गृहपृष्ठ रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !
रुपन्देही प्रशासनको ज्यादती : निषेधाज्ञा उल्लंघनको आरोपमा तीनजना कारागार चलान !
निशेधाज्ञाको पहिलो दिन रुपन्देही प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । उनीहरु माथि निषेधाज्ञा उल्लंघन गरेको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।
कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ उनले भने ।
प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले बताए ।






