२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोभिडको प्रभावका कारण स्पेनमा हुने तय भएको एकदिवसीय क्रिकेट स्थगित भएको जनाएका छन् ।

उनले सिरिज सन् २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएका छन् । सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।

मुख्य प्रशिक्षक डेभ वाटमोर समेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।

तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै सिरिज स्थगित भएको छ ।

लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार