२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ हलेसी मन्दिरमा चार महिनाको अवधिमा यति धेरै भेटी संकलन

हलेसी मन्दिरमा चार महिनाको अवधिमा यति धेरै भेटी संकलन

खोटाङको धार्मिक स्थल हलेसीमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा गत १ साउनदेखि ५ मंसिरसम्मको अवधिमा दर्शन तथा पूजाआजाका लागि आएका दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो ।

महादेव मन्दिरको शिव पार्वती थानमा ८ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट १ लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

संकलन भएका भेटी रकम मध्ये ५ लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ । मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्य ध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिर भित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा यस अवधिमा भारु ३ हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर ३ जम्मा भएको छ । नगरपालिका मार्फत स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार