गृहपृष्ठ कोपा अमेरिका: चिलीले बोलिभियालाई हरायो
कोपा अमेरिका: चिलीले बोलिभियालाई हरायो
एजेन्सी – कोपा अमेरिका कपमा चिलीले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० ले पराजित गरेको हो ।
चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो । बोलिभियाको यो लगातार दोस्रो हार हो । यसअघि बोलिभिया पाराग्वेसँग ३–१ ले पराजित भएको थियो । एरिना पान्टानल कुइवा, मान्टो ग्रासो ब्राजिलमा भएको खेलमा चिलीको जितमा पहिलो हाफमा बिन ब्रेरेटनले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए । उनले इडुआर्डाे भार्गासको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोलका केही सुवर्ण अवसरहरु सिर्जना भएपनि सदुपयोग हुन नसक्दा बिन ब्रेरेटनको पहिलो हाफको गोल नै चिलीको जितमा निर्णायक बन्यो ।
चिलीले बल पोसेसनमा पकड बनाएपनि थप गोल गर्न सकेन । बोलिभियाले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा प्रयास गरेपनि सफल हुन सकेन । चिलीले १६ पटकको गोलको लागि अवसर बनाउँदा बोलिभियाले ८ प्रयास गरेको थियो ।





