गृहपृष्ठ मालिका केशरीको आख्यान ‘दुबाल’ विमोचित
मालिका केशरीको आख्यान ‘दुबाल’ विमोचित
साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान दुबाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने; उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले दुबाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।
पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन; शरणार्थी केटी कार्चुबको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’ तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।
यस्तै इतिहासकार डा. ढुंगेलले दुबाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । उनले भने; साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुबालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।
कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण दुबाल’ जन्मेको बताए । देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने; मालिका केशरीका यस अघि बौद्ध दर्शनमा आधारित उपन्यास पुनरुत्थान’ र सुवर्णलता’ प्रकाशित छन् ।
सांग्रिला बुक्सले प्रकाशन गरेको दुबाल उनको तेस्रो उपन्यास हो। उनी बौद्ध दर्शनका अध्येता हुन।





