२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ के हाम्रै पालामा समृद्ध नेपाल नबन्ला र ?

के हाम्रै पालामा समृद्ध नेपाल नबन्ला र ?

नेपालको बेथिति अत्यन्तै डरलाग्दो अवस्थामा पुग्न लागेको देखिन्छ। एकथरीले अब श्रीलंका बन्दै छ भन्छन् भने अर्कोथरी डराइ हाल्नु पर्ने अवस्था छैन भन्छन्। तथ्यांक पनि व्यक्तिपिच्छे फरकफरक देखिन्छ। वास्तविकता कसले भनेको पत्ताउने हो थाहा छैन। जे होस् देशको सामाजिक,आर्थिक र सुशासनको अवस्था अत्यन्तै दयनीय नै छ। अहिले त हुँदाहुँदा देशमा थिति कहाँ र केमा छ भनेर भेटाउन नसकिने अवस्था छ। जता हेर्यो अन्याय, अत्याचार, भ्रष्टाचार, दूराचार, अनियमितता, विकृति, विसंगति मात्रै देखिन्छ। देशै चलाउने सिङ्गो संस्था सरकार नै भए नभएको अनुभूति नै छैन। सुशासन र समृद्धि कुन चरीको नाम हो थाहा नै छैन। राजनीतिक दलहरूलाई कुर्सीको भागबन्डा गर्न नै ठिक्क छ। दलहरूले सरकारलाई मासुको बिलो लगाएर बाँडे झैँ बाँडिरहेका छन्।

देशको विकास र जनताको सुखशान्ति भन्दा पनि सबै नेतालाई भाग पुर्याउनको मन्त्रीहरू बनाउने गरिएको छ। देशको मूल मियो कार्यपालिका नै विकृतिमा चुर्लुम्म डुबेको छ। कार्यपालिकाको प्रभाव राज्यका सबै अङ्ग र निकायमा पर्नाले देशले गति लिन सकेको छैन। प्रजातन्त्रको पुनः प्राप्ति भयो, गणतन्त्र पनि आयो, गणतान्त्रिक संबिधान पनि बन्यो तर देश बन्न सकेन। अहिलेको पुस्ता त अस्थिर राजनीतिमा जन्मेर अस्थिरतामै समय बिताइरहेको छ। अब त देश बन्ला र सुखको सास फेर्न पाइएला भन्दाभन्दै र कुर्दाकुर्दै जहिले पनि जस्ताको त्यस्तै छ। अब यसपछि बन्ला भन्यो फेरि हालत उही दोहोरिन्छ। अहिलेको युवा पुस्ता अत्यन्तै निराश भएर जीवन बिताउन बाध्य छन्। विश्वकै उत्कृष्ट शासन व्यवस्था आउँदा समेत जनताको जीवनमा उल्लेखनीय परिवर्तन हुन नसक्दा नेपाललाई कसैले सरापेर नै समृद्ध र विकसित देश बन्न नदिएको त होइन जस्तो लाग्छ। अब के हाम्रै पालामा नेपाल विकसित देश बन्न नसक्ने हो र ? भन्ने कुराले युवाहरूको मनमा निराश र आशंका छाएको छ।

नेपाली जनताले कागजमा सम्वैधानिक र कानुनी रुपका सबै कुरा प्राप्त गरे। तर, व्यवहारमा केही पाउन सकेनन्। प्राकृतिक श्रोत र साधनले देश सम्पन्न छ। हिमाल,पहाड र तराईको भौगोलिक बनावटले पनि देशलाई सुन्दर बनाएको छ। उत्पादनको दृष्टिकोणले सबै कुराको उत्पादन पनि हुन्छ।देश सानो र आकर्षक छ। यति धेरै कुराले साथ दिँदादिँदै पनि देशको विकास र जनताको गुणस्तरीय जीवनको दृष्टिकोणले विश्वका अन्य देशको तुलनामा नेपाल धेरै पछाडि परेको छ। एउटा ठूलो चिन्ताको विषय त के देखिन्छ भने देशले विकासको गोरेटोसम्म पहिल्याउन सकेको छैन। एउटा गोरेटो पहिल्याई त्यसलाई निरन्तरता दिन नसक्नु नै मुख्य समस्या देखिन्छ। सरकारमा जो आएपनि कुनै एउटा निश्चित बाटो सफा गर्ने भन्दा झन फोहोर गर्नतिर लागेको देखिन्छ। देशलाई यसरी र यो गतिमा लैजानु पर्छ भन्ने भिजन सरकार चलाउनेहरूमा कहिल्यै देखिँदैन।

उद्देश्य वा गन्तव्य बिनाको यात्रा भनेको घुमीफिरी रुम्जाटार भनेजस्तै जहाँको त्यही हुन्छ, तथ्यांकीय उपलब्धि र परिणाम किताबको पानामा देखिए पनि जनताको गुणस्तरीय जीवनमा देखिन सकेको छैन। शहरमा केही भौतिक पूर्वाधारका कामहरू भए तापनि गाउँमा उल्लेखनीय काम हुन सकेनन्।व्यवस्था परिवर्तनले जनताको अवस्था परिवर्तन गर्न सकेन। राजनीतिक दलहरूले नेपालको वास्तविक समस्याको पहिचान गर्न नसकेको देखिन्छ। नेपाल भनेको काठमाडौं, विराटनगर, पोखरा, चितवन, बुटवल,नेपालगन्ज र धनगढी मात्रै होइनन् हुम्ला, जुम्ला, जाजरकोट, कालीकोट, मुगु, मुस्ताङ, सल्यान, डोल्पा आदि पनि हुन्। दुर्गम गाउँका जनताहरू आधारभूत आवश्यकता गाँस, बास, कपास शिक्षा, स्वास्थ्यको अभावको पीडाले भक्कानिदै छ्ट्पटाएका छन् तर सरकार भने सत्ताको भाग पुर्याउदै बिलो बाँडिरहेको हुन्छ। दलको आन्तरिक कारणले कुर्सी छोड्नु पर्दा भावुकतामा आई मन्त्री रुँदा उनका आँसुका बयान धेरै कोरिन्छन् तर वर्षौँदेखि खान र लाउन नपाएका ती गरिब र दु:खी नेपालीका आँसुका बयान कसैले बोल्न, देख्न र लेख्न सक्दैनन् र ती आँसुले कसैको मन पग्लिन पनि सक्दैन।

समय समयमा सरकार परिवर्तन हुने कुरा केवल परिवर्तनका लागि मात्र भएका छन्। एउटा जाँदा वा अर्को आउँदा जनतालाई आएको वा गएको केही अनुभूति नै छैन। बरु आउँदा कुनै दल वा त्यसको नेतृत्वले सरकार चलाउँदा नेपाल देशलाई आफ्नो बाउको पैत्रिक सम्पत्ति जस्तो बनाउँछ र सरकारलाई एकलौटी ढङ्गले चलाउन खोज्छ। आफन्त र नातेदारलाई राज्यका विभिन्न निकायमा भर्ती गर्छ।एकपछि अर्को सबै मिलेर देशलाई यही तरिकाले लुट्ने परम्परा बसेको कारण जनताको अभिभावक कुनै पनि सरकार बन्न सकेका छैनन्। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, शिक्षालय, प्रशासनिक एकाइ जताततै बेथिति नै बेथिति छ। देशका मन्त्रीहरू नै छाडा र अपशब्द बोल्दै हिड्ने, गाली गलौज गर्दै हिड्ने, कुनै किसिमको जिम्मेवार र उत्तरदायित्व बहन नगर्ने, जवाफदेही नहुने, नैतिकता र आचरण नदेखाउने जस्ता अत्यन्तै निन्दनीय र घृणित कार्यले देशले विकासको गति लिन सकेको छैन।

कहिलेकाहीँ कसैले राम्रो गर्न खोजिहाल्यो भनेपनि खुट्टा भाँच्ने प्रवृत्ति र राजनीति भित्रको अराजनीतिक संस्कारको सोचले देशले विकासको पाइला टेक्न नसकेको देखिन्छ। जनता पनि लामो समयसम्म आशा गर्दागर्दै राज्यबाट कुनै किसिमको सुनुवाइ नभएपछि वाक्कदिक्क भएका छन्। लुट्ने लुटिरहेका छन्, चुस्नेले चुसिरहेका छन् भने सुक्ने सुकिरहेका नै छन्। जनताका समस्या र पीडा ढुङ्गाले सुन्ला तर राज्यले सुन्दैन।राज्यका कुनै पनि निकाय वा अङ्गहरूका बीचमा सामञ्जस्यता र दायित्वबोध छैन। जसले जसरी गीत गाए पनि र नाचे पनि भएको छ। कहिँ कतै कानुनी नियन्त्रण र निर्देशनको पालना छैन। यी र यस्तै भद्रगोलले गर्दा नेपाली जनताले सुखको सास फेर्न पाएका छैनन्।

देशको मूल नेतृत्वले देश र जनताप्रति साँच्चीकै बफादार र जिम्मेवार भएर एउटा भिजन बनाउने हो हाम्रो जस्तो सानो मुलुकको विकास गर्न वर्षौँ कुर्नु पर्दैन जस्तो लाग्छ । कानुनी राज्यलाई सबैले आत्मसात गरिनुपर्छ। राजनीति नितान्त सेवा हुनुपर्छ,यसलाई पेशाबाट मुक्त बनाउनुपर्छ। सत्ता र कुर्सीको बार्गेनिङको लागि दलहरू खोलिनु हुँदैन। राजनीतिक दलहरू निश्चित सिद्धान्त, विचार, आस्था र निष्ठाका आधारमा चल्नुपर्छ। दलहरूमा आसेपासे, टीके र झोले प्रणालीको अन्त्य गरिनुपर्छ। हरेक क्षेत्रमा जरा गाडेर बसेको राजनीतिक दुर्गन्धलाई जरैदेखि उखलेर सफा गर्नुपर्छ अनिमात्र समृद्ध मुलुक भएको देख्न पक्कै पाइन्छ।

नेपाललाई हाम्रै पालामा समृद्ध बनाउन सकिने प्रशस्त सम्भावना छन्। राष्ट्रियता र देशको समृद्धिका सवालमा सबै राजनीतिक दलहरू दलीय र पदीय स्वार्थ त्यागेर एक हुनुपर्छ। राजनीतिभित्र अराजनीति छिराउनु हुँदैन। भ्रष्टाचार र अनियमितताको अन्त्य गरिनुपर्छ। कानुनमा रहेको दण्ड र पुरस्कारको व्यवस्थालाई सबैले कार्यान्वयन गर्नुपर्छ। दललाई मागी खाने भाँडाे बनाउनु हुँदैन। शिक्षा र स्वास्थ्यमा सबैलाई पहुँच हुनुपर्छ। बेरोजगार जनशक्तिलाई एउटा निश्चित समयको योजना बनाएर कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा लगाउनु पर्छ। राज्यले कृषिलाई व्यावसायिक बनाई उत्पादनदेखि बजार व्यवस्थापनसम्म सहजीकरण गरिदिनु पर्छ। उद्योग, कलकारखाना खोल्न प्रोत्साहित गर्नुपर्छ। बसाइँसराइ रोक्नको लागि गाउँगाउँमा बाटोघाटाे, स्कुल, कलेज, स्वास्थ्य चौकी बनाइदिनु पर्छ।यसरी उत्पादन, रोजगार र सुविधा भयो भने गाउँले जीवन पनि गुणस्तरीय हुन्छ। देशलाई भौतिक पूर्वाधारले पूर्ण र जनताको जीवनस्तर पनि उच्च बनाउन सक्ने हो भने नेपाल पनि समृद्ध र विकसित देशको सूचीमा पर्न केही गाह्रो छैन।

हाम्रै पालामा देश बनाउन नेतृत्वमा वर्षौँदेखि जरा गाडेर बसेको पुरानो पुस्ताका ठाउँमा केही नयाँ पुस्ता पनि आउनुपर्छ। नेपालको पुरानो पुस्ताले दशकौंदेखि नेतृत्व सम्हालेर बस्यो,बाटो पहिल्याउन सकेन र अल्मलिरह्यो यसकारण परिवर्तन गर्न सकेन। अब नेपालको वास्तविक समस्यालाई पहिचान गरी नेपाली माटाे अनुकूलको विकास र समृद्धिका योजना बनाउनुपर्छ। हाम्रा मूल समस्या भनेका गरिबी र अशिक्षा हुन्। कृषिलाई आधुनिक, वैज्ञानिक र व्यावसायिक बनाउने, घरेलु, साना तथा मझौला उद्योग खोल्नको लागि जनतालाई प्रेरित गर्ने, गाउँगाउँमा व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षालय खोल्ने हो भने जनतामा चेतना,रोजगार र व्यावसायिक सीपको विकास हुन्छ। गाउँ शहरमा बाटो, बिजुली, विद्यालय,कलेज खानेपानी, अस्पताल जस्ता भौतिक पूर्वाधारका काम हुने हो भने त विकसित देशको सूचीमा हाम्रो देश पनि पर्छ। सम्भव छ, हाम्रै पालामा हाम्रो देश बनाउनलाई।

लेखक राजेन्द्र पन्थी हाल भर्जिनिया,अमेरिकामा बस्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार