गृहपृष्ठ गणतान्त्रिक आन्दोलनको सपना र उपलब्धि भनेको झाँक्री मन्त्रीमात्र होइन प्रधानमन्त्री हुनुपर्छ
गणतान्त्रिक आन्दोलनको सपना र उपलब्धि भनेको झाँक्री मन्त्रीमात्र होइन प्रधानमन्त्री हुनुपर्छ
करिब तीन महिनापछि नेपाल सरकारले मन्त्री मण्डललको पूर्णता पायो । यस मन्त्री मण्डलमा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री शहरी विकास मन्त्री भएकी छन् । नेपालमा संघीय गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली काङ्ग्रेसका नेता गिरिजा प्रसाद कोइरालासित टाउको फुटाएर रगतको खोलो बगाएकी एक आशावादी नेतृ मन्त्री मात्र होइन,नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुपर्छ । तर गुट र उपगुटको राजनीतिले उनले जटिल बाटो अवलम्बन गरेकी छन् । १० जेठ २०३५ मा गुल्मीको साविक म्यालपोखरी र हालको मदाने गाउँपालिका जन्मेकी झाँक्रीको राजनैतिक इतिहास स्कुल शिक्षासंगै भएको देखिन्छ । गुल्मीको पुर्कोट दहमा रहेको पृथ्वी माविमा कक्षा सातमा पढ्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमा सहसचिव भएर राजनैतिक यात्रा शुरु गरेकी थिइन् । २०५० मा त्यसै विद्यालयबाट एसएलसी गरेकी झाँक्रीले नेपाली राजनैतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएकी छन् ।
मन्त्री बन्ने आंकाक्षाले पार्टी विभाजन गरिएको,अलि बढी महत्त्वाकांक्षी,दम्भी,बोल्ने शैली नभएकी,स्वार्थी भनेर उनीमाथि आरोप लगाइएको पाइन्छ । हाल मन्त्रीको पगरी गुथे पनि एमालेको आफ्नै करिब दुई तिहाइको सरकार ढालेर अहिले काङ्ग्रेस नेतृत्वको बर्तमान सरकारमा सहभागिता जनाउँदा कताकता उनको राजनैतिक यात्रा अब अन्यौल हुने संकेत पनि देखिन्छ । एमाले पार्टीमा ओलीको एकाधिकार र स्वेच्छाचारिताका विरुद्ध पार्टी भित्र नै लड्न सकेको भए रामकुमारीको राजनैतिक भविष्यको बाटो सरल हुन सक्थ्यो किनकि नीति र विचार बिना नयाँ पार्टी बनाएर टिक्दैन भन्ने कुरा उनी आफै भोगेकी छन् ।
नीति र विचार बिनाका पार्टीका पसल थापेर कुनै एक व्यक्तिलाई सत्तोसराप गाली गरेर पार्टीको स्थायित्व हुन सक्दैन । यसरी मन्त्री बन्न वा कुनै गुटको नेतृत्व गर्न ओलीको विरोध गरेको आभास र आरोप उनमा देखिन्छ । यसले गर्दा निष्ठा र विचारको राजनीति नेतामा देखिँदैन र रामकुमारीको अहिलेसम्मको योगदान कतै ओझेलमा पर्ने त होइन भन्ने शंका पनि पैदा भएको छ । यो आंशका मेटाउन यो कार्यकालमा चमत्कारिक काम गर्नुपर्ने देखिन्छ साथै आगामी निर्वाचनमा उनी विजय हुनुपर्छ । रामकुमारी शहरी विकास मन्त्रीमा मात्र सीमित नभएर देशको राजनैतिक इतिहास रच्ने पहिलो सम्भावित महिला प्रधानमन्त्री बन्ने सम्भावना बोकेकी नेतृ हुन् ,यसैले अहिलेको पार्टी फुटको असरले यो सम्भावनामा तुषारापात नहोस् । उनको अबको राजनैतिक उचाइ हासिल गर्न उनले धेरै मिहिनेत गर्नुपर्छ। निरन्तरताका लागि मात्र निरन्तरता नहोस्, जनताको सपनाहरु पुरा गरी मन जित्नुपर्छ । प्रधानमन्त्रीको सम्भावित नेतृ मरिच सरी खुम्चिएर एउटै मन्त्रीमा सिमित भएर राजनैतिक यात्रा न टुङ्गियाेस् । उनको यात्रामा कुनै ठेस नलागोस्,शुभकामना क. रामकुमारी झाँक्री ।
बर्तमान सरकारको मन्त्रीमण्डलको कुरा गर्दा आशालाग्दो अनुहार मध्ये रामकुमारी अग्रपङ्तिमा छन् ,उनको उनको कार्यकाल हेर्न बाँकी नै छ । यस्तो सरकारबाट उनले चामत्कारिक काम गर्लिन भन्ने खासै आशा वादी हुने ठाँउ देखिएको भने छैन । बिगत तिन महिनालाई हेर्दा आखिर सरकार नै चलाउने काम त रहेछ, पाँच जनाको मन्त्रीमण्डलले पनि काम चलाउन सक्ने रहेछ भन्ने पनि देखियो । स्थायी सरकार भनेको कर्मचारी छ्ँदै छ्न, कहिलेकाहीँ मन्त्री परिषदको निर्णय गर्न पच्चीस सदस्यीय नै चाहिँदो रहेछ भन्ने जरुर देखिएन । शेर बहादुर देउवाको नेतृत्वमा बनेको बर्तमान गठबन्धन सरकारले बनाएको मन्त्री मण्डलको गठन विवाद रहित बन्न सकेन । जनताले चुनेर पठाएका यति धेरै प्रतिनिधि हुँदा हुँदै हमालको कमाल भनेजस्तै जस्केलाबाट टिपेर कसैको आफन्त परेको भरमा मन्त्री नै बनाउनु जनताको अपमान र संसदीय प्रणालीप्रति खिल्ली उडाउनु हो । स्वयं नेपाली काङ्ग्रेसका कार्यकर्ता र संसदप्रतिको अपमान हो ।
यसरी कसैको खल्तीबाट झिकेर मन्त्री जस्तो एउटा जिम्मेवारी र गरिमामय पदमा नियुक्ति हुन्छ भने त्यसले कस्तो सन्देश दिन सक्ला । यो त संसदीय प्रणाली र ठाडै प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो । जनप्रतिनिधि हुँदाहुँदै आफ्नो मान्छे राज्यको महत्त्वपूर्ण निकाय कार्यपालिकामा नियुक्ति गरिनु जनताको अभिमतलाई अस्विकार गर्नु हो । संविधानमा व्यवस्था छ भन्दैमा जो पायो त्यसलाई नियुक्ति गरिनु संविधानको नै उल्लंघन गरिनु हो । तीन महिनासम्म गृहकार्य गर्दा पनि उपयुक्त र विवादरहित व्यक्ति रोज्न नसक्नु नेतृत्वको असक्षमता हो । यति मात्र होइन, यस मन्त्री परिषदमा केही विवादित अनुहार दोहोरिनुका साथै नयाँ नियुक्ति भएको देखिन्छ । केही अनुहार मन्त्री बन्नकै लागि पार्टी परिवर्तन गरिएको पनि देखियो भने केही मन्त्री हुनुपर्ने शक्ति,अर्थ,चाकरी नपुग्दा हुन नसकेको अवस्था देखियो ।
तर अहिलेको मन्त्री बनेकी नेकपा(एकीकृत समाजवादी) नेतृ तथा सचिव क.रामकुमारी हुनै पर्ने मध्येबाट भएको देखियो । नेपाल सरकारको मन्त्री बन्नका लागि चाहिने सबै गुण र क्षमता राम कुमारीमा पक्कै छ । बहुदलीय प्रजातन्त्रको स्थापनादेखि गणतन्त्रको आन्दोलनसम्म रामकुमारीको योगदान प्रशंसायोग्य छ । गुल्मीको दुर्गम गाउँ म्यालपोखरीमा जन्मेकी एउटी महिला विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अनेरास्ववियुको अध्यक्ष भएर गणतान्त्रिक आन्दोलनमा टाउको फुटाएर रगतको खोलो बगाएको इतिहास लेखिएको कसैले मेट्न सक्दैन । यति लामो सङ्घर्ष गरेर आएकी रामकुमारी झाँक्री मन्त्री हुँदा कुनै प्रश्न उठाउने ठाँउ चाहीँ छैन । अब उनको अग्निपरीक्षा भनेको कार्यकाल हेर्ने हो ।
रामकुमारी नेपाली कम्युनिष्ट आन्दोलनको अपरिचित नाम होइन । युवा पुस्ताको प्रतिनिधित्व गर्ने सशक्त र प्रष्ट वक्ता हुन् । आन्दोलन र विचारमा प्रष्ट हुँदाहुँदै पनि एमालेको गुट र उपगुटको राजनीतिबाट अलग रहन सकिनन् । राजनीतिको उचाइको यात्रामा २०५४ मा एक ठक्कर खाएकी झाँक्री फेरि अर्को राम्रो ठक्कर खान पुगेकी छ्न् । लामो सङ्घर्ष गरेर निर्माण र बलियो बनाएको पार्टी फुटालेर पुनः अर्को पार्टी निर्माणमा लाग्न पर्नु एउटा इतिहास नै बनाएकी राजनीति कर्मीको लागि दु:खद कुरा हो ।
रामकुमारी एमालेबाट विद्रोह गर्नु भनेको ओली गुटमा नलाग्नु नै देखिन्छ । जब सिद्धान्त र नीति बिना नै एमाले र माओवादी बिच एकता भयो त्यतिबेला देखि नै झाँक्रीलाई पार्टीमा काम गर्न नदिएका उनका थुप्रै आक्रोश सुनिएका थिए । राजनीति गर्ने मान्छेलाई निष्क्रिय बनाइएकोमा पार्टीभित्र विद्रोह गर्दागर्दै यति सम्म पुग्यो कि एक अर्कालाई निषेध गर्ने अवस्थामा पुग्यो र अन्तत पार्टी फुट्यो ।
रामकुमारीको राजनैतिक आन्दोलनप्रति प्रश्न उठाउने ठाँउ छैन तर आन्तरिक पार्टीको किचलोप्रति उनको विद्रोहको स्वरको शैलीमा कत्तिपनि राजनैतिक चेत र संस्कार पाइएन । आजीवन राजनीति गर्ने भनेर होमिएको नेतामा राजनैतिक चेत र संस्कार पनि अनिवार्य चाहिन्छ । केही टेलिभिजन कार्यक्रम र जनसभामा बोलिएका भाषणमा अति नै तुच्छता प्रकट गरेकी थिइन् । नेपाली राजनीतिमा तालीका लागि विपक्षीलाई जतिसक्दो गाली गर्नै पर्ने नेतामा नाम लेखाएकी छिन् । मूलत: झाँक्रीबाट एमाले अध्यक्ष ओली र रास्ट्रपति विद्या भण्डारीलाई सत्तोसराप हुने गरी गरिएका गालीको शब्दकोश नै निर्माण हुन्छ ।
अनेरास्ववियुको पूर्व अध्यक्ष,पार्टीको जिम्मेवार तहमा बसेको व्यक्तिले बोल्ने भाषा र शैली कस्तो हुनुपर्छ भन्ने कुराले धेरै महत्त्वपूर्ण प्रभाव पार्छ । नेता भनेको सार्वजनिक व्यक्ति हो । उसका धेरै कुराहरूले समाजलाई प्रभाव पारेको हुन्छ । सामाजिक भएको हुनाले समाजको चासो हुन्छ।अहिलेको परिस्थितिको आकलन गर्दा पार्टी फुट्नु, ओलीको विरोधको ज्वाराभाटाको ताण्डव प्रदर्शन गरिनु नै झाँक्रीको मन्त्रीमा प्रवेश हुनु हो । यहाँ झाँक्री मन्त्री हुने मान्छे होइन भन्न खोजेको पटक्कै होइन,सायद यो तरिका अपनाउनु गलत हो ।
आशय यो हो कि झाँक्री ठुलो पार्टीको ठुलो नेता हुनुपर्थ्यो । उनी मन्त्री बन्नका लागि पार्टी फुटाउनु पर्ने होइन । नेपाली जनतालाई रामकुमारीबाट ठुलो आशा थियोे तर यही मन्त्रीबाट राजनीति खुम्चने हो कि भन्ने शंका लागेको छ । अब रामकुमारी कुनै पार्टीको व्यक्तिमात्र नभएर सम्पूर्ण नेपालीको आशा र साझा व्यक्ति भएकी छन् । नेपाल सरकारले जोसिलो र बोलक्कड मन्त्री पाएको छ । उनको कार्यमा हौसला आओस्,थप प्रेरणा मिलोस् र आगामी निर्वाचनमा अत्यधिक मतले रामकुमारी विजय होऊन्, शुभकामना अनि पुन: शुभकामना ।।
बुटवल,१३ जितगढी





