२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ अमेरिकामा नेपाली भाषा,संस्कार र संस्कृतिको विकास र बिस्तारको अवस्था

अमेरिकामा नेपाली भाषा,संस्कार र संस्कृतिको विकास र बिस्तारको अवस्था

आज नेपालीहरू संसारभरि छरिएर बसेका छन् । संसारका प्रायः सबै मुलुकमा नेपालीको बसोबास रहेको छ।नेपालीहरू विभिन्न कारणले आफ्नो देश छोडेर विदेशिएका छन् । अध्ययन, पेशा, व्यवशाय, व्यापार, रोजगार, पर्यटनको लागि विदेशिएका छन्। यी र यस्तै कारणले संसारको समुन्नत, शक्तिशाली, विकसित र सपनाको मुलुक भनिने संयुक्त राज्य अमेरिकामा पनि नेपालीहरूको  बसोबास रहेको छ । सपनाको मुलुक अमेरिका भन्ने जुन भनाइ थियो, अब त्यस्तो अवस्था चाहिँ छैन, संसारका अन्य मुलुक पनि सपनाका मुलुक बनेका छन् । आज चीन, क्यानडा, जर्मन, फ्रान्स, रसिया, अस्ट्रेलिया आदि पनि सपनाको मुलुक बनेका छन् ।

वैधानिक रुपमा करिब तीन लाख नेपालीहरू अमेरिकामा बसोबास गरेका छन् भने अवैधानिक रुपमा करिब दुई लाख रहेका छन् भनिएको छ । यसरी करिब पाँच लाख नेपालीहरू अमेरिकामा रहँदा आफ्नो भाषा,धर्म, संस्कार र संस्कृति जगेर्ना गरेका छन् । केही वर्ष पहिले अन्य एसियन भनेर परिचित नेपालीहरू आज नेपाली नै भनेर चिनिएको अवस्था छ । नेपालमा पश्चिमी सभ्यताको अन्धानुकरण बढ्दै गएको सन्दर्भमा अमेरिकन नेपालीहरू आफ्नै सभ्यता र संस्कृतिलाई नै प्रधानता दिएको देखिन्छ । अमेरिकन संस्कृतिलाई सोझै स्विकार गरेको अवस्था छैन । नयाँ पुस्तामा वाध्यतावश धार्मिक,सांस्कृतिक मिश्रण पनि देखिन्छ । नेपालबाट आउँदा ८ र १० वर्ष उमेर भइसकेको बच्चाले नेपाली संस्कारलाई भुलेको पाँइदैन भने अमेरिका नै जन्मेका बच्चालाई नेपाली भाषा र सभ्यता सिकाउनुं पर्छ । धेरै बालबच्चाहरू विद्यालयमा बाहेक घरमा अभिभावकसँग नेपाली नै बोल्छन् । अमेरिकामै बसेर पनि नेपाली भाषा, कला, साहित्य, खेलकुदमा धेरै नेपालीहरूले योगदान दिएका छन्।

आज विश्व २१औं शताब्दीमा प्रवेश गरिसकेको छ । प्रविधिले विशाल विश्वलाई सानो बनाइ दिएको पनि छ । सेकेन्ड भरमा मान्छेले विश्वको कुनै पनि ठाँउको घटना वा  समाचार थाहा पाउन सक्छ ।मान्छे भौतिक रुपमा उपस्थित नभए पनि कुनैपनि ठाँउबाट संसारका प्रायः सबै कुरा अध्ययन गर्नसक्छ । कुनै कुरा जान्न वा पढ्न भौतिक रुपमै उपस्थित हुनुपर्ने अवस्था छैन । तर पनि मानिसहरू सभ्यताको सुरुवातदेखि नै विभिन्न कारणले एक ठाँउबाट अर्को ठाँउ  बसाइँसराइ गर्ने परम्परा रहिआएको छ। आज नेपालीहरू संसारका प्रायः सबै मुलुकमा बसोबास गरेको पाइन्छ।अधिकांश नेपालीहरू रोजगारीकै लागि विदेशिएको देखिन्छ भने केही अध्ययन र केही स्थायी बासिन्दा भएर विदेशिएको पाइन्छ।

नेपाल जस्तो विकासोन्मुख देशबाट धेरै नेपालीहरू अमेरिका आएका छन्। विशाल र विकसित अमेरिकामा पनि सानो मुलुक नेपालका नेपालीहरूले आफ्नो भाषा,धर्म र संस्कार र संस्कृतिलाई जोगाउने,बचाउने र मनाउने गरेको देखिन्छ । कुनै बेला नेपाली नबोलेर अङ्ग्रेजी मकैका फुला सरी बोल्न जान्ने हो भने त आकाशै छोइन्छ कि जस्तो लाग्थ्यो । नेपालमा अझैपनि छोराछोरीलाई पनि निजि बोर्डिङ पढाउनुको मूल उद्देश्य भनेको अङ्ग्रेजी बोल्न सकून् भन्ने छ। तर यता अमेरिकामा बस्ने नेपालीहरूलाई आफ्ना छोराछोरीले नेपाली बोल्न सिकून् र जानून् भन्नका लागि अभिभावकहरू नेपाली विद्यालयहरू सन्चालन गरेका छन् । स्वाभाविक रुपमा बच्चाबच्चीलाई नेपाली प्रयोग गरिएन वा सिकाइएन भने कतै बोल्न र बुझ्न नजानेर आफ्नो बाबुआमा र छोराछोरीको बिचको नेपाली भाषामा  कुराकानी नै नहुने हो कि भन्ने आशंका लागेर बच्चालाईलाई नेपाली भाषा पढाएको पाइन्छ । अमेरिकाको टेक्सास, सिकागो, कनेक्टिकट,ओहायो, मेरिल्याण्ड,भर्जिनियामा संस्थागत रुपमा नेपाली समुदाय मिलेर नेपाली पाठशालाहरू सञ्चालन गरिएका छन् । यी पाठशालाहरूमा आफ्नै पाठ्यक्रम र श्रव्य दृश्य सामग्री बनाएर नेपाली विद्यार्थीलाई नेपाली भाषाको साथै धर्म, संस्कार र संस्कृतिका बारेमा अध्ययन गराइन्छ। नेपाली पाठशालामा समय समयमा नेपालका विभिन्न जातजातिले मान्ने सांस्कृतिक पर्वहरूको प्रस्तुति र प्रदर्शनी पनि गरिएको हुन्छ ।

भाषा विचार विनिमयको साधन हो।नेपालमा अङ्ग्रेजी भाषालाई  साध्य नै बनाउन खोजिएको देखिन्छ। अङ्ग्रेजी भाषाले विद्यार्थीको सम्पूर्ण समय खर्चिएको देखिन्छ। कक्षाकोठा वा सिकाइ क्रियाकलापमा भाषाभन्दा विषयलाई प्राथमिकता दिनुपर्छ। भाषा भन्ने कुरा अभ्यासबाट पनि सिक्न सकिन्छ । अङ्ग्रेजी भाषाको जटिलताले विद्यार्थीहरू सिर्जनात्मक र व्यावहारिक शिक्षा भन्दा पनि घोकन्ते र प्रमाणपत्रधारी शिक्षा ग्रहण गर्न बाध्य भएका छन्। विद्यालय वा कलेजमा अङ्ग्रेजी भाषालाई भन्दा सम्बन्धित विषयकको ज्ञानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

अमेरिकामा करिब ३५० देखि ४३० भाषा बोलिन्छ्न् जसमध्ये एउटा भाषा नेपाली पनि स्थापित भइसकेको छ। अमेरिकाको अधिकांश राज्यमा नेपाली भाषीको बसोबास रहेको छ।अमेरिकाका पचास राज्यमध्ये धेरै नेपाली बसोबास गर्ने राज्य तथा शहरमा टेक्सास, न्युयोर्क, भर्जिनिया, मेरिल्याण्ड, सिकागो, पेन्सलभेनिया, क्यालिफोर्निया, सनफ्रान्सिस्को, ओहायो, लस एन्जल्स आदि हुन् । औपचारिक रुपमा पसल,सार्वजनिक यातायात र कार्यालयमा अनिवार्य रुपमा बोल्नै पर्ने भएमा बाहेक नेपालीहरू एकापसमा बोल्दा नेपाली भाषा नै प्रयोग गरिएको पाइन्छ।नेपाली मात्र नभएर अधिकांश अमेरिकनहरू आफ्नै मातृभाषा प्रयोग गर्छन् । विद्यालयहरूमा पनि विद्यार्थीको मातृभाषा कुन हो भनी सकभर भाषिक जटिलता नहुने तरिकाले शैक्षणिक क्रियाकलाप गराइन्छ। अधिकांश निजि तथा सरकारी कार्यालय, बैंक, बित्तीय संस्था, विद्यालय र कलेजहरूमा सामान्य जानकारी लागि नेपाली अनुवादकको व्यवस्था पनि गरिएको पाइन्छ । यसैले अमेरिका बस्दैमा नेपाली बोल्नै नपाइने अथवा प्रयोग गर्न नसकिने भन्ने छैन । अमेरिकामा नेपाली बोल्दैमा अरुले खिसी गर्छन् कि वा केही भन्ने हुन् कि भनेर नेपालीहरूले हीनताबोध गर्नु पर्ने अवस्था छैन।

नेपालीहरू अमेरिकामा आआफ्नो धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गरेका छन्।अमेरिकाको प्रायःराज्य वा मुख्य शहरमा नेपाली समुदाय संगठित रुपमा सञ्चालन छन्।नेपाली समुदायले विभिन्न पर्व र संस्कारहरू सामुहिक रुपमा मनाउने प्रचलन छ। नेपालीहरूले तीज, रक्षा बन्धन, दशै, तिहार, देउसी र भैलो, छठ, बुद्ध जयन्ती, नागपञ्चमी, होली, उभौली, उधौली आदि थुप्रै पर्वहरू सामुहिक रुपमा  मनाउँछ्न् । नेपालीहरूले आफ्नो समुदायमा विभिन्न देवी देवताहरूका मन्दिरहरू बनाएका छन्। कृष्ण मन्दिर, दुर्गा मन्दिर, हिन्दु र बुद्ध मन्दिर आदिमा दैनिक  पुजेरीद्वारा नित्य पूजापाठ र पर्वका दिनमा विशेष पूजा हुन्छ ।

अमेरिकामा नेपालीहरूले आफ्नो भाषा धर्म,संस्कार र संस्कृतिलाई जगेर्ना गर्न समय समयमा  विभिन्न धार्मिक, सांस्कृतिक, साहित्यक कार्यक्रम  गरेका छन्। अमेरिकामा नेपालीको बसोबास कहिलेदेखि भएको हो भनेर  इतिहास नै खोतल्ने हो भने अमेरिका आउने पहिलो नेपाली जनरल कृष्ण बहादुर राणा हुन् भनिएको छ। उनी राणाकालीन राजनीतिज्ञ,आर्मी चिफ र कोतपर्वका एक नाइके पनि हुन् । उनी सन् १९३९ तिर अमेरिका आएका थिए तर अमेरिका आएर ग्रिनकार्ड पाउने पहिलो रमेश मल्ल हुन् उनी सन् १९६२ मा अमेरिका आएका थिए । कानुनीरुपमा नै नेपालीहरू अमेरिका आउन थालेको करिब ६० वर्ष भएको छ। अमेरिकामा सन् १९५७ पूर्व नेपालीहरूलाई अन्य एसियनको श्रेणीमा राखिएको थियो। एक तथ्यांक अनुसार सन् १९९६ पूर्व प्रत्येक वर्ष  एकसय भन्दा कम नेपाली अमेरिका आउने गर्थे ।

सन् १९९० को जनगणना अनुसार अमेरिकामा जम्मा ४३१ जना नेपाली अमेरिकाको  स्थायी बासिन्दामा सूचीकृत भएका थिए। अहिले अमेरिकामा प्रत्येक वर्ष करिब तीन  हजार ग्रिनकार्ड बाहक, करिब पन्ध्र हजार विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि अनि पारिवारिक भेटघाट, घुमफिर आदिका लागि जम्मा  वार्षिक करिब बीस हजार आएको देखिन्छ । सन् १९४७ मा नेपालले अमेरिकासङ्ग कुटनैतिक सम्बन्ध स्थापित गरेको थियो भने सन् १९५९ मा अमेरिकाले काठमाडौंमा दुतावास  खोलेको थियोे। वैधानिक रुपमा नेपालीहरू अमेरिका आउन थालेको करिब छ दशक पुरा भइ सकेको छ। वैधानिक र अवैधानिक रुपले अमेरिकामा यो संख्या पाँच लाख भइ सकेको परिप्रेक्ष्यमा यो संख्या बढ्नु पक्कै पनि राम्रो पक्ष होइन।

नेपालमा बसेर संसारलाई नियाल्न सकिने बर्तमान परिप्रेक्ष्यमा अबको गन्तब्य आफ्नै मुलुक बनाउनु पर्ने छ।संसारका सबै मुलुकमा पुगेका नेपाली अब संसारका सबै मुलुकको आकर्षक र गन्तब्य मुलुक नेपाललाई बनाउनु पर्छ भन्ने सन्देश दिनुपर्छ । अबको हाम्रो दायित्व भनेको  संसारमा सपनाको मुलुक नेपाल पनि हो भनी चिनाउनु छ। अबको उद्देश्य भनेको अर्को देशलाई सपनाको मुलुक बनाउने होइन आफ्नै देशलाई अमेरिका र सिङ्गापुर बनाउनु पर्छ। नेपाललाई सपनाको मुलुक बनाउने उद्देश्यका साथ एकजुट हुनुपर्छ ।ने पालीहरू बाहिर गएर अरू देशलाई सपनाको मुलुक बनाएका छन् भने आफ्नै जन्मभूमिलाई नसकिने भन्ने हुनै सक्दैन। यो देशमा सबैको  दृढ शंकल्प  मात्र हुने हो भने सपनाको मुलुक बन्न समय लाग्दैन। देश बाहिर बसेर गर्व पटक्कै छैन। देश नछोडी आफ्नै देशमा रगत र पसिना बगाउनु पर्छ अनि मात्र देश समृद्धि र समुन्नत हुन्छ। अबको पहिलो  बहस भनेको देश छोड्ने होइन देश छोडेकालाई कसरी  स्वदेश फर्काउने भन्ने हुनुपर्छ ।

अमेरिका, चीन, जर्मन, क्यानडाजस्ता मुलुक यत्तिकै समृद्ध र विकसित देश भएका होइनन् । एउटा अठोट र दृढ संकल्पबाट बनेका हुन्। देश विकासको लागि कर्मचारी प्रशासन,नेता,नेतृत्व र आम नागरिकमा राष्ट्रियता र देशभक्तिको भावना हुनुपर्छ। नेपाल जस्तो मुलुकलाई समृद्ध बनाउन राजनैतिक स्थिरता कायम गरी भ्रष्टाचारलाई  अन्त्य गर्नुपर्छ। नियम कानुनको परिधिभित्र बसी विकासलाई मूल मन्त्र ठान्नु पर्छ। संसारमै प्रकृतिले नै रमणीय र सुन्दर बनाइ दिएको नेपाललाई  अमेरिका, जापान र सिङ्गापुर बनाई आकर्षण र पर्यटकीय गन्तव्यको एक नम्बर बनाउन सकिने धेरै सम्भावना छन् । नेपालको चिन्ता र परदेशको पीडा बोकी आफ्नो जन्मभूमि छोडेर विदेश पलायन हुन कसैलाई रहर हुँदैन। राज्यले विकासका पूर्वाधारहरू बाटो, बिजुली,खानेपानी तथा मानिसका न्यूनतम आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गरिदिन सक्नुपर्छ नेपालीले आफ्नै देशलाई स्वर्ग र विश्वको सपनाको मुलुक बनाउँछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार