२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए । ‘पूर्वाधारहरु छन्’, प्रदेशसभा सदस्य थारुले भने, ‘अब संसद् बैठक देउखुरीमा चलाउन सकिन्छ र चलाउनुपर्छ ।’

प्रदेश प्रमुख सचिवसंँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन् । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं, जिम्मेवारी लिन तयार छौं’, उनले भने, ‘हामीले सबै ठाउँ देखाएका छौं ।’ राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिए । ‘पूर्वाधार भएका क्षेत्रमा पुगेर सरसर्ती हेर्ने काम भएको छ । यसबारे थप अध्ययन र छलफलबाट टुंगो लाग्न सक्छ ।’ राप्ती प्राविधिक शिक्षालय, राप्ती गाउँपालिका, दाङका प्रजिअ, सुरक्षा अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखहरुसँग छलफल भइसकेको छ ।

एक हजार बिघा सरकारी जग्गा – मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले राप्ती गाउँपालिकाका सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाका गोवरडिहा र पत्रिङ्गा क्षेत्रबाट एक हजार ४२० बिघा सरकारी, पर्ती, गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको नापी कार्यालय लमहीका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । अहिले त फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएका छौं । दशैंपछि राजधानी राख्न उपयुक्तस्थल हेरेर प्रतिवेदन पठाउने छौं ।

दशैंलगत्तै पूर्वाधार विकास प्राधिकरणको कार्यालय – बडादशैं लगत्तै पूर्वाधार विकास प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना हुने भएको छ । यो प्रदेश राजधानी भएपछि स्थापना हुने पहिलो सरकारी कार्यालय हुनेछ । प्राधिकरण कार्यालय प्रदेश स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताए । रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार