गृहपृष्ठ लुम्बिनी प्रदेशको सत्ता सङ्घर्षमा सांसदहरूको संसदीय र नैतिक आचरणको प्रश्न
लुम्बिनी प्रदेशको सत्ता सङ्घर्षमा सांसदहरूको संसदीय र नैतिक आचरणको प्रश्न
नेपालमा बहुदलीय प्रजातन्त्र आएको तिन दशक बितिसक्दा पनि राजनीतिमा परिपक्वता आउन सकेको छैन । सधै किचलो, सत्ताको फोहोरी खेल,आन्तरिक र अन्तर पार्टी बिच गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा, एकअर्को बिच सत्तोसराप र गाली गलौज,संसदीय फोहोरी खेल जस्ता थुप्रै दृश्यहरू निरन्तर देखिरहेका छन् । लामो सङ्घर्ष र बलिदानबाट संघीय गणतन्त्र ल्याउदा समेत राजनैतिक अस्थिरताले जनताका पिर मर्का सम्बोधन हुन नसकेको अवस्था छ। आजकल कहिले संघ र कहिले प्रदेशमा अमर्यादित र असंसदीय राजनैतिक खेल देखा परेका छन् । यहाँ मैले लुम्बिनी प्रदेशमा देखिएको पूर्व मुख्यमन्त्री र सांसद विमला वलीको अमर्यादित र असंसदीय फोहोरी खेलको बारेमा केही प्रसङ्ग उठान गर्न गइरहेको छु।
नेपालका सात प्रदेश मध्येको एउटा प्रदेश लुम्बिनी हो।यस प्रदेशमा तराईका छ र पहाडका छ जिल्ला गरी बाह्र जिल्ला पर्दछ्न। यो प्रदेश उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म र पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म १७,८१० वर्ग किमि रहेको छ। यो प्रदेशमा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, शुध्दोदनले राजकाज गरेको तिलौराकोट,मानव सभ्यताको उद्गमस्थल बुटवल, एसियाका ठुलो उपत्यका दाङ जस्ता थुप्रै धार्मिक,पौराणिक,ऐतिहासिक, पर्यटकीय स्थल पर्दछन।
नेपालको संविधान २०७२ को संघीयताको कार्यान्वयनसँगै यस प्रदेशमा पनि निर्वाचन भई मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा सरकार गठन भयो। नेकपा भित्रको अन्तरकलह गर्दा अन्तत सर्वोच्चको फैसला पछि एमाले र माओवादी पार्टी पुरानो अवस्थामा पुगे । पार्टी फुटेपछि केन्द्र हुँदै प्रदेशमा पनि असर पर्यो। अनि पार्टीहरूमा फोहोरी खेल शुरू भयो। लुम्बिनी प्रदेश पनि अछुतो रहन सकेन।अन्तत एमालेका शंकर पोखरेल बाहिरिए भने काङ्ग्रेस, माओवादी,जसपा र अन्य दलको गठबन्धनबाट माओवादीका कुल प्रसाद केसी मुख्यमन्त्री बने।
जब संसदमा अङ्क गणितको हिसाब हुन थाल्यो अनि मुख्यमन्त्रीदेखि लिएर मन्त्री र सांसदहरूमा अनैतिक,फोहोरी र दुर्गन्धित राजनैतिक खेल सुरु भयो। जनताका पिरमर्का र कानुन निर्माण हुने संसद दैनिक अवरुद्ध छ। जनप्रतिनिधि भएर सबै जनताको अभिभावक भई साथ देलान् र पिर मर्का बुझ्लान भन्यो झन राजनैतिक असंस्कार देखाएका छन् । जनप्रतिनिधि भएर आएको व्यक्तिले आज एउटा पार्टी हुँ भन्छ अनि अर्को दिन अर्को पार्टीको हुँ भन्छ, जता मन्त्री पाइन्छ उतै जान्छ, जनमतको कदर छैन, पाँच वर्षलाई भोट दिएर पठाएको बिचैमा राजीनामा दिई जनतालाई प्रतिनिधि बिहिन बनाउँछन् । यस्ता थुप्रै घृणित क्रियाकलाप लुम्बिनी प्रदेशमा देखिए ।जनप्रतिनिधिमा नै नैतिकता, आचरण, संस्कार, मूल्यमान्यता, लाजसरम छैन भने देशको उन्नति प्रगति कसरी होला ?
लुम्बिनी प्रदेशमा राजनैतिक दृष्टिकोणले नेपालमा नाम कहलिएका राजनीतिज्ञहरू भएको प्रदेश हो। यस प्रदेशमा एमालेका बिष्णु पौडेल, घनश्याम भुसाल,प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट,शंकर पोखरेल, काङ्ग्रेसका बालकृष्ण खाण, चन्द्र भण्डारी अनि माओवादीका कृष्ण बहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती मगर आदि जस्ता केन्द्रीय प्रखर नेताहरूले प्रतिनिधित्व गरेका छन्।
लुम्बिनी प्रदेशको यस्तो अमर्यादित संसदीय घटनाबाट बुद्धको अपमान नै भएको देखिन्छ। जुन ठाँउमा शान्ति, सुव्यवस्था, सुशासन र संस्कार हुनुपर्नेमा मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई कुनै महिला सांसदले शरीर बन्धक तथा अपहरण गरेको आरोपमा किटानी जाहेरी दिनु मुख्यमन्त्री र जनप्रतिनिधिप्रतिकै आचरण र नैतिकता माथिको प्रश्न हो ।
सरकार बनाउन र मुख्यमन्त्री बन्नकै लागि नेताले जे पनि गर्ने संस्कारले देशलाई कता लगिँदै छ भन्ने आम जिज्ञासा छ। शान्तिका अग्रदूत गौतम बुद्धलाई साक्षी राखेर नैतिकता र आचरणमाथि प्रश्न उठ्ने अमर्यादित काम कसैले गर्नुहुँदैन।जनमत बाट निर्वाचित प्रतिनिधि पनि जनताप्रति उत्तरदायी हुनुपर्छ । नेतामा परिपक्वता, जवाफदेहिता र उत्तरदायित्व नहुनाले यस्ता लाजलाग्दा र फोहोरी क्रियाकलाप देखापरेका छन् ।
नेताका खल्तीबाट जनप्रतिनिधि बनाउने परम्परा,जनप्रतिनिधिमा राजनैतिक परिपक्वता नहुनु, सहानुभूतिका आधारमा चुनाव जिताउनुका परिणाम राजनैतिक फोहोरी खेल देखा परेका छ्न्।लुम्बिनी प्रदेशमा भएको पूर्व मुख्यमन्त्री शंकर पोखरेल र सांसद विमला कुमारी खत्री वलीको बारेमा बाहिर सुनिएको घटनालाई एउटा सामान्य मतदाता वा नागरिकको मनमा उठ्ने शंकालाई एक उदाहरणको रुपमा प्रस्तुत गर्दछु । दाङ निर्वाचन क्षेत्र ३(ख) की सांसद विमला कुमारी खत्री वली हुन् । वि.सं. २०७६ को उपनिर्वाचनमा २४,२८६ को भारी मतसहित विजयी भएकी सांसदले पटकपटक बोली फेर्न मिल्छ र ? कहिले एमाले र कहिले माओवादी किन भन्ने ?
यो फोहोरी खेलमा पूर्व मुख्यमन्त्री शंकर पोखरेलको क्रियाकलाप,आचरण र नैतिकता माथि थुप्रै प्रश्न उठेका छन् । त्यसबेलाको उपनिर्वाचनमा नेकपा पार्टीको चुनाव सूर्य थियोे पछि सर्वोच्चको फैसलाले दुईवटा पार्टी बनाइ दिएपछि पार्टी रोज्न स्वतन्त्रता हुनुपर्थ्यो। नेपालगन्ज जाने भनेर हिड्नेलाई बुटवल लैजाने अनि त्यसपछि भेटघाट गरेपछि फर्काउनु पर्ने अथवा आफ्नो कोठा वा घरमा नफर्किनुले आम जनताले आफ्ना जनप्रतिनिधिप्रति शंका गरिनु स्वाभाविकै हो। सांसद, मन्त्री र मुख्यमन्त्री भनेको एउटा साधारण व्यक्ति होइन,सिङ्गो संरचना वा आम नागरिक हो।सांसदका बोलीमा आम जनताका बोली, पिरमर्का, वेदना, सुखदुख सबै हुनुपर्छ। विमला वली भनेको दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) का सम्पूर्ण जनता हो भने तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल भनेको सिङ्गो लुम्बिनी प्रदेश हो।यस्ता राजनैतिक घृणित क्रियाकलापले शान्तिका अग्रदूत गौतमबुध्द जन्मेको पावन भूमि लुम्बिनीमा नैतिकता र आचरणको दाग लाग्न गएको देखिन्छ। अहिलेको २१ औं शताब्दीमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धात्मक राजनीति गरिनुपर्छ । एकअर्काको अस्तित्वलाई स्विकार गर्नुपर्छ। जनमतको कदर गरी जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ ।
नेतृत्व वा जनप्रतिनिधिमा राजनैतिक परिपक्वता,आचरण,नैतिकता,सभ्यता,शिष्टता जस्ता गुण हुनुपर्छ । नेता भनेको नेतृत्व गर्ने सामर्थ्य भएको व्यक्ति हो । बहुदलीय प्रजातन्त्र आएको ३१ वर्ष बितिसक्दा पनि एक अर्कोमा अस्वस्थ प्रतिस्पर्धा, राजनैतिक खिचातानी, सांसद किनबेच र अपहरण जस्ता अनैतिक क्रियाकलापले नेपाली जनताले सुखको सास कहिले फेर्न सक्लान् । राजनीति गर्ने भनेको सेवा हो, पेसा होइन। सेवाको रुपमा राजनीतिलाई स्थापित गरौं, नेपाली राजनीतिमा देखिएको कूसस्कारलाई अन्त्य गरी देश र जनताप्रति बफादार नेता बनौं ।
( लेखक राजेन्द्र पन्थी बुटवल -१३,का बासिन्दा हुनुहुन्छ )









