गृहपृष्ठ कविता :- ह्याप्पी बर्थ डे बाबु
कविता :- ह्याप्पी बर्थ डे बाबु
जगन्नाथ मरासिनी / बुटवल /
ह्याप्पी बर्थ डे बाबू
तिमीले हिजो कपिका पानामा कोर्न सिकेका शब्दहरु
भोलि शिलालेख बनेको हेर्न पाउँ
आज तिमीले चाल्दै गरेका पाइलाहरु
भोलि ईतिहास लेखिने ठाउँमा पुगुन
आज तिमीले बोल्न सिकेका शब्दले
भोलि मन्डेला र ओबामा फिक्का परुन
बाबू, जीन्दगी हामीझैँ साधारण बनी नबिताउनु
केही फरक गर्नु, केही फरक बन्नु
फरक समयमा जन्मिएका तिमी
पक्कै केही फरक गर्नेछौ
तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना।।
तिमी जन्मिन लागेकै बेला तिम्री आमाले
एउटा खड्को काटेर तिमीलाई पाएकि हुन्
तिमी उभिन लाग्दा तिम्रो बाबाले
आफ्नो बिबाह भन्दा ठूलो उत्सव मनाएका थिए
तिमी हुर्किदै गर्दा तिम्रा मामाले
आफू हुर्किरहेको महसुस गर्थे
तिमी खेल्न लाग्दा तिम्री दिदीले
आफ्नो संसार पुरै भाग तिम्रो पट्टि पारिदिएर
तिमीलाई जिताउने गर्थिन
रिता, उ पनि तिम्रो आवेशमा पानी बन्ने मान्छे हो
त्यत्रो बा आमा र मामाको खुसी बनी उभिएको तिमी
तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।।
बाबू, तिमी बाँचेको यो विश्व
यो रंगमञ्च अलि फराकिलो छ आधुनिक छ
तैनि संसार सँगै तिमीजस्तै आधुनिक हुननसकेका
हामि
हाम्रा हातहरुलाई समाउन नछुटाउनु
तिमो स्वास चल्दा
आफ्नै ढुकढुकि छामेर बाँचेको महसुस गर्ने
हरेकलाई सँधै सँधै हँसाउने शक्ति मिलोस्
तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना।।
प्यारो भाई प्रणव पन्थीलाई जन्मदिनको लाखौं लाख शुभकामना ।





