२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ शिखर धवनले बनाए आईपीएलमा पहिलो शतक

शिखर धवनले बनाए आईपीएलमा पहिलो शतक

 यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्सका ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक बनाएका छन् ।

उनले ५७ बलमा १४ चौका र १ छक्कासहित शतक बनाएका हुन् । आईपीएलमा शिखरको यो पहिलो शतक हो । यसअघि आईपीएलमा उनको उच्च स्कोर ९७ रन थियो । शिखरले आज तीन पटक जीवनदान पाउँदा शतक बनाउन सफल भए ।

शिखरले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पछिल्ला तीन खेलमा उनले लगातार ५० भन्दा बढी रन बनाएका छन् ।

रबाडाले रचे इतिहास

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका तीव्र गतिका बलर कागिसो रबाडाले नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले विदेशी खेलाडीको रूपमा दिल्लीका लागि ५० विकेट लिने खेलाडीको उपलब्धि हासिल गरेका हुन् ।

रबाडा अब विदेशी खेलाडीको रूपमा दिल्लीका लागि सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् । उनले हालसम्म दिल्लीका लागि ५० विकेट लिएका छन् । आज सीएसकेविरुद्ध एक विकेट लिएसँगै रबाडाले यो उपलब्धि हासिल गरे ।

साथै, उनले आईपीएलमा सर्वाधिक कम बल र कम म्याचमा ५० विकेट लिने खेलाडीकाे पनि कीर्तिमान बनाएका छन् ।

रबाडाले आईपीएलमा सर्वाधिक कम म्याचमा ५० विकेट लिने केकेआरका सुनील नारायणको कीर्तिमान भंग गरेका छन् । नारायणले ३२ म्याचमा  ५० विकेट लिएका थिए । अब रबाडाले उनलाई पछि पारेका छन् ।

रबाडाले २७ म्याचमै आईपीएलमा ५० विकेट लिन सफल भएका छन् । यो सूचीमा लसिथ मलिंगा तेस्रो स्थानमा छन् । उनले आईपीएलमा ३३ म्याचमा ५० विकेट लिएका थिए ।

त्यस्तै, रबाडाले सर्वाधिक कम बलमा ५० विकेट लिने मामलामा मलिंगाको कीर्तिमान तोडेका छन् ।

मलिंगाले ७ सय ४९ बलमा ५० विकेट लिएका थिए । रबाडाले भने ६ सय १६ बलमै ५० विकेट लिन सफल भए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार