गृहपृष्ठ मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढदै पढाउँदै कार्यक्रम अघि बढाउने
मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढदै पढाउँदै कार्यक्रम अघि बढाउने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूलठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवावहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् ।
मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूलठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दवाव आउने गरेको बताएका हुन् । सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उनले आफूले ती राजनीतिक दवावहरुलाई पदमा रहन्जेल प्राथमिकता नदिने प्रतिवद्धता व्यक्त गरे ।
पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे । उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखी बनाउनसमेत आफू लागिपर्ने बताए । उनले भने, ‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्ने भन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरुको चाहना बढि भएको आउँछ । बोलायो, दौडदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्कै छ । तर, मैले तपाईँहरुलाई के प्रतिवद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुन्जेल प्राथमिकताका विषय हुँदैनन् ।
अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई सुधार गर्ने, अगाडि बढाउने । निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने । उसलाई नीति दिने, नियमन गर्ने ।’ मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भइरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे ।
छलफलमा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिन आग्रह गरिन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सूर्य पौडेललगायतका विद्यार्थी नेता भेटमा सहभागी थिए ।






