालक समिति र विद्यालय प्रशासनले थाहा पाएपछि म लगायत केही विद्यार्थीलाई विद्यालय भडुवाको पदवी दिइएको थियोे। यसले गर्दा विद्यालय प्रशासनको आँखाको तारोको रुपमा दिनेश पन्थी र म स्पष्ट रुपमा देखिन पुग्यौं। यसले झन हामीमा राजनीतिक विद्रोह चेत पैदा हुन थाल्यो। त्यसबेला शिक्षकहरू लील बहादुर केसी र सुरेन्द्र केसीबाट भने राजनीतिक सपोर्ट पाइएको थियो। उहाँहरू नेकपा मसाल निकट भनेर चिनिनुहुन्थ्यो। विद्यालयबाट राजनीति गरेकै आधारमा कक्षा दशमा समयमा भर्ना नभएको निहुँ बनाई २०४२ सालको कक्षा १० को अन्तिम परीक्षामा सहभागी हुनबाट बन्चित गराइयो र तत्कालीन विद्यालय प्रशासनले विद्यालयबाट नै म र दिनेश पन्थीलाई कार्बाही गरी निकालियो। यसरी राजनीति गरेकै आधारमा मेरो शैक्षिक यात्रामा ठूलो अवरोध आइलाग्यो।
एकातिर पढ्न पाएको अवस्था छैन भने अर्कोतिर राजनीति गरेको आधारमा पुलिस प्रशासनले समात्ने र थुन्ने हो कि भन्ने ठूलो डरको अवस्था पनि थियो। विद्यालयबाट निष्काशित गरेपछि यो वर्ष एसएलसी गर्नुपर्छ भनेर म र दिनेश पन्थीले भारतको बनारस जाने निर्णय गर्यौ र अर्घाखाँचीको सन्धिखर्क पुगेर कम्युनिष्ट नेता लक्ष्मण रायमाझीलाई भेटी उहाँकै सल्लाहमा बनारसमा रहेको माले निकट प्रवासी संघको कार्यालयमा कम्युनिष्ट नेता चन्द्रप्रकाश मैनालीसँग पुगियो।तर त्यहाँ पनि फर्म भर्ने समय सकिएको भन्ने जानकारी प्राप्त भएपछि अन्योल सिर्जना भयो। नेपाल फर्केर अर्को वर्ष नयाँ भर्ना भई पढ्ने योजना बनाई केही समय काम गरी गाडीभाडा कमाई फर्कने निधो गरियो र करिब ६/७ महिना काम गरी म नेपाल फर्केँ।
२०४५ सालमा कक्षा १० पढ्न म अर्घाखाँचीको हँसपुरमा रहेको सिध्दार्थ माविमा पुगेँ।तत्कालीन प्रअ नरेन्द्र क्षेत्रीले मलाई ठूलो सहयोग गर्नुभयो।मेरो राजनीति र पढाई दुबैलाई निरन्तरता दिएँ।उक्त विद्यालयमा म छोटाे समय अनेरास्ववियु(पाँचौ) को प्रारम्भिक कमिटीको अध्यक्ष भई काम पनि गरेको थिएँ। नरेन्द्र क्षेत्रीले मलाई विद्यालयमा संगठनका क्रियाकलाप गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुभएको थियो तत्कालीन समयमा अर्घाखाँचीका नेकपा मालेका नेताहरू नेत्र पन्थी, बिष्णु पन्थीबाट राजनैतिक प्रशिक्षित हुने मौका मिलेको थियोे। अर्घाखाँचीको हंसपुर कम्युनिष्टको अखडा भनेर पनि चिनिएको थियो। सदरमुकाममा एसएलसीको केन्द्राध्यक्ष तोक्दा पनि काङ्ग्रेस र कम्युनिष्ट भन्ने थियो। यसै अनुरुप चुत्राबेसीको भगवती माविको केन्द्रमा काङ्ग्रेस र कम्युनिष्टको द्वन्द्वको कारण गणित विषयको परीक्षामा कापी च्यात्ने परिस्थिति सिर्जना भयो। त्यहाँ दोहोरो भिडन्त भएको थियोे। अन्तत २०४६ सालमा गणित विषयको परीक्षा दिई म उत्तीर्ण भएको हुँ।२०४६ सालको जनआन्दोलनमा पनि पञ्चायती व्यवस्थाका विरुद्ध नाराजुलुस, सभाहरू गरी सक्रिय सहभागी भएको थिएँ। अन्तत बहुदलीय प्रजातन्त्रको आगमन भयो।
२०४६ मा बहुदलीय प्रजातन्त्रको प्राप्ति पछि लामो सङ्घर्ष पछिको सपना पुरा भएकोमा गौरवान्वित भइयो। आफूलाई विश्व विजेता भए जस्तैको महशुस भएको थियो। संसारलाई नै जितेको अनुभूति भयो।अब पार्टी निमार्णमा लुक्न पर्ने अवस्था थिएन। खुला राजनीतिले जनतालाई राजनैतिक चेतना जागृत गराउन सकियो। बहुदलीय प्रजातन्त्रको आगमनपछि गुल्मीको तम्घासमा रहेको रेसुङ्गा क्याम्पसमा अध्ययन गरियो र क्याम्पसको प्राकमा जङ्ग नेपालीको नेतृत्वमा काम गर्न थाले।मेरो अबको समय भनेको पारिवारिक जिम्मेवारी बढ्न थाल्यो। म २०५० सालपछि पार्टीमा सक्रिय रुपमा संगठित भई सक्रिय भई काम गर्न सकिन। पुरानो माले एमाले भएको थियोे।आफू सक्रिय संगठित नभए पनि पार्टीका हरेक भेला,सभा,समारोहमा सहभागी भएको थिए र संसदीय निर्वाचनमा गुल्मीको तीन नम्बर क्षेत्रमा प्रचार प्रचार गरिएको थियोे। जब २०५४ सालमा एमाले फुट्यो अनि ममा राजनीतिप्रति अलि बितृष्णा पैदा भयो। अनि कम्युनिष्टमा विचारको राजनीतिभन्दा पैसा कुर्सी र सत्ताको राजनीति ज्यादा देखिन थाल्यो। प्रायः कम्युनिष्टहरूमा सिध्दान्त,विचार विधि, प्रक्रिया भन्ने कुरा हराउँदै गए र यस्तै हुँदै जाँदा आज त एमालेभन्दा राप्रपा ठिक भन्ने परिस्थितिमा जन आवाज सुन्न थालिएको छ। दुइतिहाई प्राप्त कम्युनिष्ट सरकार चलाउन नसकी संसद जस्तो जनताको सर्वोच्च निकायलाई बिचैमा भङ्ग गरी नयाँ तानाशाह र हिटलर प्रवृत्ति एमालेको अध्यक्षमा देखियो।ओलीले पार्टीलाई विचार बिहिन बनाई आफू नै सर्वेसर्वा घोषणा गरी चितवनबाट काठमाडौं फर्केका छन्।
मेरो मनले के भनिरहेको छ भने यस्तै र यही प्रवृत्ति बनाउन हिजोका कष्टकर दिनमा रगत र पसिना बगाएको हो र ? झुपडीमा मानिसलाई भेला गरी दिइएका कार्लमाक्स,लेनिन र माओका राजनैतिक शिक्षाको परिणाम भनेको यही सामन्ती शैली हो र ? कम्युनिष्टको नाम बेचेर चितवन गई आलिसान सेभेन स्टार होटेलमा बसी नारायणीको पानीले ओलीमा लागेको त्यो कालो दाग इतिहासमा कहिल्यै मेटिएला र?जबसम्म एमालेमा ओलीको अहंकार र स्वेच्छाचारी प्रवृत्ति अन्त्य हुँदैन तबसम्म एमालेलाई कम्युनिष्ट पार्टी हुँ भन्न सुहाउँदैन। आज नेपाली जनता गरिबी र बेरोजगारीले आक्रान्त छन्। बिहान बेलुका भोको पेट कसरी भर्ने भन्ने ठूलो समस्या छ तर त्यही गरिबको पार्टी भनेर चिनिनेले महाधिवेशनको नाममा करोडौं रुपैयाँँ खर्च गरेको छ। पञ्चायत वा प्रजातन्त्रको स्थापनापछि कम्युनिष्टले बाँडेका सपनाहरू सबै भ्रम रहेछन् भन्ने थप पुष्टि एमालेको पछिल्लो क्रियाकलापले देखाएको छ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको करिब ७२ वर्षमा ७२ वटा नै कम्युनिष्ट पार्टी बन्न पुगेको अवस्था छ। प्रजातन्त्र बलियो बनाउनुको सट्टा हरेक पार्टीमा स्वार्थ, पदलोलुपता, अहंकारले जरो गाडेको छ। आजीवन कुर्सी ,परिवारवाद,सत्ता लिप्सा,झोले प्रवृत्ति र बाँदरे शैली नै त्यति दु:ख गरी बनाएको कम्युनिष्ट पतन हुन लागेका देखिन्छ। कम्युनिष्टहरू भन्ने बेलामा आफूलाई सर्वाहारा पार्टी अनि जब व्यवहारमा आउँछ सर्व आहारा बनिदिएका छन् । मिठा मिठा आश्वासन मात्र दिने जनताका गाँस,बास,कपास,शान्ति सुरक्षाको मतलब नै नगर्ने अनि कसरी कम्युनिष्ट बन्न सकिन्छ र त्यस्ता पार्टीलाई कम्युनिष्ट भनेर किन पत्याउनु पर्ने। नेपालमा पद,प्रतिष्ठा र कुर्सी नै कम्युनिष्टको सिद्धान्त बनेको छ । के मानेमा नेपालका कम्युनिष्ट अरु पार्टी भन्दा फरक छन् ? भन्ने ठूलो प्रश्न तेर्सिएको अवस्था छ।
आपसी लडाइँ, परिवारवाद, एक आपसमा अश्लीलताको चरम रुप , गाली गलौज नै अहिलेका कम्युनिष्टको असली चरित्र देखिन्छ। बिहान एउटा नेताको भजन, बेलुका अर्को नेताको भजन अनि जता कुर्सी पाइन्छ त्यतै लुसुक्क छिर्ने बाहेक के पो देखियो र कहिँ कतै निष्ठाको राजनीति नै छैन । यति लामो इतिहास बोकेको पार्टीमा आज कुनै सैद्धान्तिक अडान छैन। न भोक न निन्द्रा गरी पार्टी मजबुत गराउनको उद्देश्य यही नेपाली जनताको बिचल्ली हेर्नु पक्कै होइन होला।
कम्युनिष्ट पार्टी निर्माण गर्ने पुष्पलाल अनि मनमोहन र मदन भण्डारीका विचार र सिद्धान्तहरू पुस्तकालयमा मात्र सिमित गराइनु हुँदैन। नेकपाको इतिहासलाई हेर्दा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते (२२अप्रिल १९४९) भारतको कलकत्तास्थित श्याम बजारमा एक बङ्गालीको घरमा भएको हो। पुष्पलाल,नरबहादुर, निरन्जन,नारायण विलास र मोतीदेवी पाँच जनाले स्थापना गरेको पार्टी हो। राणाशासन ,राजतन्त्र र पञ्चायती शासन विरुद्ध लड्दै आएको कम्युनिष्टको इतिहास रच्न धेरै नेपालीको योगदान रहेको छ। आज शहरमा देखिने कम्युनिष्टको खोल ओढेका सुकिलामुकिला बनाउन धेरैले बलिदान दिए। कति मारिए, ज्युँदै जलाइए भने कति बेपत्ता छन् । देशको परिवर्तनका लागि प्राण हत्केलामा राखी हाँसी हाँसी मर्न तयार भए र कति मरे पनि। तर तिनै सहिदको रगतमा होली खेली आजका नेताले एक अर्कालाई लालगद्दारको आरोप लगाउँदा यो मन खिन्न हुन्छ । संविधानमै समाजवाद उन्मुख राज्यनिर्माण गर्ने सपना बोकी जनतालाई बर्सौसम्म भ्रमको खेती बाहेक केही गरेको पाइएको छैन। चाहे बहुदलीय व्यवस्था होस् , चाहे लोकतान्त्रिक गणतन्त्र भनेर नाम दिइयोस् जसको सरकार आएपनि जनताका पिरमर्का बुझ्ने जनताले कोही पाउन सकेनन् । बहुदलीय प्रजातन्त्रका नाममा जनताले देशमा राजनैतिक अस्थिरता, भ्रष्टाचार ,अन्याय ,अत्याचार नातावाद, घुसखोरी, महिला हिंसा नै प्राप्त गरे । जनता र देश दुब्लाउने तर नेता मोटाउने प्रवृत्ति नेपालमा रह्यो र जनतामा राजनीतिप्रति वितृष्णा देखा पर्दै गएको अवस्था छ।
सत्ता र कुर्सीको मोहमा पिण्ड खान तम्सेका नेताको कोट र दौराको फेरो समातेर अब विचार बिहिन कम्युनिष्ट राजनीति गर्नेहरू बाट के आश गर्न सकिन्छ । एमालेमा कहाँ गए, कुनै बेला हामीलाई घोकाइएका मन्त्रहरू-माक्सवाद ,लेनिनवाद र माओवाद। कम्युनिष्टको क को कतै प्रयोगमा नल्याउनेहरू किन पार्टीको नाममा कम्युनिष्ट जोड्ने । बरु हाकाहाकी भने हुन्छ।कम्युनिष्टको नाम लिएर सिङ्गो नेपाली कम्युनिष्टको बेइज्जत गर्न पाँइदैन । पार्टीगत बहसमा कहिँ कतै सांगठनिक वैचारिक वा कुनै मुद्दाको चर्चा छैन ।
म नेपालको कम्युनिष्ट आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको पनि करिब चार दशक हुन थाल्यो।बहुदलीय प्रजातन्त्र आउनुपूर्व अत्यन्तै जटिल परिस्थितिमा पनि आफ्नो घरपरिवार र पढाई नभनी पार्टीलाई जीवन्तता दिने काममा आफ्नो बलबुताले भ्याएसम्म गरिएको थियोे। आफूले आफैलाई प्रशंसा गर्न खोजेको होइन त्यो इतिहासमा मूल्यांकन गरिने कुरा हो। कुरा यत्ति हो कि यसरी कम्युनिष्टको सिद्धान्त राम्रो हुँदाहुँदै पनि नेपालका अधिकांश पदलोलुप र स्वार्थी दक्षिणपन्थी र अवसरवादी नेतृत्वले गर्दा कम्युनिष्ट आन्दोलन धराशायी हुने अवस्थामा पुगेको देखिन्छ । अबको अर्को विकल्प भनेको फेरि पनि कम्युनिष्टभित्र ओझेलमा परेका निष्ठावान र त्यागी कार्यकर्ता अगाडि आई नयाँ अभियान सहित कम्युनिष्ट आन्दोलन सुरु गर्नुपर्छ तबमात्र नेपालमा कम्युनिष्ट जोगिन सक्ला नत्र इतिहासका पानामा मात्र सीमित हुनसक्छ। फेरि पनि इतिहासमा यो कम्युनिष्ट आन्दोलनलाई जोगाउने र अगाडि बढाउने अभिभारा हाम्रै हो,गम्भीर भएर सोच्ने बेला आएको छ।
( लेखक लोकनाथ पन्थी बुटवल- १३,जितगढीका वासिन्दा हुनुहुन्छ)









