२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ हिन्दु धर्म : यसको विकास र बिस्तार

हिन्दु धर्म : यसको विकास र बिस्तार

संसारका विभिन्न धर्म मध्येको एउटा धर्म हिन्दु धर्म हो । यो धर्म सर्वप्राचीन धर्म हो।यो धर्मका आफ्नै मूल्य मान्यताहरू रहेका छन् । अहिले संसारमा जति धर्म छन् , ती सबै धर्मको मूल धर्म  हिन्दु धर्म हो । यो सनातन धर्म हो । हिन्दु धर्मलाई सनातन धर्म भनिएको छ जुन परापूर्व कालदेखि चलिआएको त्यही मानवीय सद्गुण रूपी धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति होइनन्  । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुन्  । सनातन धर्म विश्वको सबै भन्दा पुरानो तर वैज्ञानिक धर्म पनि मानिन्छ । विश्वकै सबैभन्दा पुरानो ग्रन्थ वेद हो ,यो यति पुरानो धर्म हो भनेर भन्न सकिने अवस्था छैन कतै इसापूर्व ५०० देखि इसापूर्व ३०० भित्र यो धर्मको सुरुवात भएको भनिएको छ । कतै पृथ्वीको सृष्टिसंगै  यो धर्मको जन्म भएको हो भन्ने भनाइ पनि छ ।

यस  धर्मको सर्वप्राचीन ग्रन्थ वेद मानिन्छ । वेदको आधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ। वैदिक कालमा सनातन धर्मको कुनै अर्को निश्चित नाम थिएन । कोही यसलाई वैदिक धर्म भन्थे, कोही आर्य धर्म भन्दथे । उति बेला मानिस जोसँग बढी डराउँथे अथवा जुन चीज बढी शक्तिशाली ठान्थे, उसैलाई खुसी पार्ने उद्देश्यले उसैको पूजा गर्थे । सूर्य, अग्नि, जल, वायु, नाग आदिको पूजा आजको समाजसम्म पनि तन्किएर आइरहेको छ । पूजाको अर्को विकल्प पनि थियो । वैदिक साहित्यमा वर्णित देवी देवताको पूजा गर्ने । वेदमा पनि सूर्य, अग्नि, वायु, जल, वराह, सिंह आदिको उल्लेख थियो र छ । यही नै हाम्रो प्रमुख ईश्वर हो भन्ने थिएन । अलग-अलग समाजका अलग–अलग पूजनीय थिए र तिनको पूजनलाई सनातनी भनिन्थ्यो। धेरै पछि आएर सनातन धर्मलाई हिन्दु धर्म भन्न थालिएको  हो भनिन्छ ।

हिन्दु धर्मको नामकरणका बारेमा धेरै धारणा रहेका छन ती मध्ये प्रमुख तीन वटा धारणा यस प्रकार रहेका छन :
१. हिन्दु शब्द फारसी भाषाबाट आएको हो । सिन्धु नदीका किनारमा बस्ने मानिसलाई फारसीहरूले हिन्दु भन्ने गर्थे । सिन्धुदेखि उत्तरपूर्वका मानिस हिन्दुका नामबाट परिचित भएका हुन् । जसरी सप्ताह फारसीमा हप्ता बन्यो, उसरी नै सिन्धु फारसीमा हिन्दु बनेको हुनुपर्छ भनिएको छ ।

२. हिन्दु शब्द चन्द्रमालाई बुझाउने इन्तु शब्दबाट बनेको हो । चिनियाँ भाषामा चन्द्रमालाई इन्तु भनिन्छ । यताका मानिसको ज्योतिष शास्त्र चन्द्रमाबाट प्रभावित भएको देखेकाले चिनियाँले यताका मानिसलाई इन्तु नामले सम्बोधन गरेका हुन सक्छन्, जो कालान्तरमा हिन्दु शब्दमा रूपान्तरित भएको हुनुपर्छ ।

३. वृहस्पति आगममा रहेको एउटा श्लोकले हिमालयदेखि इन्दु सरोवरसम्मको भू–भाग हिन्दुहरूको वासस्थान रहेको बुझाउँछ । त्यहाँ भनिएको छ, “हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम् । तंदेवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।”

यस धर्ममा अरु धर्ममा जस्तो एउटा कुनै व्यक्ति वा देवतालाई मात्र मानिदैन।हिन्दु धर्ममा ब्रह्मा, विण्णु, महेश्वर ,शिव ,गणेश  देवी ,कृष्ण , राम आदि देवीदेवता पुजिन्छ । खासगरी वेद, गीता, पुराण उपनिषद् ,भागवत आदि ग्रन्थहरूलाई आधार मानेर यो धर्म मानिन्छ । यो धर्म एसिया, युरोप , अमेरिका आदि लगायतका सबै  महादेशमा मानिन्छ ।

विश्वको जम्मा जनसंख्याको १५-१६% ले हिन्दु धर्म मान्दछ्न् । अहिले विश्वमा हिन्दु धर्म मान्नेको संख्या  १.२ अरब रहेको  छ । जनसंख्याका आधारमा  भारतमा७९% ,नेपालमा ८१.३% ,मौरिससमा ४८%, फिजीमा २७%,जर्मनीमा ०.१२% र अमेरिकामा ०.७%, प्रतिशतले हिन्दु धर्म मान्दछ्न । यो धर्म विश्वको त्रेस्रो ठुलो धर्म हो । यो धर्म  खासगरी भारत, नेपाल,बङ्गलादेश, इन्डोनेसिया ,पाकिस्तान ,श्रीलंका मलेसिया, सिङगापुर, म्यान्मार ,थाइल्यान्ड,बेलायत  क्यानडा,अमेरिका आदि देशमा मानिन्छ ।

यसरी हिन्दु धर्म आज संसारभरी फैलिएको छ। यो धर्म पूर्वहुँदै  पश्चिमतिर फैलिएको छ । यसको जन्म पूर्वमा भएकोले यस धर्मको मान्यतालाई पूर्वीय मान्यता पनि भनिन्छ । खासगरी हिन्दु धर्म संस्कारलाई पूर्वीय मान्यता भनेर चिनिन्छ । हिन्दु बाहेक अरु धर्मको जन्म र बिकास पश्चिमी मुलुकमा भएकोले पश्चिमी मान्यता भनिएको छ। पूर्वपश्चिम जता जन्मिए पनि यी धर्महरू संसारभरि फैलिदै छन् । हिन्दु धर्मको बिकास र बिस्तारको क्रममा आज  हिन्दु धर्म भित्रै पनि अनेकौँ त्यस्ता सम्प्रदाय बन्न पुगेका छन् । वैदिक सनातन, शैव, शाक्त, वैष्णव, पाञ्चायन, साइराम, नानक, राधास्वामी, राजयोग, प्रणामी, कबिर, जैन, सन्यासी आदि । यी मध्येका कतिपय सम्प्रदायभित्र पनि उपसम्प्रदाय बन्न पुगेका छन् ।

हिन्दु सम्प्रदायबाट पनि केही उपसम्प्रदाय बनेका छन् । कसैले कुन देवतालाई प्रमुख मान्ने , कसैले कुनैलाई प्रमुख मान्ने मान्यतामा आधारमा उप सम्प्रदाय बनेको देखिन्छ। सनातन हिन्दु धर्म यति बृहद र व्यापक छ कि को हुन् हिन्दु भन्न पनि व्याख्या र विश्लेषण नै गर्नुपर्ने हुन्छ। यसरी हेर्दा कोही बुद्धिस्ट हिन्दु होइनन् भन्छन् भने कोही शिख भनेका अहिन्दु हुन् भन्छन् ।कसैले किराँतीलाई हिन्दु मान्दैनन् भने कसैले जैनहरूलाई हिन्दु मान्दैनन् । फेरि कतिपय सनातनी सन्त महन्तहरूले समेत आफूलाई हिन्दु भन्न नरुचाएका प्रशस्तै उदाहरण भेटिन्छन् । यदि यी सबै हिन्दु होइनन् भने हिन्दु भनेका को हुन् त ? वैष्णवहरू हिन्दु हुन् कि होइनन् ? जैनलाई हिन्दु मान्ने कि नमान्ने ? फेरि असङ्ख्य देवी–देवता मान्ने पनि छन, देवी–देवता कोही पनि नमान्ने पनि छन् अर्थात् आस्तिक पनि छन् र नास्तिक पनि छन् ।

आस्तिकहरूको प्रतिनिधित्व गर्ने अनेक उपधर्म र सम्प्रदायहरू र तिनका दर्शन यहाँ विद्यमान छन् भने नास्तिकहरूको प्रतिनिधित्व गर्ने चार्वाक पन्थ पनि हिन्दु धर्मकै एउटा दर्शनका रूपमा चिनिँदै आएको छ । भनेपछि, हिन्दु भनेर कसरी चिन्ने ? छोटकरीमा भन्नुपर्दा जसले ओमकार मान्छ, त्यो नै हिन्दु हो  भनिएको छ। यसरी हेर्दा “ओम् मानेपेमे हूँ (ॐ मणिपद्मे हूँ)” भन्ने बुद्धिस्टहरू पनि हिन्दु हुन् । ओम् ह्रीं णमो अरिहताणं… भन्ने जैनहरू पनि हिन्दु हुन् । शिख धर्मको त प्रवर्तन भएकै हिन्दु धर्मको संरक्षणका लागि हो । शिख धर्मका प्रथम गुरु, गुरुनानकले रामको वन्दना गरेको इतिहास छ । शिख धर्मका दसौँ गुरु, गुरु गोविन्द सिंहले कवितामै लेख्नु भएको छ, “सकल जगत में खालसा पंथ गाजे, जगे धर्म हिन्दु सकल भंड भाजे”। यसरी ओमकार मान्नेजति  हिन्दु भनेर चिनिन्छ ।बुद्धका विचारलाई जीवनदर्शन मान्नेहरू बौद्ध हुन्, विष्णुलाई आराध्य देव मान्नेहरू वैष्णव हुन्, शिवलाई प्रमुख ठान्नेहरू शैव हुन्, भगवती अथवा दुर्गालाई सर्वोच्च मान्नेहरू शाक्त हुन् तर यी सबै हिन्दु अनुयायी हुन् ।

हिन्दु धर्मका मान्यताहरू

हिन्दुधर्ममा धेरै लिखित मान्यता छन् भने केही श्रुति परम्परादेखि चल्दै आएका मान्यताहरु छन् ।वेद नै हिन्दुको सर्वप्राचीन ग्रन्थ हो।वेद श्रुति परम्पराबाट जन्मिएको ग्रन्थ हो।यो सुरुमा कसले बनायो त्यो प्रमाण अहिलेसम्म भेटिएको छैन । महर्षी वेद व्यासले यसलाई चार भागमा बाँडेका थिए भनिन्छ । ऋग्वेद,यजुर्वेद,सामवेद र अथर्ववेद गरी चार वेद हुन् । अरु प्रसिद्ध ग्रन्थहरुमा गीता ,पुराण ,उपनिषद् आदि हुन् । यिनै ग्रन्थलाई आधार मानेर थुप्रै लिखित मान्यताहरु बनाएका छन् । खास यी प्राचीन ग्रन्थहरूमा संस्कृत भाषाको प्रयोग गरिएको छ । अहिले संसारका धेरै भाषामा यी ग्रन्थहरूलाई अनुवाद गरिएको छ।यी ग्रन्थहरू प्राचीन भए ता पनि यिनमा धेरै कुराहरू बैज्ञानिक छन् ।पश्चिमी विद्वान र बैज्ञानिकहरूले यी पूर्वीय धेरै शास्त्रको खुलेर अनुशरण गरेका छन् ।
हिन्दु धर्म, धर्मको एक सम्प्रदाय हो । सबै धर्मका आधारभूत मान्यता भनेका धैर्य रहनु, सहनशील हुनु, अरूको उपकार गर्नु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्त्विक आहार विहार गर्नु यी र यस्ता मानवीय सद्गुणहरू नै  धर्म हुन्। संसारका जति पनि धर्मले दिने शिक्षा भनेकै मानवता हो ।

हिन्दु धर्ममा भगवानका धेरै स्वरूपहरूको व्याख्या गरे पनि वास्तवमा भगवानको परब्रह्म ईश्वरीय स्वरूप एउटै मानेको छ । योगा, प्रणायाम, ज्योतिषशाशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् ।हिन्दू धर्ममा, महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो । हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग हुने फलामदेखि निर्माणको ढाँचासम्मले पनि सकारात्मक ऊर्जा संचारित गर्दछ भन्ने कुरा प्रमाणित भइसकेको छ । आदर्श हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन्  हिन्दु  शास्त्रहरूमा नै हाम्रो संस्कारको बारेमा उल्लेख गरिएको छ ।शास्त्रले गर्भधारण देखि मृत्यु सम्मका मुख्य रूपमा जम्मा १६ वटा संस्कारको पालना गर्नु पर्ने भनी उल्लेख गरेको छ । ती हुन – गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडा, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह एवं अन्त्येष्टि ।

प्रत्येक हिन्दूले यी संस्कारको यथोक्त नियमपूर्वक पालना गर्नुपर्छ र यस्ता संस्कारहरूलाई वैदिक नियमद्वारा सम्पन्न गर्नु नै हिन्दुहरूको पहिचान भनी उल्लेख गरिएको छ । यी कतिपय संस्कारहरू अहिले पनि हाम्रो संस्कृतिको रूपमा निरन्तर रही रहेका छन् भने कति नाममा मात्र सीमित रहेका छन् । कतै विकृति पनि जन्मिएका छन् हाम्रा यी सनातनीय संस्कारमा कहीँ कतै कुनै जात र लिङ्ग भनी छुट्ट्याइएको छैन पछि आफू खुशी व्याख्या र विश्लेषण गरिएको पाइन्छ । यो सत्य हो मूल शास्त्रका अनुसार ऋषि मुनि कालमा सन्तान बढ्दै जाँदा विभिन्न नाम दिएर अभिषेक गरेर एक आपसमा कार्य विभाजन भने गरिएको हो ती शास्त्रहरूमा कहीँ कतै तल्लो माथिल्लो छुत अछुत भनेर उल्लेख गरिएको छैन । कालान्तरमा पुरातन सोच र परम्परा अनुसार कथा पुराणहरूमा यस्ता विभिन्न जातजाति प्रथाहरूको विषयहरू उल्लेख गरिएको मात्र हो ।  कसैले भनेको आधारमा लहैलहैमा कतिपय मान्यताहरू थोपरिएका छन् । त्यसैले धर्मको सस्कृतिको बारे बिश्लेशण गर्दा बिभिन काल खण्डमा भएका फरक फरक व्याख्या र बिश्लेशण भन्दा शास्त्रको मूल ग्रन्थलाइ गहिरो अध्ययन गरि यसको महत्वलाइ बुझ्ने र बुझाउने प्रयास गरियो भने वास्तविक तथ्य थाहा पाइन्छ ।

अहिलेको पुस्तालाई हिन्दुधर्मका केही भ्रमहरूको निवारण गराउनु पर्ने देखिन्छ । हिन्दु धर्म भनेको मात्र पूजापाठ गर्ने होइन यसमा समाजशास्त्र  ,अर्थशास्त्र, इतिहास, दर्शन, योग ,बिज्ञान  राजनीतिसङ्ग सम्बन्धि त आदि थुप्रै ज्ञानका भण्डार छन् । भाष्यकारहरूले संस्कृतबाट संसारका थुप्रै भाषामा अनुवाद  र व्याख्या गरेका छन् । आफ्नै मूल्य  मान्यताहरू खोजौ, अध्ययन गरौं र आफ्नो धर्मको रक्षा गरौं ।

( लेखक राजेन्द्र पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्नुहुन्छ ) 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार