२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि

कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि

कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।

यस्तै, अछाम प्रहरीका सहायक निरीक्षक (असई) रमेश भट्टको टोलीले साउँदलाई शोक सलामी दिएको थियो ।प्रहरी जवान साउँदलाई उनका भाइले दागबत्ती दिएका जनाइएको छ ।अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका घर भएका साउँद कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए ।सीमा क्षेत्रमा भाइरहेको तस्करी रोक्न अस्थायी प्रहरी पोस्टका इञ्चार्ज (असई) गोविन्द विकसँगै साउँद शनिबार राति गस्तीमा गएका थिए । गस्तीमा गएका असई विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मोहना नदीमा फेला परेको थियो ।

साउँदको भने मंगलबार बिहान मोहना नदीमै गाडिएको अवस्थामा शव फेला परेको थियो ।नेपालबाट भारततर्फ भइरहेको केराउको तस्करी रोक्दा प्रहरी जवान साउँदसहित असई विकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले साउँद र विकको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । प्रहरीले हत्या आरोपमा थप १ जनालाई समेत पक्राउ गरेको छ । तस्करको समूहबाट हत्या गरिएका प्रहरी जवान साउँदका श्रीमती र २ छोरी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार