गृहपृष्ठ महान पर्व बडादशैं,कोरोनाको महामारी र सत्ताको फोहोरी खेल
महान पर्व बडादशैं,कोरोनाको महामारी र सत्ताको फोहोरी खेल
विश्वभरि फैलिएको कोरोना जस्तो डरलाग्दो महामारीले नेपाल पनि अछुतो रहन सकेन । यद्यपि अझै पनि अवस्था सामान्य छैन । यसले गर्दा नेपाली जनताको आर्थिक अवस्था जटिल बनेको छ।रोजगार, व्यापार, व्यवसाय,उत्पादन आदि स्थिर छन् । यस्तै परिस्थितिमा राज्य कोरोनासंग लड्ला भन्दा एकापसमा सत्ता र कुर्सीको लडाइँमा व्यस्त देखिन्छ । सरकारलाई करिब दुईवर्ष देखि जनताको बारेमा सोच्नेसम्म समय छैन । केन्द्रदेखि प्रदेशसम्म राज्य फोहोरी खेलमा चुर्लुम्म डुबेको छ।कहिले आँखा खोल्ने हो थाहा छैन ।
नेपालीहरूको महान चाड दशैं सबैको घरभित्र पसेको छ । दशै ऋतु पर्व हो । बडादशै दशैहरू मध्ये ठूलो भएको हुनाले बडादशै भनिएको हो । खासगरी चारवटा दशै रहेका छन् । असार,पुस, आश्विन र चैत महिनामध्ये चैतमा एक दिन र आश्विनमा दशदिन धुमधामसंग मनाउने प्रचलन छ । हिन्दु र बौद्ध धर्ममा दशै पर्व मनाइन्छ । विजया दशमी भनेको दशमी तिथि मात्र हो भने दशै भनेको प्रतिपदादेखि पूर्णिमा सम्मको दिनलाई बुझिन्छ । पौराणिक कालदेखि दशै पर्व मान्न थालिएको पाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा भगवान रामले रावण माथिको विजय प्राप्तिको खुशीयालीमा विजयोत्सवका रुपमा दशमी तिथिका दिन निधारमा टीका र शिरमा जमरा लगाउने प्रचलन शुरु भएको मानिन्छ ।
त्यस्तै भगवतीले दानवीय शक्तिमाथि विजय गरेको उपलक्ष्यमा शक्तिको उपासनाको रुपमा दशैलाई मान्ने प्रचलन छ।दशैमा नवदुर्गाको नौवटा रुप शैलपुत्री, व्रम्हाचारिणी, चन्द्रघन्टा, कुशमन्डा,स्कन्दमाता,कात्यायनी,
यो पर्वलाई हिन्दुहरूको महान पर्व भनिए तापनि बौद्ध धर्मावलम्बीलेले पनि मनाउँछ्न्।बौद्ध धर्मावलम्बीले मनाउँदा भने बिधिविधान हिन्दु अनुसार नै हुन्छ ।यो पर्व बाट धेरै जीवनोपयोगी कुराहरू मान्छेले ग्रहण गरिनुपर्छ ।पर्व केवल पर्वको रुपमा मात्र सिमित गराउनु हुँदैन ।यसलाई विभिन्न आयामबाट अध्ययन गरिनुपर्छ । दशै एउटा उल्लास र उमंगको पर्व हो।दशैमा घरपरिवार र आफन्तको भेटघाटले मानिसलाई थप ऊर्जा पैदा दिन्छ।दशैको अवसरमा छरछिमेक, नातेदार, साथीभाइको भेटघाट बाट मान्छेलाई खुशी ल्याउँछ ।
दशैले खुशी ल्याउला भन्दा धेरै नेपालीको घरमा दशा पनि ल्याउँछ।राज्यले ठूलो पर्व धूमधामसंग मान्न सार्वजनिक विदा पनि दिन्छ।सरकारी र अधिकांश निजी कम्पनी वा संस्थामा काम गर्ने कर्मचारीले मासिक तलबसहित दशैंमा एक महिना बराबरको भत्ता पनि पाउँछन् । सम्पन्न वर्ग र कर्मचारीले त सरकारी नियमअनुसार भत्ता पाएर दशै धुमधाम मनाउन सक्ने भए तर गरिब, दीनदुखी,असहायको लागि राज्यले कहिल्यै केही सोचेको देखिंदैन । नेपाली जनता सबै एउटै हुन् ,कसैलाई मिठो मसिनो खान,नयाँ कपडा लगाउन मन लाग्ने कसैलाई नलाग्ने भन्ने पक्कै होइन होला । राज्यले यस्ता महान पर्व मनाउनको कर्मचारीलाई जस्तै सर्वसाधारणको लागि उपयुक्त प्रत्यक्ष वा परोक्ष रुपमा सहुलियत वा भत्ताको व्यवस्था गर्नुपर्छ ।
आफ्नो देशमा प्रचलित सम्पूर्ण पर्वको रक्षा गर्नु राज्यको पनि दायित्व हो । नेपाल बहुजातीय ,बहुधार्मिक,बहुसांस्कृतिक मुलुक हो । यो नेपालको पहिचान पनि हो । राज्यले कुनै पनि संस्कार,परम्परा,धर्म र पर्वलाई काखा र पाखा गरिनु हुँदैन । जनताले आफ्ना पर्व मान्दा राज्यले पनि राज्य भएको अनुभूति दिलाउनु पर्छ । करिब दुई वर्षदेखि नेपाली जनताहरू कोरोनाले गर्दा आक्रान्त छन् । सरकार र जनप्रतिनिधि एकापसमा सत्ता र कुर्सीको लडाइँमा छन् । कुनैदिन नेपाली जनताका गाँस,बास र कपासका कुरा संसदमा हुदैनन् । संसद भनेको भत्ता पकाउने थलोमात्र भएको छ । दैनिक नारा जुलुस लगाएर जनताको करबाट उठेको रकम भत्ताको रुपमा जनप्रतिनिधिहरू खाइरहेका छन् । अनि नेपाली जनताले दशैं खुशीसाथ मनाउन सक्छन् ? देश करिब दुई वर्षदेखि कोरोनाको महामारी र राजनैतिक फोहोरी खेलमा रुमल्लिएको छ । राजनैतिक अस्थिरताले सबै पक्ष ठप्पजसो छन्, जनताको आर्थिक अवस्था स्थिर र घटिरहेको छ। यस्तो अवस्थामा नेपाली जनताले कसरी दशैं मनाउन सक्छन् ।
राज्यले संकट समाधान गर्ला भन्दा समस्या थप्दै गइरहेको छ । दशैं लगायतका ठूला पर्व धूमधामसंग मान्न देशको आर्थिक क्रियाकलापको महत्त्वपूर्ण भूमिका हुन्छ । मानिसको आम्दानीका लागि उत्पादन, रोजगार, लगानी,व्यापार जस्ता कुराहरू अन्तर्निभर हुन्छन्, अहिले कोरोना र राजनैतिक खिचातानीले धेरै कुराहरू स्थिर छन् यसैले जनताको आम्दानी छैन र दशैं पनि रमाइलो हुन सक्दैन । यसपालि आफूसंग जे जस्तो सामर्थ्य छ, त्यसै अनुसारको दशै मनाऔँ । अन्त्यमा, दुर्गामाताले राज्य र जनप्रतिनिधिलाई सद्बुद्धि दिऊन् । कोरोना जस्तो महामारी भागोस् । सम्पूर्ण देश विदेशमा रहनु भएका नेपालीहरूलाई बडादशैको हार्दिक मंगलमय शुभकामना ।
बुटवल -१३, जितगढी






