गृहपृष्ठ नेपाल र मोरिससको फुटबल खेल आज हुँदै, टिकट कसरी काट्ने जान्नुहोस्
नेपाल र मोरिससको फुटबल खेल आज हुँदै, टिकट कसरी काट्ने जान्नुहोस्
काठमाडौं, १५ माघ। नेपाली राष्ट्रिय फुटबल टिमले आज मोरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खैल्दैछ । नेपाल र मोरिससको खेल आज पौने ५ बजेबाट दशरथ रंगशालामा फ्लड लाइटमा खेल्नेछ । यो खेलका लागि दुवै टिमले तयारी पुरा गरेका छन् ।
नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सधैझै हारको दोष आफू लिने र जितेको श्रेय खेलाडीलाई दिने बताएका छन् । त्यस्तै, नेपाली टिमका कप्तान किरण कुमार लिम्बू पनि अफ्रिकन मुलुकसँग खेल्न पाउँदा दंग छन् । उनले यो खेलबाट केही नयाँ सिकिने विश्वास व्यक्त गरेका छन् ।
यो खेलका लागि नेपाली टिमले दुई हप्तादेखि अभ्यास गरिरहेको छ । यता मोरिससको टिमले पनि डिसेम्बर सुरुदेखि अभ्यास गरिरहेको छ । तर, मोरिससले अढाई वर्षदेखि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसमाथि उनले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।
टिकट कसरी बुक गर्ने ?
सबैभन्दा पहिले सजिलो पेको वेबसाइट लगईन गर्नुहोस् । आफ्नो सजिलो पे ईमेल अथवा मोबाइल नम्बर र पासवर्ड राखेर लगईन गर्नुहोस् । वेब ड्यासबाेर्डमा रहेको ‘International Friendlies (Nepal vs Mauritius)’ ब्यानरको ‘Get Tickets’ मा क्लिक गर्नुहोस् ।
‘Ticket Type’ मा Regular अथवा Premium छान्नुहोस् र टिकटको संख्या राखी ‘Confirm Payment’ button मा क्लिक गर्नुहोस् । पेमेन्ट पुरा भएपछि आफ्नो टिकट डाउनलोड गर्न नबिर्सनुहोला ।
अनलाइनमा कसरी लाइभ हेर्ने ?
यो खेलको प्रत्यक्ष प्रसारणको जिम्मेवारी कान्तिपुर टेलिभिजनले पाएको छ । अनलाइनबाट खेल हेर्न कान्तिपुर टिभीको वेबसाइट क्लिक गर्नुहोस् । कान्तिपुरको मोबाइल एपबाट समेत खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । साथै नेटटिभी, प्रभु पे लगायतका आईपी टिभी प्लेटफर्मबाट पनि खेल हेर्न सकिनेछ ।






