गृहपृष्ठ आगामी स्थानीय निर्वाचन र जनताको भूमिका
आगामी स्थानीय निर्वाचन र जनताको भूमिका
राजेन्द्र पन्थी । नेपाल सरकारले आगामी स्थानीय निर्वाचनको लागि २०७९ साल वैशाख ३० गतेको लागि मिति घोषणा गरेको छ। सम्पूर्ण दलहरू निर्वाचनको लागि स्थानीय तहमा आफ्नो घोषणा पत्र सहित होमिसकेका छन्। नेपालको नयाँ संविधानको निर्माण भएपछि अबको निर्वाचन दोस्रो पटक हुँदैछ।स्थानीय तहको पहिलो कार्यकाल लगभग सकिँदै छ । निर्वाचन भनेको लोकतन्त्रको सुन्दर पक्ष हो। निर्वाचनमा जनताले आफूलाई मन परेको जनप्रतिनिधिलाई रोज्ने अधिकार हुन्छ। निर्वाचन भनेको राम्रो जनप्रतिनिधिलाई अझै सम्मान र गलत प्रतिनिधिलाई दण्ड दिने मौका हो। आम जनताको भविष्य निर्माण गर्ने भनेका जनप्रतिनिधि नै गलत पर्न सक्ने हुनाले निर्वाचनमा संवेदनशील बनी मतदान गर्नुपर्छ । नेपालको नयाँ संविधान निर्माण भएपछि स्थानीय तहको पहिलो कार्यकाल सकिँदै हुनाले यस कार्यकालमा जनप्रतिनिधिले जनताको पक्षमा के कति काम गरे वा गरेनन् भनेर मूल्यांकन गरी तिनैलाई दोहोर्याउने वा नयाँलाई जिताउने भन्ने कुरामा गम्भीर भई निर्णय गरी मतदान गर्नुपर्छ।
दलहरूलाई जनताले पटक पटक विश्वास गरेर निर्वाचित गर्दा पनि जनप्रतिनिधिबाट जन सरोकारका बारेमा उल्लेखनीय कुनै किसिमका कार्य हुन सकेनन्। स्थानीय तहदेखि केन्द्रीय तहसम्म भ्रष्टाचारले जरो गाडेको छ । अबको निर्वाचनमा नेपाली जनताले यस्ता दल वा प्रतिनिधिलाई जनताका अगाडि पर्न नसक्ने तरिकाले झड्का दिनुपर्नेछ ताकि उनीहरूमा सिद्धान्त, निष्ठा र उत्तरदायीपनको सचेतना पैदा होस्। निर्वाचन प्रणालीमा देखिएको मनिवालले विकृति, विसंगति, भोटको किनबेच,अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँदा जनताले चाहेजस्तो प्रतिनिधि पाउन सकेका छैनन्। दलहरूको असक्षमता र लाचारी प्रवृतिले जनताले सक्षम जनप्रतिनिधि पाउन सकेको छैन।
अब नेपाली जनताले दललाई मौका दिने अवस्था छैन,दलहरू सच्चिनु पर्छ नत्र यसपाली जनताले राम्रै अस्त्र प्रयोग गर्नु पर्नेछ। दलबाट आएका टीके र झोलेहरूलाई आँखा चिम्लेर मतदान गर्नुहुन्न। आफ्नै गाउँ, टोल र समाजसँग मिल्न सक्ने सामाजिक भावना भएको व्यक्तिलाई निर्वाचित गरिनुपर्छ। पैसावालका पछि लागेर दुईचार सय पैसा, दुई-चार चोक्टा मासु वा दुई-चार लिटर पेट्रोलको आशमा देशको भाग्य र भविष्यलाई आफू भोटको मेसिन बनी बेचिनु हुन्न। हामी वर्षौँसम्म व्यवस्था परिवर्तनका लागि लड्यौँ अब अवस्था परिवर्तनका लागि लड्नुपर्छ।
समाजको गुणात्मक परिवर्तनको लागि एक पटक सोच्ने बेला आएको छ। मनमा इच्छाशक्ति भए सजिलै काम गर्न सकिन्छ भन्ने कुरा भारतको नयाँ पार्टीले देखाएको छ। अब हामी नेपालीले पनि भारतमा जस्तै नेपालमा पनि नयाँ केजरीवालहरू अगाडि सारी वर्षौँ पैसावाल बनी जुको गडेजस्तै गडेका भ्रष्टाचारीलाई दिल्ली र पन्जाबमा कुचो लगाएर सफा गरेजस्तै फोहोर र दुर्गन्धलाई हटाई नेपालीवाल बन्नुपर्छ। अहिले गाउँ गाउँमा थुप्रै सक्षम र योग्य नयाँ पुस्ताले उम्मेदवारको घोषणा गरिसकेका छन्। तिनीहरूलाई नेपालीको मनमुटुमा बस्ने नेपालीवाल बन्ने अवसर दिनुपर्छ। आशा छ यी नयाँ नेपालीवालहरूले देश र राष्ट्रको समृद्धिको लागि योगदान गर्नेछन्।
अब नेपाली जनताले भर्खरै भारतको पन्जाबको विधानसभा निर्वाचनको पनि परिणामलाई अनुशरण गर्नु पर्ने देखिन्छ। पन्जाबमा काङ्ग्रेस आई जस्तो पुरानो र स्थापित पार्टीलाई हराउँदै केजरीवालको नयाँ पार्टीले दुईतिहाई सिट हात पारेको छ। भ्रष्टाचार विरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा पुराना स्थापित दलहरूलाई पछि पार्दै विगत सात वर्षदेखि लगातार मुख्यमन्त्रीमा अरबिन्द केजरीवाल रहेका छन्। अन्ना हजारेको सामाजिक आन्दोलनमा सक्रिय रहेका केजरीवालले सन् २०१२ नोभेम्बर २६ मा आम आदमी पार्टी(आप) गठन गरेका थिए। उनको पार्टी स्थापना भएको १० वर्षमा नै भारतको एउटा प्रसिद्ध राज्य पन्जाबमा पनि दुईतिहाई मतसहित विजयी भयो। पन्जाबमा सन् २०१७ मा २० सिटमा सीमित आपले जम्मा अहिले ११७ मध्येमा ९२ सिटमा जित हासिल गरेको छ। पन्जाबमा बाँकी सिटमा काङ्ग्रेसले १८, भाजपाले २ र अकाली दलले ३ सिट हासिल गरेका छन्। पन्जाबमा काङ्ग्रेस आईलाई विस्थापित गर्दै आम आदमी पार्टीका नेता भगवन्त मान १७औं मुख्यमन्त्रीको रुपमा पदासिन भइसकेका छन्।
आगामी स्थानीय निर्वाचनमा नेपाली जनताले धेरै सोच्नु पर्ने अवस्था छ।लोकतन्त्रमा शक्तिशाली भनेका जनता नै हुन्। जनताले चाहे भने जस्तोसुकै पुरानो पार्टीलाई पनि पत्तासाफ गर्न सक्छन्।भारतको दिल्ली र पन्जाब राज्यमा १० वर्षमा पुराना पार्टी भनिएका काङ्ग्रेस र भाजपालाई नाङ्गेझार पारिसकेका छन्। यसै बाट थाहा पाउन सकिन्छ जनताले चाहे भने कसैको केही लाग्दैन। आम आदमी पार्टीले दिल्लीमा विजयी हासिल गरेपछि दिल्लीका जनताको मुहार फेरिएको छ। दिल्लीमा बिजुली र पानी नि:शुल्क छ। सार्वजनिक बसमा महिलालाई छुट छ।सरकारी विद्यालयमा आधुनिकीकरण र ज्येष्ठ नागरिकलाई बस्न, घुम्न व्यवस्थित पार्कहरूको निर्माण गरिएका छन्। यस्ता थुप्रै जनप्रिय र जनसमस्याका काम गरेर आप पार्टी लोकप्रिय बनेको छ।
नेपालमा प्रजातन्त्रको पुनः बहाली भएको ३२ वर्ष र गणतन्त्र आएको १४ वर्ष हुँदा समेत जनता खासै केही पाउन नसकेको अवस्थामा दलका टीके र झोलेको पछाडि नलागी एउटा इमान्दार र क्षमतावान जनप्रतिनिधिलाई निर्वाचित गर्नुपर्छ। अब भोट खरिद गर्न आउने दाम वा मनिवालाको युगलाई अन्त्य गरी मनवालाको युगको शुरूवात गर्नुपर्छ। निर्वाचन नजिकै आउँदा फेरि दलहरू आश्वासनका पोका लिएर जनभ्रमको खेती गर्न आउँछन्। यस्तो अवस्थामा हरेक नेपाली जनता अत्यन्तै चनाखो हुनुपर्नेछ। जनप्रतिनिधिले चाह्यो भने जनताका आधारभूत आवश्यकताका साथै भौतिक पूर्वाधारका कामहरू गर्न सक्छ भन्ने कुरा केजरीवालबाट थाहा पाउन सकिन्छ। उनले दिल्लीमा भएको भ्रष्टाचारलाई शुन्यमा झारेर त्यस पैसालाई जनताका पक्षमा काम गरिरहेका छन्। दिल्लीको मुख्यमन्त्री जस्तो उच्च पदमा रहँदा समेत उनी हरेक समय जनताको घर आँगनमा पुगेको देखिन्छ। उनको बोली, रहनसहन र पहिरन पनि आम जनताको जस्तै रहेको छ। केजरीवाल र जनताका बिचमा विशाल आर्थिक खाडल छैन भनिन्छ अर्थात केजरीवालको जीवनयापन सामान्य छ। यसकारण उनी जनताको मन मुटुमा बस्न सफल भएका छन्।
हामीलाई पनि नेपालीको जनजनमा बस्ने नयाँ केजरीवाल चाहिएको छ।गणतन्त्रको एक कार्यकाल नेपाली जनताले हेरिसकेको अवस्थामा अब कसले काम गर्न सक्छ वा सक्दैन भन्ने कुरा निर्क्यौल गरिनुपर्छ। ७५३ स्थानीय निकायका सबै जनप्रतिनिधि भ्रष्ट छन् भन्न खोजिएको हैन। कतिपय जनप्रतिनिधिहरू मझेरीवाल पनि छन् जो जनताको मझेरी मझेरीमा पुगेर सेवा गरेका छन्। अबको निर्वाचनमा हामीलाई कसैले झुक्यायो वा झुक्कियो भनेर छुटकारा पाइने अवस्था हुनेछैन। अब नेपाली जनता भोट हाल्ने मेसिन बन्ने होइन सचेत नागरिक रुपमा देखिनुपर्छ। नारा,भाषण,घोषणा पत्रको राजनीतिक परिवर्तनले जनताको परिवर्तन हुन सक्दैन।राजनैतिक विकृति र विसङ्तिले देश चुर्लुम्म डुबेको छ।
गाउँ गाउँमा सिंहदरवारका नाममा आज एउटा राजा हटाएर हजारौं राजा बनेको सन्दर्भमा गाउँ शहरमा जताततै भ्रष्टाचारको बिगबिगी देखिएको छ। केन्द्रदेखि स्थानीय तहसम्म फैलिएको भ्रष्टाचारको जालोलाई चुडाल्ने एउटा महत्त्वपूर्ण अस्त्र भनेको कानुनत गरिने दण्ड र सजाय नै हो। पटक पटक नेपाली जनतालाई भ्रममा पारी प्रलोभन र आश्वासन दिएर अवस्था जहाँको त्यहीँ नै रहेको छ । यस्तो परिस्थितिमा अब पनि नेपाली जनताले नसोची बिक्री भएर उहीँ पुरानै दल वा व्यक्ति भन्दै गीत गाउनु बेकार हुनेछ। हरेक मतदाताले विगतको कामको एक एक समीक्षा गरेर मतदान गर्नुपर्छ । यो मतदान भनेको आफ्नो भविष्य निर्माण गर्ने हुनाले हाम्रो होइन राम्रोलाई चयन गर्नुपर्छ। आगामी निर्वाचनमा भारतको केजरीवाल जस्तै मझेरीवाललाई रोजौँ र निर्वाचित गराऔँ । निर्वाचनको अन्तिम निर्णायक भनेका जनता नै हुन्।
(हाल : भर्जिनिया, अमेरिका)





