गृहपृष्ठ “शिर्षक बिनाको कविता”
“शिर्षक बिनाको कविता”
नमिलेको व्याकरण, अशुद्ध शब्दहरु
अलिकति मिलाउन खोज्दै भाषा
रातको दुई बजे निद्राबाट बिउझिएर
सेतो पानालाई पेन्सिलको रङले
रङ्गाउदै लेख्दै छु
शिर्षक बिनाको कविता
म लेख्न जानेका लेखकहरु भित्र पर्दिन
मलाई थाहा छ म लेखक होइन
मलाई कविताका नियम थाहा छैन
मलाई कविताका प्रकार थाहा छैन
मेरा शब्दमा दम छैन, यथार्थ छैन
खै फेरिपनी किन लेख्दै छु
शिर्षक बिनाको कविता
कविताको शिर्षक नभेटाको मैले
कथा कसरी लेख्छु होला
हिमालका कथा, पहाडका कथा,
तराईका कथा, मधेसका कथा, देशका कथा
अरे घरकी आमालाई नबुझेको मैले
देशकी आमालाई बुझेर कसरी कविता लेख्नु
तर पेन्सिल रोकिएन
झन्झन् आकार लिदै गयो बन्दै गयो
शिर्षक बिनाको कविता
हतासले हतार गर्दै जादा
एकैछिन रोकिएर सोचे लाग्यो
प्रतियोगितामा सहभागी हुनैपर्छ
म कस्तो छु, म कस्तो हु, म के गर्छु
निर्णायक मण्डलमा बस्नेहरुलाई थाहा हुनैपर्छ,
किनभने उहाँहरुले कविता लेख्नुहुन्छ,
लेखक हुनुहुन्छ
उहाँका कविताका शिर्षक पनि छन्
म धेरै लेख्न चाहान्छु
सक्छु सक्दिन मलाई थाहा छैन
म सुनाउन चाहान्छु
साथिभाईले जिस्काउने
यहि तोते बोलिको माध्यमबाट
– आफ्नै बाबू दाजुबाट बलात्कृत छोरीबहिनिको आवाज
– आफ्नै परिवार समाजबाट अपहेलित विदुवा नारी आमाको आवाज
– सडकमा हराएका कोपिलाहरुको आवाज
– पश्चिम रुकुम, कर्णाली, मधेस र मधेसी महिलाहरुको आवाज
– जात, धर्म, कला सस्कृतीको नाममा दबाईएको आवाज
मलाई बोल्नु छ, भन्नू छ, सुनाउनु छ
लेख्नु पनि छ नजानि नजानी
शिर्षक बिनाका कविता
अलिकति भएको विकासको बारेमा
म ताली बजाउदै बोल्ने छु
बस्न त म देशको राजधानीमा बस्छु
मेरा घरबेटीको घर पाँच तलाको छ
घरबेटीको घरको कोठाको लम्बाई चौडाई
पाँच फिट जेनतेन पुग्छ होला जहाँ म बस्छु
म राम्रो विद्यार्थी पनि होईन,
न विद्यार्थी राजनीति गर्न सके,
न राम्ररी प्रथम हुनेगरी पढ्न सके
म राम्रो सन्तान पनि होईन,
न बाबुआमाले देखाएको बाटो हिडे,
न आफुले आफैलाई लायक बनाए
बर्शौ भयो घर छोडेको!
दिन जागीरको लागि अन्तर्वार्ता दिदै जान्छ
रात दिनलाई सम्झिदै जान्छ
बर्शौ भयो ननिदाएको !
त्यसैले त बडो लेख्ने भएको छु
आफैले आफैलाई खोतल्ने हिम्मत छैन,
महान बन्नको लागि भएनभएका
मिल्दैनमिलेका कविता लेख्छु ।।
म बडो शान्त स्वभावको मान्छे हो
मन भित्र अनेकौं युद्ध हुन्छन्
फेरि पनि म शान्त छु,
युद्धलाई ऐतिहासिक बनाउन इतिहास लेख्दै छु ।
भाषा, लिपि मेरो क्षमताको कुरा हुँदै होइन,
छेउटुप्पो बिनाको लेखन
अलिकति सत्यता बिचकै भएपनी
किन जन्मियो, किन लेखे, कसलाई लेखे ?
प्रश्नै प्रश्नको पुर्णविराम ।
शिर्षक बिनाको कविता ।।









