गृहपृष्ठ महेशपुर सिमा नाका क्षेत्रको दशगजामा भारतले निर्माण गर्यो भौतिक संरचना
महेशपुर सिमा नाका क्षेत्रको दशगजामा भारतले निर्माण गर्यो भौतिक संरचना
पश्चिम नवलपरासीको भारतीय सीमावर्ती महेशपुर सिमा नाकामा भारतले दशगजामा भौतिक संरचना निर्माण गरेको छ । दशगजा क्षेत्रमा दुवै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएपनि भारतले रातारात पक्की संरचना निर्माण गरेको हो । पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुर- ठुटीबारी नाकामा चेकजाँच गर्ने स्थल निर्माण गरेको भन्दै मंगलबार राति भारतले संरचना निर्माण गरेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए । ‘भारतले एकाएक भौतिक संरचना निर्माण गरेको रहेछ ।

बिहानै स्थानीयले खबर गरेपछि स्थलगत अध्ययन गरेर भारतीय पक्षलाई संरचना भत्काउन आग्रह गरेका छौं,’ गाउँपालिका अध्यक्ष गुप्ताले भने,‘अब जिल्ला मार्फत केन्द्रिय सरकारले पहल लिनुपर्यो । ’ मंगलबार बिहान नभएको संरचना एकाएक बुधबार बिहान देखेपछि स्थानीय अचम्म परेका थिए । यसअघि पनि पटक पटक संरचना निर्माण गर्न खोज्दा नेपाली सुरक्षा निकायले रोकेपछि रातारात भारतीय एसएसबीले संरचना निर्माण गरेको हो । महेशपुर मूल भन्सार जिल्लाको सबै भन्दा बढी चहलपहल हुने क्षेत्र हो । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दशगजा क्षेत्रमा भारतले संरचना निर्माण गरेको सूचना आएकाले आफूले सीमावर्ती भारतीय जिल्लाको गृह प्रशासन र गृह मन्त्रालय मार्फत् कूटनीतिक पहल सुरु गरेको बताए ।





