२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ किन मर्मत हुँदैन बुटवलको सडक ?

किन मर्मत हुँदैन बुटवलको सडक ?

भौगोलिक दृष्टिकोणले नेपालको लगभग मध्यभाग बुटवल हो । यो तराईको शिरान र पहाडको काखजस्तो छ । बुटवलले आफ्नो छुट्टै ऐतिहासिक पहिचान बोकेको छ। पुरानो नामहरू बटाैली र खस्यौली आधुनिक बुटवल बनेका हुन् । बटाैली र खस्यौलीको व्यापारिक दृष्टिले एउटा आफ्नै इतिहास छ । विस १८७२ मा कर्णेल उजीर सिंहको नेतृत्वमा अङ्ग्रेजी सेनासित लडेर विजय प्राप्त गरी गणराज्यको राजधानी बनेको ऐतिहासिक ठाँउ बुटवल हो । त्यसैगरी यहीँ नै सर्वप्राचीन आदिम मानवको अवशेष पाइएर पनि मानव सभ्यताको उद्गम स्थलको रुपमा परिचित छ ।

यस्ता थुप्रै ऐतिहासिक, पौराणिक, धार्मिक, पर्यटकीय र व्यापारिक पृष्ठभूमि  बुटवलसँग जोडिन आउँछन् । यस्तो पहिचान बनेको बुटवलको अत्यन्तै व्यस्त ठाँउहरू चौराहा, मिलनचोक, हस्पिटललाइन, पुस्पलाल पार्क, ट्राफिक चोक, दरबार लाइन आदिका सडकको  वर्षाैदेखि प्रतीक्षा गर्दा पनि जे को तेही हुनु, मर्मत संहार हुन नसक्दा  खाल्डाखुल्डी र अस्तब्यस्त देख्दा यस्तो प्राचीन सम्पदाले नाम कमाएको शहर पुनः फेरि नाम खल्डाैली(?) बनाउन लागिएको त होइन भन्ने शंका पैदा हुँदैछ ।

साच्चिकै  नेपालमा भौतिक पूर्वाधारमा के कस्तो बेथिति, अस्तव्यस्तता र अनियमितता हुन्छ भन्ने उदाहरणको लागि कहिँ हेर्नु पर्दैन,बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको  मात्र तिन किमि राजमार्ग कै दुर्दशा हेरे हुन्छ । बुटवल भनेको नेपालको कुनै दुर्गम गाउँ होइन । नेपालमा बेलाबेलामा राजनैतिक माहोल  तताउने ठाँउ हो । बुटवल लुम्बिनी प्रदेशको मुकाम, बर्तमान गृहमन्त्रीको गृहजिल्ला,नेकपा एमालेका उपमहासचिव प्रभावशाली नेता  एवम् पूर्व अर्थमन्त्री बिष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो ।

पूर्व पश्चिम राजमार्गको यात्रा  गर्दा होस् वा सिध्दार्थ राजमार्गको यात्रा गर्दा जब यात्रीलाई एउटा कौतूहल हुन्छ, नेपालको एउटा प्रसिद्ध शहर बुटवल कस्तो होला, कस्तो होला अनि देखिन्छ बाटो भत्किएको, खाल्डाखुल्डी, हिलो, धुलो आदि । यो  बाटो करिब तिन वर्ष भयो मर्मत हुन सकेको छैन । कहिलेकाहीँ वर्षको एक दुई पटक यसो दुईचार ट्रक माटो ,बालुवा हालेर केटाकेटी आए गुलेली खेलाए भनेजस्तै  गरिन्छ अनि दुई चार दिनमै उस्तै ।

नेपालकै सबैभन्दा लामो र पुरानो  राजमार्गमा पर्ने  र त्यस्तै नेपालकै प्रसिद्ध व्यापारिक केन्द्र जहाँ प्रदेश सरकारको राजधानी छ र दिनहुँ मन्त्रीहरू सयौं दोर हिड्छन् । यस्तो ठाँउको बाटोमा  सरकार नै  टुलुटुलु हेर्दै लाज पचाएर हिड्छ भने अन्यथा कस्तो होला आफै अड्कल गर्न सकिन्छ । जहाँ बाटोको छेउमा सडक डिभिजन कार्यालय छ,त्यो बोर्डको बेइज्जत ! स्थानीय जनप्रतिनिधि यस्तो अवस्था हुँदा आँखामा पट्टि बाधेर हिडे जस्तो लाग्छ । जनता बारम्बार गुनासो पोख्न जाँदा राज्य नाजबाफ भइदिन्छ । जनताको गुनासो भन्दा उल्टो आफ्नो समस्या तेर्साउँछ। के यहीँ हो त संघीयता र घरघरमा  सिंहदरवार भनेको ?

चौराहदेखि गोलपार्क करिब जम्मा तीन किमि छ । छ लेन बाटो बनाउने भनेर भत्काउन थालेको तिन वर्ष भयो । कुनै निर्माण कम्पनीले ठेक्का पाएको भनेर बारम्बार समाचार पनि सुनिन्छ । कस्तो अचम्मको कानुन छ नेपालमा जहिले सुरु गरे पनि हुने, जहिले सक्दा पनि हुने, कस्तो  प्रक्रिया हो,कस्तो हास्यास्पद र कतिसम्म लाजमर्दो ! बाटो समयमै निर्माण हुन नसक्नुको समस्या भनेको बाटो फराकिलो बनाउन सर्व साधारणले हालेको मुद्दा रे ।

हो, कुनै पनि ठाँउको निर्माण छ्नोट गर्दा उपभोक्ताको भेला गराई उनीहरूका राय सुझाव नलिई एकैपटक बाटो भत्काउनु सुरु गर्ने, उद्घाटन गर्न आतुर र विकासमा पनि अस्वस्थ राजनैतिक प्रतिस्पर्धा नै हो। सिंहदरवारबाट एकै दिन सयौं योजना उद्घाटन गरिन्छ र काम शुरु गरिन्छ अनि स्वाभाविक रुपमा प्रत्यक्ष सरोकारका समस्या आउँछन् अनि आतुर गरी भत्काइएका  योजना  अलपत्र हुन्छन् । यहाँ पनि त्यही समस्या जस्तो लाग्छ। काठमाडौंको सिहदरवारमा बसेर  रिबन काट्न आतुरका परिणाम यस्तै देखिदै जान्छन् । जनतालाई के कस्तो प्रत्यक्ष फाइदा र बेफाइदा हुन्छ अथवा हुँदैन भनेर जन सरोकारको विषयमा प्रत्यक्ष संलग्न नगराई  बेवास्ता गर्दा यस्ता थुप्रै समस्या नेपालका योजनाहरूमा देखिन्छन् ।

नेपालमा योजना समयमै पुरा हुन नसक्नुको पहिलो कारण हो, राजनैतिक खिचातानी ।कुनै सरकारले योजना ल्यायो र काम गर्न सुरु गर्यो भने विपक्षीले जसरी हुन्छ नकारात्मक आलोचना । विकासमा पक्ष र विपक्षको होडबाजी देखिन्छ । काम सुरु हुन नपाउँदै आपसी अन्तरद्वन्द्व हुन्छ । त्यस्तै योजना छनोट प्रक्रियामा नै राजनैतिक होडबाजी देखिने समस्याले पनि विकासमा बाधा अवरोध देखिन्छ । अत्यावश्यक ठाँउको पहिचान नगरी आफ्नो क्षेत्र भनेर बजेट बिनियोजन गरिन्छ अनि सरोकार जनताले बिद्रोह गर्छन् काम कतै हुँदैन । असाध्यै झन्झटिलो कागजी प्रक्रियाले गर्दा बिनियोजन भएको बजेट काम गरेर सकुन्जेल ठेक्का प्रक्रियामामा नजाने अनि त्यसैमा फेरि अनियमितता, भ्रष्टाचार, लापरबाही, ढिलासुस्ती यी थुप्रै रोगहरू नेपालका योजनाका समस्या देखिन्छन् ।

सडक भनेको पूर्वाधारको पनि पूर्वाधार हो भन्ने मान्यतालाई सरकारले आत्मसात गरी भौतिक पूर्वाधारलाई विकास र समृद्धिको पूर्वसर्त हो भनी मान्नुपर्छ । यही सडकले गर्दा बुटवलको ऐतिहासिक र व्यापारिक पहिचानप्रति प्रश्न चिन्ह खडा गरेको छ । अति व्यस्त र प्रसिद्ध शहरका सडकलाई  यो दुर्दशामा राखेर नेपालमा के को ठुला ठुला  विकासको एजेन्डाका भाषण गर्नु उपयुक्त हो र ? भत्किएको बाटो पुनर्निर्माण गर्न कति बर्ष पर्खनु पर्ने हो र ? राज्यले भने अनुसार जनताले कर तिर्नु जनताको दायित्व हो तर दुनियाँ समस्या तेर्साएर जनतालाई विकास बन्चित गर्न सरकार चुप बस्न पाँइदैन । जनसरोकारका समस्या राज्यले जुन तरिकाले हुन्छ तुरुन्त समाधान गरिनुपर्छ ।

एउटा मुलुकको समष्टिगत रुपमा अर्थतन्त्र जोड्ने माध्यम मात्र नभएर सामाजिक, राजनीतिक तथा भौगोलिक रुपमा एकताको सूत्रमा बाँध्ने एउटा प्रमुख माध्यम पनि यातायात सेवा हो  र सडक संजाल हो । राज्यले यस्तो महत्त्वपूर्ण समस्याहरूमा आँखा चिम्लेर अन्धो र कान बन्द गरेर बहिरो हुनु हुँदैन । कानुनी अड्चन छन् भने समयमै  रातदिन नभनी समस्यालाई झन बल्झाउन तिर होइन निकासतिर लाग्नुपर्छ ।

हाम्रो आस्था र हाम्रो अस्तित्व अनि हाम्रो  जन्मभूमि अनि  कर्मभूमि ऐतिहासिक सम्पदा, व्यापारिक केन्द्रभूमिको केन्द्र भागकै यो दयनीय र दुर्दशा बिजोगको अवस्थालाई सम्बन्धित निकायले आँखा खोली हेर्न अनुरोध गरिन्छ । सुन्दर बुटवल, हराभरा बुटवल,ऐतिहासिक र पर्यटकीय बुटवल, मानव सभ्यताको उद्गम बुटवललाई राजनैतिक दाउपेच र निसाना बनाउने काम नगरियोस् ।

( लेखक राजेन्द्र पन्थी बुटवल -१३, जितगढीका स्थाई बासिन्दा हाल अमेरिकाको भर्जिनिया बस्नुहुन्छ । )

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार