२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ डाइवेटिज : एक संक्षिप्त परिचय

डाइवेटिज : एक संक्षिप्त परिचय

डाईवेटिज एक सबैभन्दा पुराना रोगहरु मध्येको रोग हो । यो रोग ३००० बर्ष अगाडि इजिप्टमा पत्ता लागेको हो, जसलाई नेपालीमा मधुमेह साथै अंग्रेजीमा डाइवेटिज मेलाईटस पनि भन्ने गरिन्छ । डाईवेटिज, यस्तो स्वास्थ्य समस्या हो जसमा शरीरको सुगर ( ग्लुकोज ) को मात्रा सामान्य भन्दा बढी हुनु हो र रगतमा धेरै मात्रामा सुगर हुनाले गम्भीर किसिमका स्वास्थ्य जटिलताका साथै मृत्युसम्म हुने गर्दछ ।

विश्वमा डाईवेटिजको अवस्था :

सन् २०११ मा ३६ करोड ६० लाख जनसंख्यामा डाईवेटिज समस्या थियो भने, यो समस्याको सङ्ख्या विश्वमा २०३० सम्म पुग्दा ५५ करोड २० लाख जनसंख्यामा यो समस्या देखिने अनुमान विभिन्न रिसर्चहरुले गरेका छन् । जसमा ४३ करोड ९० लाख जनसख्यामा टाइप टु डाइवेटीज हुने आकलन गरीएको छ ।

डाईवेटीज के हो त  ?

हामीले नियमीत सेवन गर्ने खाना, खाई सकेपछि पाचन प्रकिृयामा खाना सुगर अथवा ग्लुकोजमा परिर्वतन हुन्छ । जसलाई इन्सुलिन नामक हर्मोनको सहायताले रक्तसंंचारको माध्यमबाट शरीरका विभिन्न अङ्ग अथवा कोषहरुमा पुराउने काम गर्दछ । जसले गर्दा रगतमा भएको ग्लुकोजलाई उपयोग गर्ने गर्दछ । कुनै कारणवश शरीरले रगतको ग्लुकोजलाई उपयोग गर्न नसक्नु र ग्लुकोजको मात्रा रगतमा धेरै हुनेलाई डाइवेटिज भनिन्छ ।

स्वस्थ शरीर र डाइवेटिज बिरामीको शरिरमा के भिन्नता हुने गर्छ ?

स्वस्थ मानिसको पाचन प्रणालीमा अवस्थित प्यान्क्रीयाज एक महत्वपुर्ण अंङ्ग हो, जसको बिटा सेलले इन्सुलिन नामक हर्मोन उत्पादन गर्दछ । इन्सुलिन को मुख्य भूमिका भनेको पाचन प्रणालीको माध्यमबाट रगतमा आएको ग्लुकोज अथवा सुगरलाई शरिरको विभिन्न अंङ्ग अथवा कोषिका सम्म पुर्याउन मद्वत गर्दछ भने डाइवेटिज बिरामीहरुको हकमा भने इन्सुलिनको पर्याप्त उत्पादन हुदैन साथै उत्पादन भएको इन्सुलिनले पनि रगतको ग्लुकोजलाई पुर्ण रुपमा विभिन्न अंङ्ग अथवा कोषिकासम्म पुर्याउन सक्दैन, जसका कारण रगतमा ग्लुकोजको मात्रा बढी हुन जान्छ ।

डाइवेटिज मुख्यतया कति प्रकारका हुन्छन् ?

मुख्यतया मेडिकल साईन्समा डाईवेटिजलाई टाईप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गरिएको छ ।

टाइप वान डाइवेटिज भएको अवस्थामा प्यान्क्रीयाजको बिटा सेल लाई शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले नष्ट गर्दछ जसले गर्दा इन्सुलिन उत्पादनमा कमी आउँछ । यसको कारण भने खुल्न सकेको छैन तर वंशानुगत कारणले यस्तो हुन्छ भन्ने अनुमान गरिएको छ ।
टाइप टु डाईवेटिजको हकमा भने प्यान्क्रीयाजले प्रयाप्त मात्रामा इन्सुलिन उत्पादन गरेतापनि कुनै कारणवश इन्सुलिनले ग्लुकोजलाई शरीर विभिन्न अङ्ग अथवा कोषिका भित्र पुर्याउन असमर्थ रहन्छ जसले गर्दा रगतमा ग्लुकोजको मात्रा वढी हुन जान्छ ।

टाईप वान र टाइप टु डाईवेटिज मा के भिन्नता छ ?

– टाईप वान डाईवेटिज लाई इन्सुलिन डिपेन्डेन्ट डाइवेटिज भनिन्छ भने, टाइप टु डाइवेटिजलाई नन इन्सुलिन डिपेन्डेन्ट डाइवेटिज भनिन्छ ।
– टाइप वान डाइवेटिज मेलाईटस आफैमा अटोइम्युन रोग हो भने, टाइप टु डाईवेटीज कारणबस शरीर सङ्घको इन्सुलिन प्रतिरोध (रेसीस्टेन्स) हो ।
– टाइप वान डाईवेटिजलाई इन्सुलिन प्रतिस्थापन थेरापीलाई मुख्य आधार मानिन्छ भने, टाइप टु
डाइवेटिजलाई सन्तुलित भोजन, जिवनशैली सुधार, शारीरिक ब्यायाम तथा औषधीको सहायताले
ब्यवस्थापन गरिन्छ ।
– पारिवारिक सदस्यबाट डाइबेटिज अनुवंशिक रुपमा आउने संभावना कम रहन्छ भने, टाइप टु को संभावना प्रबल रहन्छ ।

डाईवेटिज लाग्नुका मुख्य कारणहरु के–के हुन त ?

हाल सम्मका अनुसन्धानबाट निम्न कारणहरुलाई डाइवेटिजका कारक तत्वहरु मानिएको छ ।
– वंशानुगत कारण
– असन्तुलित खानपान
– प्रर्याप्त शारिरीक व्यायामको कमी
– धुम्रपान तथा जाड–रक्सीको सेबन
– मोटोपन तथा असमान्य शारिरीक तौल
– वातावरणीय टोक्सिन
– केमिकल र विषादी मिलावट गरी उत्पादन तथा तयार गरीएका खाना

के–कस्ता लक्षण हुनेले सुगर परीक्षण गराउने ?

– छिन–छिनमा पिसाब लागि राखेमा ।
– धेरै मात्रामा प्यास लागि राखेमा ।
– अत्याधिक भोक लागि राखेमा ।
– थकान र आलश वढि लागि राखेमा ।
– आखाँले मधुरो अथवा धमिलो देखिएमा ।
– शरिरको छाला फुस्रो र सुख्खा भई राखेमा ।
– शरिरमा सुगरको मात्रा बढी भई बारम्बार टाउको दुखेमा ।

डाईवेटिज लागेको कसरी थाहा पाउने ?

माथिका कुनै लक्षण देखिएमा आत्तिई–हाल्नु पर्दैन तर सजक हुनु भने जरुरी छ साथै, रगतमा ग्लुकोजको मात्रा चेक गराउनु पर्दछ । डब्लु.एच.ओ (WHO) र अमेरिकन डाइवेटिज एसोसियसनका अनुसार सुगर लेभल विहान खाली पेटमा ७.00 mmol/dL ( माईक्रो मोल पर डेसि लिटर ) अथवा ( ७०-११० ) mg/dL (माईक्रो ग्राम पर डेसि लिटर) र खाना खाईसकेपछी सुगरको मात्रा ११.१ mmol/dL ( माईक्रो मोल पर डेसि लिटर) अथवा २०० mg/dL (माईक्रो ग्राम पर डेसि लिटर) भन्दा कम हुनु पर्दछ यदि रगतमा ग्लुकोजको मात्रा तोकिएको मात्रा भन्दा बढि भएमा सुगर भए–नभएको पत्ता लगाउन सकिन्छ ।

डाईवेटीजको व्यवस्थापन कसरी गर्ने ?

– नियमित शारीरीक व्यायाम तथा योगा : दिनको ३० मिनेट देखि ६० मिनेट शारिरिक व्यायाम तथा योगा गर्ने निकै नै उपयोगी मानिन्छ, किनकि ब्यायाम गर्दा श्रिरमा नियमित रक्तसंचार बढ्नुका साथै रगतमा भएको ग्लुकोजलाई शरिरले उर्जाको रुपमा ब्यवस्थापन गर्दछ ।

– खान–पान व्यस्थापन : शाकाहारी भोजन तर्फ बढि ध्यान दिने, हरियो साग–सब्जी तथा प्रोटिन युक्त गेडागुडी खाने, कम कार्बोहाइड्रेड र बढि फाइबर युक्त भोजन सेवन गर्ने, चिल्लो तथा फ्राई गरेका खाने कुराहरु नखाने तथा प्रर्याप्त मात्रामा पानी पिउने ।

– जिवनशैलीमा सुधार : अल्कोहल र धुम्रपान सेवन छाडिदिने, सकारात्मक सोचाइ राख्ने, प्राकृतिक जिवनशैली अपनाउने ।

– परार्मश : चिकित्सकको सल्लाह बमोजिम नियमित सुगर चेक–जाच गर्ने, चिकित्सकको सल्लाह वमोजिमको औषधी सेवन गर्ने तथा आवश्यक परेमा इन्सुलिनको सहि तरीकाले प्रयोग गर्ने ।

शारांश :

मानब शरिरमा आवश्यक भन्दा बढि ग्लुकोजको मात्रा (२०० माईक्रो ग्राम पर डेसि लिटर) हुनुलाई
डाईबेटिज मेलाईटस भनिन्छ । सामान्यतया यस रोगको लक्षणहरुमा प्यास बढि लाग्नु, अत्याधिक तिर्खा लाग्नु र पटक–पटक पिसाब लागी रहने डाईवेटिजका आधारभूत लक्षणहरु मानिन्छ, डाईवेटिज मेलाईटसलाइ टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गरिएको छ । टाइप वान डाईवेटिजलाई इन्सुलिन डिपेन्डेन्ट डाइवेटिज मेलाइटस भनिन्छ भने टाइप टु डाइवेटिजलाई इन्सुलिन नन डिपेन्डेन्ट डाइवेटिज भनिन्छ । डाईवेटिज लाग्नुका मुख्य कारणहरुमा वंशानुगत, वातावरणीय, जिवन–शैली तथा खानपानहरु जस्ता कारणलाई मुख्य कारण मानिन्छ भने यी प्रमुख कारक तत्वहरुमा ध्यान दिने हो भने डाइवेटिजलाई ब्यवस्थापन गर्न सहज हुनुका साथै डाइवेटिज लाग्नबाट बच्न सकिन्छ ।

लेखक विचार र परिचय :
यो लेखमा समावेश गरिएका जानकारीहरु बिभिन्न अन्तराष्ट्रिय जर्नलका आर्टिकलहरुबाट साभार गरिएको हो र लेख कुनै व्यवसायिक प्रयोजनका लागि नभएर सुगर रोगबारे जनचेतना फैलाउने हेतुले डिजिटल माध्यमको अनलाइन पत्रिका उदयमान डट कममा प्रकाशित गरीएको हो ।

 लेखक फर्मासिस्ट रोसन ज्ञवाली हाल एसियन फर्मास्युटीकल्स प्रा. लि. रुपन्देहीमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार