गृहपृष्ठ नेपालीको साझा पर्व माघे संक्रान्ति
नेपालीको साझा पर्व माघे संक्रान्ति
चक्रपाणी डुम्रे ( शास्त्री )
ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते
अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने
दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर
संक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दु
दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट
उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु
समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने
गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ्
मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका
बसोबास गर्ने बाहुन, क्षेत्री, राई,मगर , लिम्बु, नेवार,
गुरुङ, मगर र थारू आदि सबै जनजातीले माघे
सङ्क्रान्तिलाई आआफ्ना परम्परा,भिन्नभिन्न
विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माघे संक्रान्तिको मुख्य विशेषता हो स्नान। यस दिन
बिहानै उठेर पबित्र जलाशय गएर स्नान गर्ने चलन छ ।
स्नान गर्नका निमित्त सम्भव भए गङ्गा नत्र
तिर्थ,नदि वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय
मान्यता छ। यो पर्व नेपाल भरका विभिन्न पवित्र
नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा
पूजाआजाका साथै घिउ , चाकु , तिलको लड्डु र तरुल
खाई मनाइन्छ यस पर्वमा देवघाट,बराहक्षेत्र , रिडी ,
पनौती , दोलालघाट , कन्काई ,राम्धी , तिलोत्तमा
तथा सेतीवेणी लगायतका नदी र घाटमा स्नान,
दान,श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । स्नान
संगै दान को पनि उत्तिकै महत्त्व छ यो पर्बमा ।जस्तै
भनिएको पनि छ:- “माघे मासि महादेव यो दद्यात्
घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च
विन्दति।।”
मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले
मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो
हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा
पनि पुष्टि गर्न सकिन्छ। यो शास्त्रीय मान्यता हो।
अझ यो पर्बमा तिलको विशेष महत्त्व रहेको छ। जसले
यो समयमा ६ प्रकार बाट तिलको उपयोग गर्छ, त्यो
ब्यक्ति कहिल्यै असफल हुदैन भन्ने शास्त्रीय मान्यता
छ । जस्त्तै : तिलले स्नान गर्नु,तिल हवन गर्नु,तिलको
तेल घस्नु,पितृलाई तिल युक्त जल अर्पण गर्नु,तिल दान
गर्नु र तिलयुक्त्त परिकार खुवाउनु खानु रहेको छ।माघे
संक्रान्ति बाट जाडो बाहुल्यता बिस्तारै घट्दै जाने
गर्मी को ताप बढ्दै जान्छ ।
प्राकृतिक रूपले मात्र नभएर धार्मिक दृस्ठिकोण पनि
बाट महत्त्वपूर्ण दिन हो यो । यस दिन सूर्य
दक्षिणायणबाट उत्तरायण हुने हुदा दिनहरू लामा र
रात हरू बिस्तारै छोटिदै जान्छन् । उत्तरायण सुरु
भएपछि विभिन्न धार्मिक कार्य सुरु हुन्छन् ।
बिवाह,ब्रतबन्ध,वास्तु,व्रतप्रारम्भ ,र व्रतउद्यापन
लगायत ठूलाठूला यज्ञयज्ञादि पनि यति बेला नै
सम्पन्न हुन्छन् । सूर्य उत्तरायण भएको बेला हुने
मानिसको मृत्युलाई समेत उत्तम मानिन्छ । त्यसैले नै
होला मृत्यु शैयामा रहेको अवस्थामा पनि भीष्मले
आफ्नो मृत्युका लागि सूर्य उत्तरायण हुने समय
पर्खिएको कुरा महाभारतमा समेत उल्लेख छ।
हिजोआज पनि माघे सक्रान्ति देश विदेश जतासुकै
मनाउने प्रचलन बढ्दै गएकोछ । खिचडी लगायत
तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता
विभिन्न परिकारको साथमा माघे सक्रान्तिको
रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो
चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने
खाद्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको
हिसाबले पनि लाभदायक देखिन्छ ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी
घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा
गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली
पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई
शरीरका छालासम्बन्धी र अन्य रोग नियन्त्रणमा
पनि भूमिका खेल्छ । जाडोयाममा तिलको तेल
घस्नाले ,तिलयुक्त परिकार खानाले पौष्टिक तत्वको
वृद्धि हुन्छ भन्ने बैज्ञानिक मान्यता छ ।
तसर्थ यस्ता पर्वले धार्मिक सास्कृतिक सद्भाव
बढाउने,सामाजिक रीतिरिवाजको जगेर्ना गर्ने
लगाएत आपसी भाइचारा कायम राख्न पनि
महत्त्वपुर्ण भुमिका खेलेको हुन्छ । अस्तु।





