गृहपृष्ठ लुम्बिनी भ्रमण गर्न चाहने पर्यटकका लागि सस्तो प्याकेज
लुम्बिनी भ्रमण गर्न चाहने पर्यटकका लागि सस्तो प्याकेज
कोरोनाले थलिएको पर्यटन उकास्न लुम्बिनी होटल संघले विभिन्न सरोकारवाला संस्थासित समन्वयमा बुद्व जन्मस्थल भ्रमणका लागि सस्तो प्याकेज सार्वजनिक गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा सोमबार यस्तो घोषाणा गरिएको हो ।
लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले असोज १५ गतेदेखि लागू हुने गरेर एक रात दुई दिनको भ्रमण प्याकेज घोषणा गरेको बताए । संघका महासचिव शर्माका अनुसार प्याकेजको पहिलो दिन बसपार्कबाट होटलसम्म पिकअप, लुम्बिनीबारे जानकारी, विश्राम, साँझ लुम्बिनी तथा बुद्वग्राम रोबोटिक थिएटर भ्रमण र खाना रहेका छन् ।
दोस्रो दिन बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना, विश्राम र बिदाइ रहेका छन् । संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफाष्ट, धुप वत्ती, गाइड, बुद्वग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायात व्यवस्था छन् ।
‘यसले लुम्बिनीमा पाहुना आकर्षित गर्ने विश्वास छ’, उनले भने, ‘यो धेरै सस्तो प्याकेज हो । यहाँ आउने पाहुनाले चाहेमा अन्य बौद्व क्षेत्र पनि भ्रमण गराउने छौं ।’ कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र उकास्न व्यवसायीले अनेक जुक्ती लगाइरहेका छन् । डेढ वर्षयता महामारीले पर्यटन व्यवसाय धरासायी भएको छ ।
विश्व पर्यटन केन्द्र लुम्बिनी अधिक पर्यटन तान्न आफुहरुले सक्दो प्रयास गरेको पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले बताए । ‘लामो समय पर्यटन क्षेत्र ठप्प रह्यो’, उनले भने, ‘अहिले नाका खुलेपछि चहलपहल बढ्ने अपेक्षा छ ।’
सहज अवस्थामा लुम्बिनीमा स्वदेशी तथा विदेशी गरी १६ लाखको हाराहारी पर्यटक आउँथे । तर, डेढ वर्ष यता पर्यटक आगमन अत्यन्तै न्युन छ । तेस्रो मुलुकका खासै छैनन् । भारतीय पनि फाट्टफुट्ट मात्रै आएका छन् । आन्तरिकको पनि भीड छैन । पर्यटन व्यवसायीले प्याकेट ल्याएपछि पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ । स्रोत पब्लिक कुरा












