२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेपालको राजनीति, नेताका भाषण र गालीको प्रयोग

नेपालको राजनीति, नेताका भाषण र गालीको प्रयोग

गाली भन्दा बित्तिकै मानव मनमा उत्पन्न आवेशको शमनको उपाय हो । यो एउटा  भाषिक शैली हो ।गालीलाई लोकसाहित्यको लोकवार्ताको भेदका रुपमा नेपालका केही जिल्लामा प्रचलित गालीको बारेमा अध्ययन गरिएको पाइन्छ । आधुनिक साहित्यमा पनि महाकवि लक्ष्मी प्रसाद देवकोटाले सुलोचना महाकाव्यमा केही गालीको प्रयोग गरेका छन् । कथा,कविता, नाटक,निबन्ध आदि विधामा गाली प्रयोग गरिएको पाइन्छ ।

गाली पनि विभिन्न ठाँउ र प्रसङ्ग अनुसार प्रयोग गरिन्छ । नेपाली राजनीतिमा खासगरी नेताहरूले बाँदर, कुकुर,पागल, जङ्गली, गद्दार आदि शब्दहरू रिस उठ्दा प्रयोग गर्छन् । गाली पनि  शब्द, पदावली, वाक्यगत संरचनामा हुन्छन् । पदावली तहमा साला गधा,लाल गद्दार,दक्षिणपन्थी अवसरवादी आदि र वाक्य तहमा माले, मण्डले, मसाले एउटै हुन्, बालुवाटारबाट बार्दली पुगे,राजनीति गर्ने भए श्रीपेच फुकालेर मैदानमा आऊ, यसपालिको हैजा फलानोलाई लैजा,आर्यघाट के भन्छ ? फलानोलाई ले भन्छ, तेरो घरमा भूत नाचोस्, वैद्यबाट डाक्टर र डाक्टरबाट झाँक्रीको संगत छ, कागजी बाँदशाहका दिन गए,भेट्नु कुहिएको दुई फल झरे,सुन्तला खान सल्लाघारी गएका छन् आदि प्रचलित गाली  हुन् ।

नेपालका कम्युनिष्ट नेतृत्वले बारम्बार दोहोर्याउने गालीहरूमा निरंकुश, जंगली,लाज पचेको, बिकाउ माल खोज्दै,राक्षस, कुहिएको पात,उम्रिन नसकेको पिउसो,के जातिलाई घ्यू नपचेको, धोखेबाज, छट्टु, अहंकारी, गफाडी, स्वेच्छाचारी,नाटक, नौटंकी, भैंसी,भेँडा आदि जस्ता पद र पदावलीयुक्त  रहेका छन् । नेपाली राजनीति कर्मीहरू यस्तै किसिमका गाली  गरेर प्रतिक्रियामा अरूलाई खराब देखाएर आफू राम्रो भएको चर्चा गर्छन् । नेपालीमा मात्र होइन अरु भाषामा पनि गालीको प्रयोग गरिएको पाइन्छ ।

राजनीति भनेको नीतिहरूको पनि नीति मानिन्छ । साहित्य,शिक्षा,अर्थ,स्वास्थ्य रोजगार ,विकासमा कहिँ न कतै  राजनीति जोडिएको हुन्छ । देशको उन्नति,प्रगति र परिवर्तनका लागि राजनीति अनिवार्य चाहिन्छ । जब राजनीतिमा स्वच्छता हुन्छ  तब जनजीविका तमाम समस्याहरू समाधान हुन्छन् देशमा विकास हुन्छ देशको राजनीतिमा अस्थिरता देखा पर्यो भने शिक्षा स्वास्थ्य,रोजगार सबैमा अस्थिरता हुन्छ । नेपालमा २००७ मा प्रजातन्त्र आएको थियोे तर एक दशक बित्दा नबित्दै २०१७ मा प्रजातन्त्र लुटियो र पञ्चायत व्यवस्था लागू गरियो ।करिब तिस वर्षको लडाइँपछि २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापन भएको थियो ।

२०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनदेखि अहिलेसम्म करिब ३१ वर्ष बितेका छन् । यही ३१ वर्षको समयावधिमा नेपाली राजनीतिमा विभिन्न पार्टीका नेतृत्व पङ्त्तिबाट जनसमर्थ जुटाउने उद्देश्यले जनसम्बोधन वा भाषण वा वाक्कलामा अत्यधिक  राजनैतिक गालीहरू गरिएका छन् । नेपाली कांग्रेस,नेकपाका विभिन्न पार्टीहरू एमाले,माले, माओवादी आदि, राप्रपा लगायत अन्य साना दलका केन्द्रीय नेताहरू स्व. मदन भण्डारी,स्व.गिरिजा प्रसाद कोइराला,माधव नेपाल,केपी ओली,प्रचण्ड,बाबुराम भट्टराई, कमल थापा आदिका भाषण वा वाक्कलामा राजनैतिक संस्कार नै नदेखिएका वा गालीयुक्त भाषणका थुप्रै दृष्टान्तहरू पाइन्छन् । प्राणको बाजि लगाएर ल्याएको प्रजातन्त्रमा नेताहरूका बिचमा अलिकति कुरो नमिल्दा बित्तिकै कुकुर र बिरालाको चाल  देखिन्छ ।

एकअर्कोमा स्वच्छ आलोचना र सकारात्मक बहस कहिल्यै सुनिदैन।कुनै पार्टीको नेताको सम्बोधनमा आफ्नो पार्टीको कार्ययोजना अथवा भावी योजना सुनाउला भन्यो आधा भन्दा धेरै आफूभन्दा अर्को  पार्टीलाई गाली गरेर समय बिताउँछ्न । विख्यात नवमार्क्सवादी लेखक नोम चोम्स्कीले  दक्षिण एसियाको राजनीतिमा देखिएको वंशवाद अनि गाली मोहलाई खेदजन्य अवस्थाको संज्ञा दिएका छन् । अझ पछिल्लो कोरोना कालमा त विपक्षी र विरोधीलाई व्यङ्ग्य र टुक्का मिश्रित गाली गरेर सायद पूर्व प्रमहरू खड्क प्रसाद ओली,माधव नेपाल र प्रचण्ड त राजनैतिक गाली प्रयोगका केन्द्रीय व्यक्ति नै  हुन् । उनीहरूको भाषणमा एक अर्कोलाई गाली गरी रिसको आगो साम्य गरेका छन् । कुनै पनि जन सम्बोधन गर्दा अधिकांश समय विपक्षीलाई गाली गरेर समय खर्च गर्छन् ।

जननेता स्व.मदन भण्डारीले आफ्नो भाषणमा उपस्थित जनमानसलाई जुरुक्कै उठाउने किसिमका विषय र कुराहरू राख्थे । त्यसमा तत्कालीन राजा र राजावादीका दलप्रति  कडा र खरो अभिव्यक्ति दिइएको पाइन्थ्यो । खासगरी मदन भण्डारीका वाक्कलामा प्रयोग भएका गालीयुक्त पद पदावलीहरू राजा र पञ्च अनि राजाको शासनप्रति लक्षित हुन्थे । पूर्व प्रम स्व.गिरिजाको कार्यकालमा पनि हिलो छ्यापाछ्याप थुप्रै हुन्थ्यो । विपक्षीहरूको भाषणमा  अत्यन्तै तल्लो स्तरको राजनैतिक चेतना नै  नभएका  गाली मिश्रित आवाज सुनिन्थे । माओवादी जनयुद्धमा त राज्यपक्षबाट र विद्रोही पक्षबाट गालीका फोहोरा नै सुनिन्थ्यो । पार्टीका बिचमा देशलाई कसरी अगाडि लैजाने होला भनेर विचार र योजनाको बहस कहिल्यै सुन्न पाइएको छैन ।

यसरी राजनीतिमा अत्यधिक गाली प्रयोग हुँदै  गएकोले आधुनिक नेपाली साहित्यमा गालीको अध्ययन र विश्लेषण गर्नु पर्ने देखिन्छ । नेपाली लोकसाहित्यको लोकवार्ता अन्तर्गत गालीलाई पनि  राखिएको छ । अब गालीको वर्गीकरण गरी राजनैतिक गाली भनी छुट्टयाई अध्ययन गर्नुपर्ने अवस्था आएको छ । नेपाली शब्दकोश  अनुसार गाली भनेको कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन हो । नेपाली समाजमा थुप्रै प्रकारका अश्लील गाली प्रयोग  गरिएको पनि पाइन्छ त्यस्तै अहिले स्वतन्त्रताको नाममा नेपालका नेता वा कार्यकर्ताले जनताको ताली खान विपक्षीलाई  सत्तोसराप हुने गरी गाली गर्ने होडबाजी छ। गालीका सम्बन्धमा डा. खगेन्द्र घोडासैनी (अछामी गालीको अध्ययन, दोस्रो संस्करण,२०७७) लेख्छ्न् – गालीको प्रयोग आवेशको शमन र दोषीलाई दण्ड दिनको लागि गरिन्छ ।” नेपाली राजनीतिमा केबल आवेशको शमन गर्न र जनतालाई भ्रम पारी ताली खान गाली गरिएको देखिन्छ ।

सभा समारोहमा उपस्थिति समूह वा भेलालाई उत्तेजित पार्न,समर्थकको ताली खान र हाइहाइ हुन आफ्नो विपक्षीलाई राजनैतिक गाली दिएको पाइन्छ। एकले अर्कोलाई  अस्तित्व नै स्विकार नगरी नाङ्गेझार पारेर गाली र बेइज्जत नगरेसम्म कुनै सम्वाद, कुराकानी,वार्ता र भाषण नै हुँदैनन्। आफू असाध्यै राम्रो अर्को अति नैअगतिलो,तुच्छ र घृणित भनेर  सत्तोसराप गर्छन्।यिनीहरूका बोलीमा चरम अश्लीलता नै देखिन्छ । जस्तै: अर्काकी छोरीलाई बोकेर हिड्ने, रास्ट्रपति उस्तै गए भई हाल्यो,लालगद्दार,फोँफोँ गर्दै हिड्ने आदि तमाम शब्दहरू छन् ।बर्तमान परिवेशमा त आफ्नो उचाईँ बढाउन अर्कोलाई जतिसक्दो तल गिराउने प्रवृत्ति नै राजनीतिमा स्थापित भएको देखिन्छ ।प्रजातन्त्र पुनःस्थापनाको तीन दशक बितिसक्दा पनि जनताले राम्रो, सुख, शान्ति र विकासका कुरा सुन्न नपाउनुको बिडम्बना नै छ। चौबीसै घन्टा, सातै दिन, महिनाभरि र वर्षसम्म एकअर्काको गाली र बेइज्जत सुनिरहेका छन् ।एकअर्का बिचमा भनाभन,गाली गलौज,असंसदीय प्रवृत्ति जस्ता अमर्यादित क्रियाकलाप देखिन्छ ।

जहिले पनि राजनैतिक अस्थिरता सिर्जना गरी नेपालमा जहाँसुकै राजनैतिक खिचातानी भन्दा अरु केही हुन सकेको छैन । टोलटोलमा, गाउँगाउँमा अन्तर पार्टी र पार्टी पार्टी बिचको कलह मात्र रहेको छ।घरपरिवारमा राजनीति, टोलमा राजनीति, गाउँमा राजनीति, शहरमा राजनीतिको अत्यधिक  प्रवेशले अन्य सम्पूर्ण विषयहरू ओझेलमा परेका छन् ।राजनीतिमा स्वच्छ आलोचना हुनुपर्छ तर नेपालमा अस्वच्छ आलोचना र गाली ज्यादा छ ।

जसले आफूलाई सर्वेसर्वा भन्छन् र आफूलाई राजनैतिक बा भनेर देवत्वकरण  गर्छन् तिनीहरूमा नै राजनैतिक संस्कार छैन । आफूले कुर्सी प्राप्त गर्नको लागि विपक्षीलाई तथानाम गाली गर्छन् ।शीर्षस्थ नेताहरू ओली, प्रचण्ड , माकुने, देउवा, वाबुराम लगायत सबैको मुखमा झुन्डिएको कुरा भनेका बेइमानी, रास्ट्रघाती, भस्मासुर,प्रतिगामी,लालगद्दार,देशद्रोही जस्ता असाध्यै नीच शब्दको प्रयोग बारम्बार दोहोर्‍याएका हुन्छन् । एक आपसमा चोँचोमोँचो मिलाउदा त्यहाँ कुनै किसिमको आलोचना हुँदैन, सबभन्दा गतिला र उदाहरणीय बनेर देखा परिरहेका हुन्छन् अनि अलिकति खटपट भयो त्यहाँ कुनै राजनैतिक संस्कार देखिदैन, बडो आश्चर्यलाग्दो दृश्य  बारम्बार देख्नुपर्छ । प्रत्येक ठूला नेताले अर्को नेतालाई वा अर्को दललाई धोखेबाज, मूर्ख, गधा आदि भनेर बेइज्जत नै गर्दछन् । प्रत्येक नेता वा तिनका चम्चा आ–आफ्नै ढंगले मौलिक पाराले गालीका गोली बनाएर झोलामै बोकेर हिँड्ने गर्दछन् ।

शब्दकोश पनि बोकेर हिँड्छन् कि जस्तो लाग्छ । किनकि बेलाबेलामा गालीका नयाँ नयाँ गोली फुत्त फुत्त निकालिरहन्छन् । अनि मौका पर्नासाथ स्वाट्ट ठोक्दिहाल्छन् ।कतिखेर कुन नेताले वा चम्चाले कसलाई गालीको गोली हान्छन्, कसैलाई थाहा पत्तो हुन्न । त्यसैले सबै प्रकारका दल र तिनका रंगीबिरंगी नेताहरूका लागि सबै किसिमका माहौलमा विविध प्रकारका गालीहरूको आवश्यकता हुन्छ । चाहे कुनै दलको मिटिङ होस्, संसद्मा होस् वा चुनावी सभा, यी सबैमा प्रत्येक माइकको आवाजमा गालीबिना नेताले आफ्नो  सम्बोधन नै अपूर्णजस्तो  मान्छ र गाली बेइज्जतको बर्षा गरि ताली खान्छ। हरेक नेताले गालीलाई आफ्नो मौलिकता नै बनाएको हुन्छ । आफ्नो कुरा राख्नु भन्दा अर्कोलाई गाली गरेर समय बिताउँछ। गाली पनि नेता र पार्टीले  एक कलाको रुपमा विकास गरेका छन् । गालीको ओज अनुसार नै यसले नेता र दलको महत्ता प्रदान गर्दछ । अर्थात् जति धेरै गाली गर्न सक्ने हुन्छ, ऊ उति नै ठूलो नेतामा दरिन्छ । जति बढी गाली गर्‍यो, चुनावमा भोट पनि त्यति नै बढी आउँछ भनी जनभ्रम सिर्जना गरी गालीकोश नै बोकेर हिड्छन् । सभा समारोहरूमा गालीको मात्रा अनुसार तालीको गड्गडाहट हुन्छ । बिनागाली त ताली बज्दैन नि हाम्रो नेपालमा । त्यसैले अर्कालाई गालीको हिलो छ्याप्न सक्ने, अर्कालाई नीचा देखाएर बोल्न सक्ने नेताहरूलाई नै महान क्रान्तिकारी र स्पष्ट वक्ताको पगरी गुथिदिने प्रचलन छ। यसरी हेर्दा हाम्रो देश गालीका गोली निर्यात गर्न सक्ने हैसियतमा पुगिसकेको देखिन्छ ।

नेपाली राजनीतिमा स्वच्छ आलोचना र स्वभाविक प्रतिस्पर्धा नभएसम्म जनताका समस्या यही राजनीतिभित्र हराउने देखिन्छ । प्रत्येक दिनको पहिलो समाचार कुनै नेताले कसैलाई यसो भन्नुभयो भन्ने गाली बोलीबाट हुन्छ । छिमेक र टोलमा विकास कसरी  गर्ने बहस छैन, शिक्षा,स्वास्थ्य र रोजगार कसरी गर्ने बारेमा बहस छैन अनि थुप्रै किसिमका असमानता र विभेदलाई अन्त्य गर्ने बारेमा बहस हुँदैन यस्तो किसिमको सामाजिक निष्क्रियताले नेपाली जनता हरेक कुरामा पछाडि धकेलिँदै छौँ ।

देशको नीति निर्माण गर्ने नेतामा नै राजनैतिक आचरण र संस्कार हुँदैन भने सर्व साधारण जनताले के पाउन सकिन्छ । यस्ता गाली र बेइज्जती गरी राजनीति गर्नेलाई कानुनी रुपमा नै कार्बाही गर्नुपर्ने अवस्था देखा परेको छ । अनावश्यक विपक्षी वा अर्को पार्टीलाई गाली बेइज्जत गर्ने जो कोही नेतालाई कानुनको कठघरामा  उभ्याउने हो भने केही चेत आउँथ्यो कि ! सभ्य र शालीन भाषामा कसैको स्वच्छ आलोचना गरिन्छ भने त्यसलाई स्वाभाविक नै मानिन्छ त्यो स्वभाव कुनै नेतृत्वदेखि कार्यकर्तासम्म  पनि छैन। नेताको पुच्छर र झोले प्रवृत्तिले गर्दा पार्टीको सबै तहमा नयाँ आचरण विकास हुन सकेन । लाखौं कार्यकर्ताको आम्दानी केही छैन तर तिनीहरूको जीवन पध्दति  ऐसआराम र मोजमस्तीमा बितेको छ ।

रातदिन पसिना बगाएर र हड्डी  पिसेर जनताले सरकारबाट  एउटा सिटामोल  पाउन सक्दैन तर जो सम्पन्न छ उसैलाई राज्यले करोडौं रुपैयाँ दिन्छ, अनि यो कस्तो प्रजातन्त्र र शासन व्यवस्था भयो । संम्विधान र कानुन एकातिर व्यवहार र बोली ठिक विपरित रहेको छ।कानुनी रुपमा  बोल्दा  वा आलोचना गर्दा कानुनले बन्देज लगाएका विषयवस्तु, व्यक्तिगत गालीगलौज वा चरित्र हत्या गर्ने शब्दावलीको प्रयोग भने हुनुहुँदैन भन्ने अनि व्यवहारमा तथानाम । वाक् स्वतन्त्रताको नाममा एकअर्कोलाई सत्तोसराप र हिलो छ्यापाछ्याप मात्रै चलिरहेको छ । सामान्यतया कसैप्रति रिस र क्रोधले उसकै अगाडि व्यक्त गरिने अपमानजनक बचन वा दुर्वाच्य गाली हो भने कसैको मान, प्रतिष्ठा, चरित्र, इज्जत र हैसियतमा आघात पुर्याउने मनसायले सार्वजनिक रूपमा गरिने अनादर वा अपमान बेइज्जती भनिन्छ।कानुनी दृष्टिले नै हेर्दा  गालीभन्दा बेइज्जतीमा कसूरको गाम्भिर्यता अलिक बढी देखिन्छ ।

मान्छे बारम्बार जस्तो बोल्छ र जस्तो क्रियाकलाप गर्छ उसको आचरण पनि त्यस्तै हुँदै जान्छ।आफू कसरी उदाहरणीय बनेर देखाउने भन्ने तरिकाले लाग्यो भने उसमा सकारात्मक सोच र असल चरित्र निर्माण हुँदै जान्छन् । उसका दैनिकीमा अश्लीलता, गाली र बेइज्जती जस्ता शब्द बारम्बार आउँदा व्यक्तिको आचरण र चरित्रमा केवल नकारात्मक भन्दा अरु देखिदैन । आजकल पूर्व प्रम ओलीको हरेक दिनको  खेती भनेको प्रचण्ड, माकुने र देउवालाई सत्तोसराप गर्न बाहेक अरुमा छैन ।कुनैदिन आफ्नो पार्टीको अबको योजना, राजनैतिक मुद्दाको बहस नै सुनिदैन । त्यस्तै माकुने र प्रचण्डको पनि ओलीलाई प्रतिगामीको बिल्ला लगाइदिएर अन्य बहस नै नगरी समय बर्बाद गरेका छन् । प्रायः सबैको अवस्था र क्रियाकलाप नै यही नै छ ।

यस्तो कुसंस्कारयुक्त ताली र गालीको लागि सबैमा चेतनाको विकास हुनु जरुरी छ।जबसम्म विकृति  र कुसंस्कारका विरुद्ध कोही बोलिदैन त्यसले निरन्तरता नै पाउँछ। पार्टीले खान देला र म मोटाउँला भन्ने राजनैतिक संस्कार हटाउनु पर्छ अब लाखौं कार्यकर्ता झोले बनेर हिड्नु पर्दैन ।पार्टीमा चम्चे, झोले र देवत्वकरण  शैली वा परीपाटीको अन्त्य गर्नुपर्छ । नेपाली जनता रोजगार, शिक्षा, स्वास्थ जस्ता सामाजिक विकास र आर्थिक उन्नतिका कुरा सुन्न आतुर छन् नकि एकअर्कोको गाली बेइज्जत, जोगी बन्न राजनीति गरिएको होइन भनिन्छ तर नाफाखोरी र कुसंस्कारी बन्न पनि राजनीति गरिनु हुन्न । राजनीति भनेको विशुद्ध समाज सेवा हो, यो पेसा होइन । समाजसेवीमा शिष्ट, सभ्य, मिठास र नम्रता हुनुपर्छ ।

राजनीतिमा ताली खान गाली नै गर्नुपर्छ भन्ने संस्कारलाई अन्त्य गर्नुपर्छ । जनताका पिरमर्का सुन्ने, दुखसुखमा साथ दिने, राजनैतिक अस्थिरतालाई अन्त्य गर्ने र जनतालाई शान्ति सुरक्षाको व्यवस्था मिलाउने चेतना नेतामा आओस् ।

बुटवल,१३ जितगढी 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार