२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेपाली राजनीतिमा नौटंकी र नाटक

नेपाली राजनीतिमा नौटंकी र नाटक

व्यक्तिवादी राजनीतिको अहंता, स्वेच्छाचारिता र पदलोलुपता  नै अहिले मञ्चन भएको  नाटक वा नौटंकीका उद्देश्य देखियो । पुष्पकमल दाहाल “प्रचण्ड”, केपी ओली र माधब कुमार नेपालको प्रमुख भूमिकामा नाटक मञ्चन गरिए । तिनै जनाको नाङ्गो रुप देखियो । जनताका सपनामा होली खेलेर सत्ता लिप्साको फोहोरी खेल खेली फेरि अर्को दुर्गन्ध निम्त्याएक छन् । नेपाली राजनीतिका पछिल्ला परिदृश्यहरू हेर्दा राजनीतिको चरम अश्लीलता नै देखिन्छ ।

कुनै बेला मुसा प्रवृत्ति र सांसद किनबेचको इतिहास रहेको थियोे, त्यही घिनलाग्दो रुप फेरि दोहोरिएको छ । इतिहासमा सबैभन्दा जम्बो मन्त्रीमण्डल बनाएर असक्षम  कहलिएका देउवाले फेरि कसरी यो छ खुट्टे डुङ्गालाई अवतरण गर्ने हुन्, शंका पैदा भइसकेको छ ।आफ्नो नियन्त्रणमा नरहेको यो छतिर फर्केको डुङ्गा प्रचण्डपथमा  ढल्केकाे छ ।यो सरकार भनेको विपिको प्रजातान्त्रिक समाजवादको नीति लिएको ,यात्रा बैज्ञानिक समाजवाद भनेको र वास्तविक यात्रा  प्रचण्डपथमा हिड्न खोज्दै छ।यात्राकै टुंगो छैन,त्यसकारण बिचैमा पल्टिए पनि खासै आश्चर्य मान्नु पर्दैन ।

नेपालको राजनीतिको यात्रा नै गन्तव्यहीन देखिएको छ । अहिले हामी कहाँ छौँ र कहाँ पुग्ने हो भन्ने टुंगो छैन ।पुँजीवादबाट समाजवादको यात्रा भनिएको छ तर कताबाट कसरी भन्ने बहस छैन । समाजवाद पार्टीको नामको पुच्छरमा मात्र सीमित छ । व्यवहार र कार्यान्वयन पक्ष कहिँ कतै छैन । जुन जोगी आए पनि कानै चिरेको भने झैं केबल भ्रमको खेती हुँदैछ । अहिले बर्तमान परिदृश्य हेर्दा  महिनौंसम्म  सरकारले पूर्णता पाउन नसक्नु, सांसद किनबेच र अपहरण,रिसोर्टहरूमा सांसद   र नेता बन्धक बनाइनु, एकअर्को बिचको आक्रोशपूर्ण अभिव्यक्ति, पार्टीको टुटफुट र अध्यादेशले सरकार चलाउने सरकारको रणनीति जस्ता राजनैतिक फोहोरी खेल देख्दा गन्तव्य नै स्पष्ट नभएको सरकार  छ ।

कहाँ जाने हो टुंगो छैन, कसैले केही भन्ला भन्ने डर पनि छैन, कपडा लगाए पनि भएको छ र नाङ्गै हिड्दा पनि लाजसरम छैन । नेताको दिमागमा एउटा मात्र कुरो छ, त्यो हो  कसरी सरकारमा जाने ? यस्तो परिदृश्यबाट कसरी समाजवाद आउँला र! नाटक देखाउँदा पनि केही उद्देश्य हुन्छ, नेपाली राजनीतिको नाटकको उद्देश्य भनेको  बहुरुपी जालझेल र षड्यन्त्र  सन्देश मात्र देखिन्छ ।  दर्शक पनि जहिले फोहोरी र अश्लील नाटक हेर्दा वाक्कदिक्क हुन थाले  नाटकका  पात्रहरूले   सपना देखाएका छन् – समाजवादसम्म पुग्ने । कुनै पनि पात्र कसरी यात्रा गर्ने हो टुंगो र योजना र सिद्धान्त नै छैन ।

कुनै बेला पुष्पलाल र विपिले बनाएका केही वादहरू सम्वाद बनाई बोलिरहेका छन् र दर्शकलाई भ्रम पार्दै नाटक मञ्चन गरिरहेका छन् । नौटंकी र नाटकको  प्रहसनमा खास मुख्य पात्रको  कुर्सीको लागि मात्र   समाजवाद भनी नाटकको  शीर्षकलाई मात्र भ्रमपूर्ण  पारिएको छ। कथावस्तु र पात्र सबै पटक पटक दोहोरिएकै छ तर उद्देश्य उही देखिन्छ , भ्रम र आश्वासन । काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टहरूको जनवादी समाजवाद पुस्तकालयमा सीमित रहे। काङ्ग्रेसका बर्तमान  अध्यक्ष पटक पटक सक्षम अनि असक्षमको खेल हुँदै फेरि सक्षम  भइन्छ कि भनेर मात्र माओवादी चिन्तनको मुखुण्डो लगाई हिड्न खोज्दै छन् ।विपिको प्रजातान्त्रिक समाजवाद भनिएको पार्टीमा माओवादीरुपी प्रचण्डपथ मिसिएको यात्रीको यात्रा  हातले घृसिएर पुरा गर्न सकिन्छ भन्ने दिवा सपना देख्दै  छन् । यस्तो  यात्रा कति दिनको होला र? एकमहिनामा नै थाकेजस्तै छ। उता अध्यादेशको झटारोले आफैलाई हान्ने हो कि भन्ने डर पनि मान्नुपर्ने छ।

सबै पार्टी भित्र  गुट र उपगुटको किचलो मात्र देखिन्छ । समयमा महाधिवेशन गर्न नसक्दा गिदी पाकेको अवस्थामा किस्तीमा पाएको अहिले  सरकार चलाउन  देउवालाई झन्झट छ । यतिलामो इतिहास बोकेको काङ्ग्रेस जस्तो पार्टी आज प्रचण्ड  माधव र उपेन्द्रको निर्देशनमा चल्नुपरेको छ।सायद एउटा गन्तव्य तयार पारी हिडेको भए यो माखेदाउमा अल्झिन पर्ने थिएन ।नेपालमा कुनै पनि पार्टीले राजनैतिक असफलता हासिल गर्नुको प्रमुख कारण नै सिद्धान्त र निष्ठाको राजनीति नगर्नु हो।आज काङ्ग्रेस र कम्युनिष्टमा केमा फरक छ र ? कहाँ छन् सिद्धान्तका बहस ? केशरजंग रायमाझीलाई सत्ते सराप गर्ने  कम्युनिष्टहरू आज के मानेमा चोखा छन् र! आज के मानेमा यिनीहरू राजावादी होइनन् र! शासन व्यवस्था परिवर्तन गरेपनि आचरण र व्यवहार पुरानै छ । संघीयताको नाममा सयौं राजा बनेका छन् ।

कुर्सी र सत्ता भएपछि सबै साम्य हुने कस्तो अचुक औषधि हो ? सिद्धान्त र निष्ठाको राजनीति भनेको विशुद्ध समाज सेवा हुनुपर्छ । राजनीतिका नाममा अवसरवादी खेल सुरु गरेपछि जनताले सुखको सास कसरी फेर्न सक्छन् ? अवसरवादका नाटक धेरै पटक देखियो,नौटंकी पनि हेरियो। कुनै व्यक्तिलाई  नै जिताउन काङ्ग्रेसहरूले  हँसिया हथौड़ामा भोट हालेको बिर्सियो र?यस्ता धेरै घृणित दृश्य नेपाली जनताले देखिरहेका छन् ।एमाले जिताउन गाईमा पनि  भोट  हालेको हो।जनताबाट हारिएका प्रधानमन्त्री पनि बनाइएको हो।फुट्दा लालगद्दार र जुट्दा एउटा जेटका दुईवटा पाइलट हेरिएकै हो।नेपाली जनताले नेपाली राजनीतिको सबै किसिमको फोहोरी खेल हेरिसकेका छन् ।

२००७ सालको क्रान्ति,२०४६ सालको जनअन्दोलन,२०५२ को सशस्त्र युद्ध र २०६२/०६३ को जन आन्दोलनमा धेरै नेपाली जनताले रगत र पसिना बगाए।कति सहिद भए, कति अङ्गभङ्ग  भए भने कति बेपत्ता भए।यसको परिणामस्वरुप नेपाली जनताले पाएको एउटा मुख्य कुरा भनेको वाक् स्वतन्त्रता, यति चाँहि पाइयो।के यत्ति पाउनको लागि यति धेरै लड्नु र मर्नु परेको हो र?यसको जवाफ कस्ले दिन्छ ।बहुदलीय व्यवस्था आएको तिसौं वर्ष बित्दा पनि उही यथास्थिति छ-अन्याय, अत्याचार, बेरोजगारी, हिंसा र अस्थिरता ।

कुनै बाटो तय भइदिएको भए यहाँनिर आइपुगियो भन्ने  लेखाजोखा हुन्थ्यो अनि कति टाढा र कति नजिक छौं भन्ने मापन गर्न सकिन्थ्यो। राजनैतिक पार्टीले अन्योलको यात्रा तय गरेर भ्रमको खेती गरिरहेका छन् । संविधानमा  अबको यात्राको गन्तव्य समाजवाद भनिएको छ तर यात्रा अवसरवादमा घुमिरहेको छ। कुर्सी र पदका लागि नैतिकता बेचेर जनतालाई महाअपराध गरिदै छ।पार्टीमा कुनै किसिमको राजनैतिक संस्कार छैन,अघिल्लो दिन तथानाम गाली र बेइज्जत गर्ने अर्कोदिन चाटाचाट गर्ने ।

यसबाट जनताले के पाठ  सिक्ने ? राजनीति भनेको सबै नीतिलाई   मार्गनिर्देश गर्ने  हो। अनि राजनीति नै अन्योल र अस्तव्यस्त छ भने देशका जनताको सामाजिक ,आर्थिक ,शैक्षिक अवस्था राम्रो हुन सक्ला त । बालुवाटारमा  बसेर उखानटुक्का उद्घाटन गरेर देशको समृद्धि हुन सक्दैन अनि बार्दलीबाट सत्तो सरापेर पनि आफ्नो उचाई बढ्दैन् र माइती घरमा बसेर हामी यहाँ छौँ भनेर कसैले देख्दैन। देशको समृद्धिको लागि  पूर्वमेचीदेखि  पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण तराईसम्मका समस्यालाई नियाली जनताका संवेदना बुझ्न  सक्नुपर्छ । थोत्रा आश्वासनले जनताका गाँस,बास र कपास पूरा हुन सक्दैनन् । शिक्षा,स्वास्थ्य, रोजगार र विकासका पूर्वाधार पुरा  हुनुपर्छ , यसको लागि सपना मात्र देखाएर होइन योजना बनाएर कार्यान्वयनको लागि इमान्दारीता हुनुपर्छ ।

संविधानमै समाजवाद उन्मुख राज्य निर्माण गर्ने सपना लेखी जनतालाई वर्षौंसम्म भ्रमको खेती बाहेक केही गरेको पाइएको छैन् । चाहे बहुदलीय व्यवस्था होस्, चाहे लोकतान्त्रिक गणतन्त्र भनेर नाम दिइयास् । जसको सरकार आए पनि जनताका पिरमर्का बुझ्ने शासक आएनन् । व्यवस्था बद्लियो तर नागरिकको अवस्था सुधार भएन । जनताले केही पाउन सकेनन् । आशा र विश्वासमा पटकपटक तुषारापात भयो । बहुदलीय प्रजातन्त्रका नाममा जनताले देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, अन्याय अत्याचार, नातावाद, घुसखोरी, महिला हिंसा नै प्राप्त गरे । जनता र देश दुब्लाउने तर नेता मोटाउने प्रवृत्ति नेपालमा रह्यो र जनतामा राजनीतिप्रति चरम वितृष्णा देखा पर्दै गयो, फलत रानजीति लाजनीती बनेका छ।

आज संसारका अन्य देश विकासका होडबाजीमा एकअर्कोमा प्रतिस्पर्धा गरेका छन् ।संसारलाई कसरी जित्ने भनेर रातदिन अत्याधुनिक प्रविधि र चमत्कारको लागि अनुसन्धान गरिरहेका छन् तर हामी कसले देला र एकआपसमा लडेर खाउँला भनेर ढुकिरहेका छौं ।यो सबै दुर्भाग्य भनेको अस्थिर राजनीति र फोहोरी खेलको दुष्परिणाम हो।

सबै पार्टीका सबै नेतामा व्यक्तिवादी सोच नभएर वास्तवमै रास्ट्रवादी सोच हुने हो भने नेपाली जनताका सपना सजिलै पुरा हुनसक्छन् । नेपाललाई समृद्ध र नेपालीलाई  सुखी  बनाउने हो भने नेतृत्वले आफ्नो आचरण पुरै  परिवर्तन गरी निष्ठाको राजनीति गर्नुपर्छ । जनताको नाममा कसम खाई  लाखौं कार्यकर्ताको बलिदानीलाई स्मरण गरी पार्टीबाट माथि उठ्नु पर्छ र देश निर्माणको विशाल सपना बनाई लाग्नुपर्छ । पुस्तौं पुस्ता नेतृत्व गरेर कुर्सीमा किर्नो गडे झैं गडेका र  पिण्ड खान तम्सेका बुढाको हातबाट अर्को पुस्तामा हस्तान्तरण गरी झोले प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । विचार र सिद्धान्तको राजनीति गर्नुपर्छ ।

पार्टी आचरण र अनुशासनमा रहनुपर्छ अनि मात्र सच्चा राजनीति हुनसक्छ । चाहे काङ्ग्रेस होस् ,चाहे एमाले होस्, चाहे माओवादी वा अन्य साना कम्युनिष्ट घटक वा मधेसवादी दल सबैले मौका पाउँदा  बित्तिकै आफ्नो सम्पूर्ण अस्तित्व बिर्सेर पार्टीलाई मागी खाने भाँडाे बनाएर ब्रम्हलुट गरिएको बर्तमान घृणित राजनीतिको अन्त्य  नभएसम्म समुन्नत देश बन्न सक्दैन । राजनीति भनेको विशुद्ध समाज सेवा हो भन्ने भावना हुनुपर्छ ,अनि मात्र देश बन्छ ।जनताका नेता  भनिएका हराउँछन वा चोरिन्छ्न् कि भनेर चन्द्रागिरी वा लुम्बिनी रिसोर्टमा थुनेर कस्तो संस्कार संस्कृतिको सन्देश दिइएको छ। समाजवादको गन्तव्यको लागि समाजवादी यात्रा नै तय गर्नुपर्छ नकि अवसरवादी यात्राले समाजवादमा पुग्न सकिदैन ।

विश्व कोरोनाको महामारीले आक्रान्त छ। यसबाट हामी पनि अछुतो छैनौं । कोरोनाको तेस्रो भेरियन्ट देखा परिरहेको छ,जनतालाई कसरी खोप पुर्याउने भन्ने कुरामा कुनै पार्टीलाई चिन्ता छैन ।अस्थिर नेपाली राजनीतिले नेपाली जनताका आशा र सपनाहरू चकनाचुर भएका छन् । बर्षौसम्म पार्टीको अन्तर कलहमा रुमल्लिएर जनताप्रति कोही पनि उत्तरदायी देखिदैनन्। अबको भोट हाल्ने बेलामा नेपाली जनता धेरै चनाखो हुनुपर्ने देखिन्छ, हाम्रो होइन राम्रो जनप्रतिनिधि नचुनेसम्म नेपाली जनताको हविगत यस्तै नै हुने देखिन्छ। यस्ता फोहोरी नाटकको प्रहसनको पछि लाग्नु हुँदैन तर राजनैतिक विकृति र अस्थिरता  निम्त्याउने प्रहसनप्रति झटारो हान्नुपर्छ।

(बुटवल-१३ रुपन्देहीका स्थायी बासिन्दा राजेन्द्र पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्नुहुन्छ।) 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार