२०८३ मंसिर १३ गते शनिवार | November 28, 2026

गृहपृष्ठ पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य

पर्रोहा धामलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य

लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार पारिएको छ । धाममा मूल मन्दिरसहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ ।

सैनामैना नगरपालिकाले बनाएको गुरुयोजना अनुसार पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताए । उनले भने, ‘मूल मन्दिरमा चारवटा ढोकासहितको छानो हुनेछ । छानो ५१ फिट लम्बाइको हुनेछ, यो सम्भवतः काठमाडौंको पशुपतिनाथ मन्दिर भन्दा ठूलो हो ।’

करिब ५ सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ । यस्तै, मूल मन्दिरको चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ । ‘मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् । यसले थप आआकर्षकता थप्नेछ’, इन्जिनियर न्यौपानेले भने ।

मूल मन्दिरको पूर्वमा आकर्षक मुख्य प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने छ । विभिन्न देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाई व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ । मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति धामको आकर्षण हुनेछन् । मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले जानकारी दिए ।

पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । नेपालमै पहिलोपटक श्रावणी मेला तथा जलार्पण शुरु भएको धामका रुपमा प्रख्यात रहेको संरक्षक किशोर गौतमले जनाए । यहाँ स्वयंउत्पत्ति ज्योतिर्लिङ्गको भगवान श्रीकृष्णले पनि पुजन गरेको श्रीमद भागवतको दशम् स्कन्दको ३४ औं अध्यायको प्रथम श्लोकमा उल्लेख भएको उनले बताए । गौतम बुद्धले पनि पर्रोहा परमेश्वरको दर्शन गरेको इतिहासविदले तर्क गर्दै आएका छन् ।

धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजनामा छ । यस्तै हालको साधुसन्त आश्रमलाई सबलीकरण गरी पुरातात्विक रुपमा मर्मत सुधार गर्ने, महिला तथा पुरुषका लागि पर्याप्त शौचालय बनाइने छ ।

सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुली बत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गर्ने, ढल तथा वर्षे पानी निकासको व्यवस्था गर्ने र मन्दिरको आम्दानी वृद्धिका लागि ११ वटा कलात्मक पसल घर बनाइने गरी गुरुयोजना बनाइएको बताए ।

‘यो हिन्दू धर्मालम्बीहरुको आस्थाको स्थल हो, पर्रोहा धामलाई पश्चिम नेपालको पशुपतिनाथका रुपमा विकास गरी धार्मिक पर्यटनको विकास गर्ने हाम्रो लक्ष्य छ । यसैले गुरुयोजना बनाएर काम थालिएको हो, यसलाई हामीलाई मूर्तरुप दिन्छौं’, उनले भने । नगरपालिकाले जनाएअनुसार मूल मन्दिर निर्माण पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने छ । त्यसपछि दोस्रो चरणमा ८ करोड बढी लागतमा अन्य पूर्वाधारहरु बनाइने छ ।

@publickura.com

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार