२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन

इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन

एजेन्सी । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।

इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे ।

तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए ।

इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार