२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ कोहार समुदायको पुख्र्यौली पेशा संकटमा

कोहार समुदायको पुख्र्यौली पेशा संकटमा

भैरहवा । तिहार नजिकिएसंगै एक कोहार दम्पतिलाई माटाका भाँडा बनाउन र बिक्री गर्न भ्याई नभ्याई भएको छ । बिहान उठेदेखि झमक्क साँझ नपरेसम्म माटोको भाँडा बनाउने काममा व्यस्त छन्, उनीहरु ।

विगत ५० वर्षदेखि पुख्र्याैली पेशाको संरक्षण गर्दै आएका दुखी कोहार र उनकी श्रीमती इश्रावती कोहार चक्रमा राखेको माटोमा कला उतार्ने गर्दछन् । उनीहरुको एउटै उद्देश्य छ, चाडपर्वको बेला सबैलाई सहजरुपमा माटोका भाँडाहरु उपलब्ध गराउने ।

अन्य समयमा माटाका भाँडाहरु फाटफुट बिक्री भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको ओमसतिया–४ बेतवलिया बस्ने उनीहरु बताउँछन । उनीहरुले बनाएको माटोका भाँडाहरु भैरहवा, ठुटिपिपल, कोटिहवा, मणिग्राम, बुटवल लगायतका विभिन्न ठाउँमा खपत हुने गरेको छ । व्यापारीहरुले तिहार अघि नै आएर अर्डर दिएका र आफुले खुद्रा बिक्री गर्न पनि माटोका भाँडाहरु बनाउने काममा दिनरात खटिएका छन् ।

तिहार र छठ पर्वलाई लक्षित गरी माटोको दियो, चौमुखे दियो, कलश लगायतका विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा उनीहरु व्यस्त छन् । भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले हप्ता अगाडी नै माटोको जोहो गर्ने गर्छन् । ‘गाउँनजिकै रहेको रोहिणी नदिमा उक्त माटो सहजै पाईने हुँदा माटोका लागि भौतारिनु पर्दैन’ उनीहरु भन्छन् ।

दुखी कोहार आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘म लगभग ६÷७ वर्षको थिए होला । बुवाले गर्दै गरेको काम देखेर मैले पनि गर्न थाले । बुवाले यसो होइन यसरी हो भनेर सिकाए । आकार पनि दिन सिके । त्यही गिलो माटोका आकार दिँदै मेरो बालापन बित्यो, युवा अवस्था बित्यो र पचास वर्ष पार गरिसक्दा पनि त्यो जोस कम भएको छैन ।’

तर कहिले कसो उनी अलिक चिन्तित देखिन्छन् । त्यो चिन्ता हो माटाका भाँडा बनाएर आफू सहित १७ सदस्यीय परिवारको जिविकोपार्जनको । आफूले संरक्षण गर्दै आएको बुवाबाजेको पुस्तैनी पेशाको उनलाई पुस्ता हस्तान्तरणको चिन्ता छ । किनकि यो पेशालाई नयाँ पिढीले अगाल्न खोजेका छैनन् । ‘बुवा, हजुरबाले गर्दै आएको कामलाई नै मैले पनि अगाडी बढाए । तर, छोराछोरीको यो काम प्रति नै चासो छैन । मेरो घरमा हामी दुई श्रीमान श्रीमती पछि यो पेशा गर्ने नै कोहि हुने छैन’, उनले भने ।

‘यो काम गर्न निकै समस्या भएको कारण पनि नयाँ पुस्ता यो काम प्रति चासो राख्दैनन्’, उनी आफै जवाफ दिदैं भन्छन् । ‘माटोसंग खेल्नुपर्छ । त्यो पनि काँचो माटो । एक त फोहोर भयो । त्यसमा झन् गाह्रो काम त्यसैले छोराछोरीहरु यस्तो काम पनि गर्ने भन्दै तर्किन्छन्’, उनले थपे ।

प्लाष्टिकको भाँडा प्रयोगले निरुत्साहन थप्दै

आजभोलि प्लाष्टिकको भाँडाको बढ्दो प्रयोगले माटोको भाँडो बनाउने पेशामा निरुत्साहन थपेको छ । घैटो, दियो, कलश लगायत माटोको भाँडा बनाएर जिविकोपार्जन गर्दै आएका उनीहरुकोे पेशामा पछिल्लो समय प्लाष्टिकका बाल्टिन, जग, डस्ट्विन लगायतका सामानमा मानिसहरुको आकर्षणले निरुत्साहन थपेको हो । त्यस्तै हिन्दुहरुको महान चाड बडा दशैं, तिहार र छठमा पनि मैनबत्ति र विद्युतीय झिलिमिली बत्तिकै बढी प्रयोग भएको देखिन्छ ।

केही वर्ष अघि मात्रै यी चाडपर्व र विभिन्न पूजापाठमा माटोका सामग्रीहरुको माग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यही प्रयोग गर्थें । फलस्वरुप उनीहरुलाई ती भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर अहिलेको समाज आधुनिकतामा रमाएर प्लाष्टिक र धातुका भाँडा तथा रेडिमेड बिजुली बत्तीहरु प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय चौपट हुन लागेको दुखी कोहार बताउँछन् ।

उनका अनुसार, करिब १० वर्ष पहिले माटोका भाँडा बनाएर एक परिवारलाई वर्षमा दुई देखि तीन लाख रुपैँया कमाई हुने गरेका थियो । तर अहिले अरु बेला खासै बिक्री नै हुदैन । भैहाल्यो भने चाडपर्वको बेला ५० हजार मुस्किलले माटोका सामाग्री बेचेर आम्दानी हुन्छ । यो पेशाले मात्रै जीवनगुजारा गर्न सक्ने अवस्था छैन । ‘माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आफूहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ’, उनले भने, ‘अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामाग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।’

आफुहरुको जातीय पेशा व्यसायीकरण नहुँदा युवा पुस्ता अन्य पेशा, व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको कोहार बताउँछन् । यासर्थ माटोका भाँडा बनाउने पेशाको व्यवसायीकारण र उनीहरुको पुख्र्यौली पेशा तथा मौलिकतालाई संरक्षण गर्न सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाहरुको पनि ध्यान पुग्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार