गृहपृष्ठ पहिचान बिनाका नेपालका वामपन्थी र दक्षिणपन्थी
पहिचान बिनाका नेपालका वामपन्थी र दक्षिणपन्थी
म आफू पन्थी थर भएको हुनाले नेपाली राजनीतिमा बारम्बार दोहोरिने शब्द पन्थीका बारेमा कलम चलाउन खोज्दै छु । राजनीतिको प्रसङ्गका कुरा चल्दा धेरैले सोध्नुहुन्छ, तपाईं कुन पन्थी ? राजनीतिमा यस शब्दको ऐतिहासिक प्रवर्तनका दृष्टिले हेर्दा वामपन्थी नि सर्व स्विकार्य हुन आउँछ । राजनीतिमा प्रयोग हुने पन्थीसित थर पन्थीको कुनै खासै साइनो छैन ।
पन्थी शब्द पथ वा पन्थ बाट बुत्पादन भएको मानिन्छ । पथ भनेको यात्रा हुनाले राजनीतिसित जोड्दा राजनैतिक धार या राजनैतिक यात्रा भन्ने बुझ्न सकिन्छ । नेपाली राजनीतिमा वामपन्थी र दक्षिणपन्थी भन्ने शब्दहरूलाई वामपन्थ र दक्षिणपन्थ पनि भनिन्छ । वामपन्थी र दक्षिणपन्थी शब्दहरू अङ्ग्रेजीका क्रमशः लेफ्टिस्ट(Leftist) र राइटिस्ट(Rightist) का नेपाली अनुवाद हुन् ।
राजनीतिमा ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ शब्दको प्रवेश फ्रान्सको व्यवस्थापिका राष्ट्रियसभाबाट सुरु भएको हो। फ्रान्समा राज्य क्रान्तिपछि परिवर्तनका पक्षधर र पुरानै व्यवस्थाका समर्थक दुवैखाले विचारधाराका व्यक्तिहरू राष्ट्रियसभामा चयन भए । यो सन १७८९ को कुरा हो । राष्ट्रियसभामा नयाँ संविधानको ड्राफ्ट गर्ने काम सुरु हुन थाल्यो । त्यसपछि त्यहाँ राजतन्त्रसहितको पुरानै व्यवस्था कायम राख्नुपर्छ भन्ने पक्षमा रहेका र परिवर्तनको पक्षमा हुनेबीच विभाजन सुरु भयो। यसरी विभाजन हुँदा सभामा पनि उनीहरू छुट्टाछुट्टै बस्न थाले। परिवर्तनको पक्षमा हुने सदस्यहरू सभाहलको बायाँतिर बस्न थाले। पुरानै व्यवस्था कायम राख्नुपर्छ भन्ने पक्षमा रहेका सदस्यहरू दायाँतिर बस्न थाले। करिब एक वर्षसम्म यो क्रम चलिरह्यो। राष्ट्रियसभामा बसेको दिशाका आधारमा पत्र–पत्रिकाले उनीहरूलाई ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ का रुपमा स्थापित गराइसकेका थिए ।
बीचमा नेपोलियन बोनापार्टको शासनकालमा दायाँ र बायाँको विभाजन हरायो। जब सन् १८१४ मा फ्रान्समा संवैधानिक राजतन्त्रको सुरुवात भयो, तब प्रगतिशील र परम्परागत राजनीतिक व्यवस्थाका पक्षपातीहरू दायाँ र बाया आ–आफ्ना ठाउँमा बस्न थाले। १९औं शताब्दीको मध्यसम्म आइपुग्दा राजनीतिक विचारधाराकै रुपमा फ्रान्समा यो स्थापित भइसकेको थियो।
राजनीतिक धारको चर्चा गर्दा ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ लाई पनि चरम र मध्यको रुपमा व्याख्या गर्न थालिएको थियो। जस्तो नेपालीमा मध्य वामन्थी, चरम वामपन्थी, उग्रवामपन्थी, चरम दक्षिणपन्थी, मध्यपन्थी भनेजस्तै ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ लाई फरक–फरक रुपमा विभाजन गरी चर्चा हुन थाल्यो। फ्रान्समा सुरु भएको केही समयपछि बेलायतको संसद्मा पनि यसको अनुसरण भयो। त्यहाँका दुई ठूला दलले फ्रान्सको सिको गरेर कन्जर्भेटिभ दायाँ र लेबर पार्टी बायाँ बस्ने गर्न थाले। विस्तारै विश्वभर राजनीतिक लाइनका आधारमा प्रगतिशील, क्रान्तिकारी राजनीतिक शक्तिलाई लेफ्टिस्ट र परम्परावादी, यथास्थितिवादी शक्तिलाई ‘राइटिस्ट’ भन्न थालियो। यहीअनुसार भारत र नेपालमा ‘राइट विङ’ लाई दक्षिण पन्थ र ‘लेफ्ट विङ’ लाई वामपन्थ शब्दावली प्रयोग गर्दै आएको पाइन्छ।
यसरी वामपन्थी भनेका परिवर्तनगामी, क्रान्तिकारी,अग्रगमन चाहने र दक्षिणपन्थी भनेका यथास्थिति वादी, राजावादी विचारधारामा विश्वास गर्ने पार्टीका रुपमा फ्रान्समा स्थापित भएको पाइन्छ।फ्रान्समा सुरु भएको केही समयपछि बेलायतको संसद्मा पनि यसको अनुशरण भयो। त्यहाँका दुई ठूला दलले फ्रान्सको सिको गरेर कन्जर्भेटिभ दायाँ र लेबर पार्टी बायाँ बस्ने गर्न थाले। विस्तारै विश्वभर राजनीतिक लाइनका आधारमा प्रगतिशील, क्रान्तिकारी राजनीतिक शक्तिलाई लेफ्टिस्ट ( वामपन्थी ) र परम्परावादी, यथास्थितिवादी शक्तिलाई राइटिस्ट (दक्षिणपन्थी ) भन्न थालियो ।
नेपालका पार्टीका कुरा गर्दा त एकाध बाहेक प्रायःजसो सबै पार्टी वामपन्थी हुनु पर्ने हो तर वामपन्थी धार भनिए तापनि सिद्धान्त र विचारधारामा स्पष्टता छैन । सिद्धान्तमा अग्रगमन, क्रान्तिकारीता, प्रगतिशीलता धेरै राम्रा राम्रा शब्दहरू चयन गरिएका छन् ।
फ्रान्सको राजनीतिमा जे का लागि यी शब्दहरू प्रयोग भएका थिए त्यसको आधारमा बर्तमान नेपाली राजनीतिको धार हेर्दा नेपालका पार्टीहरू काङ्ग्रेस र कम्युनिष्टहरू वामपन्थी हुनु पर्ने देखिन्छ र राप्रपा लगायत राजावादी पार्टीहरू दक्षिणपन्थी धारका हुनुपर्ने देखिन्छ ,तर अहिले कुनै पार्टीको स्पष्ट कित्ता देखिदैन।काङ्ग्रेसले आफूलाई वामपन्थी भन्न रुचाउँदैन तर कम्युनिष्टहरू आफूहरू वामपन्थी हुँ भनेर गर्व गर्छन् र कम्युनिष्टहरू काङ्ग्रेसलाई दक्षिणपन्थी भन्छन् तर राप्रपाले आफूलाई दक्षिणपन्थी हुँ भनेर पूर्ण रुपमा स्विकार्दैनन् ।
नेपालका पार्टी जुन धारको अवलम्बन गरेर जस्तोसुकै सिद्धान्त र विचारधारा बोकेपनि सबै अवसरवादी मात्र छन् । नेपालका पार्टीहरूले कहिले वामपन्थी गठबन्धन, कहिले लोकतान्त्रिक गठबन्धन आदि नामले शब्दको जालो फाली चिनाउन खोज्छन् तर त्यसमा केवल सत्ता स्वार्थ लुकेको मात्र हुन्छ । जब कुर्सी र सत्ता पाइन्छ, त्यसबेला वामपन्थी र दक्षिणपन्थी मिलेर एउटा गज्जबको शब्द रोजेर लोकतान्त्रिक गठबन्धन बनाउँछन् ।
नेपालमा रहेका पार्टीमा निष्ठा र सिद्धान्त भन्ने केही छैन । सत्ता र कुर्सीको लागि जतिबेला जे पनि बन्दिन तयार हुन्छन् । त्यसकारण को वामपन्थी र को दक्षिणपन्थी हुन् छुट्टयाउन सकिदैन । सामान्य नेपाली राजनीतिमा चलनचल्तीमा कम्युनिष्टलाई वामपन्थी र काङ्ग्रेसलाई दक्षिणपन्थी भनेर चिनिएको पनि पाइन्छ । वामपन्थी र दक्षिणपन्थीको दुईवटा कित्तालाई हेर्दा नेपालका कुनै पनि पार्टीको कित्ता वा धार स्पष्ट छैन । वाम भनिनेमा दक्षिण र दक्षिण भनिनेमा वामका कतिपय मान्यता पाइन्छन् । धेरैजसो पार्टीहरू छुट्टै अवसरपन्थी (अवसरवादी) धारमा हिडेको देखिन्छ ।
यी अवसरपन्थीहरू आफ्नो आस्था, सिद्धान्त, निष्ठा एकातिर हुन्छ भने व्यवहार अर्कोतिर हुन्छ ।अवसरपन्थीको मूल ध्येय भनेको कुर्सी मोह र सत्ता लिप्सा नै हुन्छ।बर्तमान राजनैतिक परिदृश्य हेर्दा नेपालका प्रायः पार्टीहरू अवसरपन्थीको बाटो हिडेको देखिन्छ ।
प्रायः पछिल्लो चरणमा सबै पार्टीले अबको यात्रा समाजवादलाई बनाएको भन्दै छन् तर उहीँ पुँजीवादी सोचलाई छोड्न सकेका छैनन् । जबसम्म सबै नेतृत्व पङ्तिमा देश सर्वस्व हो भन्ने चिन्तन आउँदैन तबसम्म देशको आमूल परिवर्तन र समृद्धि हुन सक्दैन । सबै एकजुट भई रास्ट्रहित सोचेर लाग्न सक्ने हो भने चुड्किका भरमा देशको समृद्धि सम्भव देखिन्छ । यातायातको विकास ,रोजगारको सिर्जना, शिक्षा र स्वास्थ्यको पहुँच , कृषिको लागि अत्याधुनिक प्रविधिको सहजता र बजार व्यवस्थापन आदिजस्ता आधारभूत कुराहरू राज्यले उपलब्ध गरिदिने हो भने देशले केही वर्षमै काँचुली फेर्न सक्छ ।
( लेखक बुटवल-१३ रुपन्देहीका स्थायी बासिन्दा राजेन्द्र पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्नुहुन्छ । )








